गिरेको बङ्गारा जोडेर करियरको सही ‘डिस्लोकेसन’ सच्याएको क्षण, अनि तीन पुस्ताको चिकित्सकीय विरासत

ल्हासा । सिजाङ स्वशासित क्षेत्रको ल्हासास्थित जन अस्पतालको रेडियोलोजी विभागमा कार्यरत युवा चिकित्सक तेन्जिन छोइग्यालको जीवनको दिशा नै मोडिने काम एउटा सहपाठीको बङ्गारा जोडेर भएको थियो। माध्यमिक विद्यालयमा पढ्दा एक जना सहपाठी थकानका कारण बेहोस भएर लड्दा बङ्गाराको जोर्नी खुस्किएको थियो। सबै सहपाठी अन्योलमा परेको अवस्थामा तेन्जिन छोइग्यालले आफ्ना हजुरबुबाले अरूको बङ्गारा जोडेको देखेको स्मरण गर्दै ‘म प्रयास गर्न सक्छु’ भन्दै सहपाठीको बङ्गारा सफलतापूर्वक जोडिदिए। त्यही क्षणबाट उनको मनमा चिकित्सक बन्ने अठोट बलियो भएको थियो।
तेन्जिन छोइग्याल भन्छन्, ‘त्यस दिनदेखि नै मेरो मनमा भविष्यमा चिकित्सक बन्ने सपना दृढ भयो।’ आज उनी राष्ट्रिय पश्चिमाञ्चल विकास योजनाका एक स्वयंसेवकका रूपमा सिजाङ जन अस्पतालको रेडियोलोजी विभागमा कार्यरत छन्। यसरी उनले आफ्नो परिवारको तीन पुस्तादेखिको चिकित्सकीय परम्परालाई निरन्तरता दिने अवसर पाएका छन्।


तीन पुस्ताको चिकित्सा विरासत
तेन्जिन छोइग्यालको परिवारमा तीन पुस्तादेखि चिकित्सा पेसा चल्दै आएको छ। उनकी आमा पासाङ याङ्जोम (उनी पनि पूर्व चिकित्सक हुन्, हाल सेवानिवृत्त) का अनुसार उनको हजुरआमा (बज्यै) अत्यन्तै दयालु चिकित्सक हुनुहुन्थ्यो। उहाँले सधैं गरिब तथा असहाय बिरामीहरूलाई निःशुल्क उपचार र औषधि दिने गर्नुहुन्थ्यो। ‘बुबाको प्रभावले मेरो श्रीमान् पनि चिकित्सक बन्नुभयो र बिरामीलाई आफ्नै सन्तान सरह व्यवहार गर्नुहुन्थ्यो,’ उनले भनिन्।
उनले घरमा जतनसाथ राखिएका पुराना औषधि झोलाहरू देखाउँदै भनिन्, ‘यी मेरी हजुरआमाले सिलाउनुभएको हो।’ ती पुराना झोला तेन्जिन छोइग्यालकी बज्यैले चिकित्सा विज्ञानमार्फत समाज सेवा गरेको प्रमाण हुन् भने त्यो परिवारको उत्कृष्ट पारिवारिक परम्पराको प्रतीक पनि हुन्।
बाल्यकालदेखि नै देखिन्थ्यो सेवाभाव
आमा पासाङ याङ्जोमका अनुसार तेन्जिन छोइग्याल सानैदेखि दयालु स्वभावका थिए। ‘उनी सानो छँदा हाम्रो घरमा उपचारका लागि आउने बिरामी धेरै हुन्थे। हिँडडुल गर्न अप्ठ्यारो हुने वृद्धवृद्धा बिरामीहरूलाई उनी आफैं अगाडि बढेर सहयोग गथ्र्यो। आफूसँग उमेर मिल्ने बिरामी बालक भए आफ्नो खाजा बाँडेर दिन्थ्यो। लुगा फाटेको बालक देखे आफ्नो अतिरिक्त लुगा दिन्थ्यो,’ उनले सुनाइन्।
तेन्जिन छोइग्यालका सहकर्मी लोब्साङ फुन्छोक भन्छन्, ‘उनलाई सामान्य रूपमा हेर्दा अरूभन्दा खासै फरक देखिँदैन। तर, बिरामीको सामु पुग्दा उनी एकदमै फरक बन्छन्।’ उनी एक प्रसङ्ग सुनाउँछन्, ‘एक दिन एक हजुरबुबा एक बालक लिएर आउनुभयो। बालक लडेर चोट लागेको थियो र निरन्तर रोइरहेको थियो। तेन्जिन छोइग्यालले आफ्नो खल्तीबाट एउटा सानो खेलौना झिकेर बालकलाई दिए र भने, ‘मलाई तिम्रो पेट जाँच गर्न देऊ, सकियो भने अलिकति मात्र दुख्छ।’ उनको मीठो बोलीले बालक तुरुन्तै रुन बन्द भयो र जाँच पनि सहजै भयो। त्यसबेला मलाई लाग्यो, तेन्जिन छोइग्याल साँच्चै दयालु र सक्षम चिकित्सक हुन्।’


