विश्वकप एक महिनाअघि नै कुराकाओका प्रशिक्षक रुटेनले छोडे पद

कुराकाओ । फिफा विश्वकप सुरु हुन एक महिना मात्र बाँकी रहँदा कुराकाओ राष्ट्रिय टोलीका प्रशिक्षक फ्रेड रुटेनले सोमबार राजीनामा दिएका छन्।
कुराकाओ फुटबल महासङ्घले ६३ वर्षीय रुटेनले ‘खुला र रचनात्मक वार्ता’ का क्रममा पद छोड्ने इच्छा व्यक्त गरेको जनाए पनि विस्तृत कारण भने खुलाएको छैन। स्थानीय सञ्चारमाध्यमले भने यो निर्णय आन्तरिक विवादसँग सम्बन्धित रहेको उल्लेख गरेका छन्।
डिक एड्भोकाटले छोरीको अस्वस्थताका कारण राजीनामा दिएपछि रुटेनले तीन महिनाअघि मात्रै उनको स्थान लिएका थिए। कुराकाओले आफ्नो विश्वकप अभियान जुन १४ मा ह्युस्टनमा जर्मनीविरुद्ध सुरु गर्नेछ भने समूह ‘ई’ मा इक्वेडर र आइभोरी कोस्टसँग पनि खेल्नेछ।