व्यावसायिक दक्षता र समर्पण
तेन्जिन छोइग्यालको व्यावसायिक दक्षताबारे सिजाङ जन अस्पतालको रेडियोलोजी विभागका निर्देशक ली यानमिङ भन्छन्, ‘उनी हाम्रो विभागमा आएको करिब तीन वर्ष भयो। उनको समग्र योग्यता निकै उच्च छ। चिकित्सकीय आचरणको कुरा गर्दा बिरामीसँगको संवादमा र विशेषगरी वृद्ध बिरामीहरूको सहायता गर्दा उनमा असाध्यै धैर्यता देखिन्छ। व्यावसायिक सीपका हिसाबले उनको क्षमता उच्च छ। विशेषगरी विशेष परीक्षण र गहन चिकित्सा परीक्षणका बेला उनको गम्भीरता र सावधानीको विशेषता प्रष्ट देखिन्छ। उनी काममा एकाग्र भएर अध्ययन गर्न सक्ने व्यक्ति हुन्।’
भूकम्पपछि देखिएको नेतृत्व क्षमता
सन् २०२५ मा दिङरी काउन्टीमा भूकम्प गएपछि तेन्जिन छोइग्यालले अस्पतालको कामको अतिरिक्त समयमा पश्चिमाञ्चल योजनाका स्वयंसेवकहरूको समूह सङ्गठित गरी राहत सामग्री ढुवानीमा सहयोग गरेका थिए। त्यसबेला उनले सङ्कटको घडीमा देखाएको क्षमताले सहकर्मीहरूको विश्वास जितेको थियो। पश्चिमाञ्चल योजनाका स्वयंसेवक लिन हाङ भन्छन्, ‘त्यतिबेला अस्पतालमा कर्मचारी अभावले कामको चाप निकै थियो। तैपनि हामीले युवा सङ्घको विभाजनअनुसार खाली समय निकालेर राहत सामग्री ढुवानीको जिम्मेवारी लियौं। तेन्जिन छोइग्यालले सम्पूर्ण प्रक्रियाको व्यवस्थापन र कार्य विभाजन राम्रोसँग गरेकाले ढुवानीको काम निकै व्यवस्थित र सहज भयो।’
एकपटक एक विदेशी पर्यटक अस्पतालमा आउँदा तेन्जिन छोइग्याल नेतृत्वको स्वयंसेवक टोलीले सावधानी र धैर्यतापूर्वक सेवा प्रदान गरेको थियो। ती पर्यटकले ‘तपाईंहरूको टोली त एउटै परिवारका दाजुभाइ दिदीबहिनी जस्तो छ’ भनी प्रशंसा गरेका थिए। त्यसले तेन्जिन छोइग्यालको मनमा झन् गहिरो प्रभाव पारेको थियो। ‘हाम्रो स्वयंसेवक टोलीले ठूलो काम गर्न नसके पनि विभिन्न जातजातिका मानिसहरूले हातमा हात मिलाएर एकताबद्ध भएर काम गर्दा अरूको मनमा राम्रो छाप छोड्न सकिन्छ। त्यो नै चिनियाँ राष्ट्रिय एकताको भावना बलियो बनाउने अभ्यास हो,’ उनले सोचे।
भविष्यको लक्ष्य
तेन्जिन छोइग्याल भन्छन्, ‘मलाई थाहा छ, काममा मेरा धेरै कमजोरी छन्। त्यसैले म निरन्तर व्यावसायिक ज्ञानको अध्ययन गरेर जनताको विश्वास जित्ने योग्य चिकित्सक बन्नेछु। साथै, आफ्नी आमा, बुबा र हजुरआमाको सेवाभावलाई निरन्तरता दिनेछु। दोस्रो, पश्चिमाञ्चल स्वयंसेवक टोलीको कामलाई अझ राम्रोसँग सम्पन्न गरेर धेरैभन्दा धेरै अप्ठ्यारोमा परेका बिरामीहरूको सेवा गर्नेछु।’
उनी अन्त्यमा भन्छन्, ‘मेरी बज्यैको औषधि झोला भनेको एक चिकित्सकको निस्वार्थ सेवाभाव हो। मेरो बुबाले जीवनभर बोकेको विरासत एक चिकित्सकको अतुलनीय सेवा हो। म पनि यो नयाँ युगमा सेतो कोट लगाएर, स्वयंसेवकको रातो टोपी लगाएर चिकित्सा विज्ञानबाट बिरामीको सेवा गर्नेछु र स्वयंसेवामार्फत जनताको सेवा गर्दै मेरो परिवारको तीन पुस्ताको उज्ज्वल सेवाको परम्परालाई निरन्तरता दिनेछु।’
तेन्जिन छोइग्यालको यो कथा चिकित्सा सेवाको पारिवारिक परम्परा, युवा स्वयंसेवकको जोस र चीनको पश्चिमाञ्चल विकास योजनाको सफल संयोगको जीवन्त उदाहरण हो।





