२४ दिनका शिशुसहित पिताको माइतीघरमा अनशन : ‘आमाको काख त दिन सक्दिनँ, न्याय त पाउँछु ?’

काठमाडौं । न्याय माग्दै २४ दिनका नवजात शिशु माइतीघर मण्डलामा छन् भन्ने कुरा पत्याउन गाह्रो पर्छ। तर, उपचारका क्रममा आमाको मृत्यु भएपछि २४ दिने शिशुसहित उनका पिता सुजन विक माइतीघर मण्डलामा अनशन बसिरहेका छन्।
घटना चितवनको रत्ननगरस्थित बकुलहर हस्पिटलबाट सुरु भएको हो। गत वैशाख १० गते उक्त अस्पतालमा उपचारका क्रममा २७ वर्षीया सुत्केरी अस्मिता तामाङको मृत्यु भयो। अस्पतालको लापरवाहीका कारण श्रीमतीको मृत्यु भएको सुजनको भनाइ छ। गर्भ रहेदेखि नै अस्मितालाई सोही अस्पतालमा निरन्तर जाँच गराउँदै आएको परिवारले बताएको छ।
सुजन भन्छन्, “मेरो श्रीमतीलाई अरू कुनै रोग थिएन। अप्रेसन गरेर बच्चा जन्माएको २४ घण्टासम्म ठिकै थिइन्। पछि सास फेर्न गाह्रो भयो। हामीले नर्स र डाक्टर गुहार्यौं। तर, उनीहरूले सबै सामान्य हो भनेर बेवास्ता गरे। हेर्दाहेर्दै श्रीमतीले प्राण त्यागिन्।” सुत्केरी श्रीमती बचाउन आफ्नो कोसिस असफल भएकामा सुजनलाई निकै पछुतो छ। २०६९ सालमा अन्तरजातीय प्रेम विवाह गरेका उनलाई श्रीमतीबिनाको संसार शून्य लागेको छ। ११ वर्षको जेठो छोरो र दोस्रो नवजात शिशुले आमाको काख नपाएको सम्झिँदा उनको पीडा झनै गहिरो छ।
माइतीघरमा स्लाइनपानी चढाएर अनशन बसिरहेका सुजन भन्छन्, “सानो बच्चाले जन्मेर एक पटक पनि आमाको दूध चुस्न पाएन। अप्रेसन गरेर बच्चा निकालेर हामीलाई दिए। आमालाई आईसीयूभित्रै राखियो। भोलिपल्ट मात्र क्याबिनमा सारियो। दिनभर ठिकै थिइन्। तर, बेलुका ७ बजेपछि उनलाई गाह्रो हुँदै गयो। पहिले सास फेर्न गाह्रो भयो। पछि रगत नै वान्ता गरिन्। बिरामी मर्नेजस्तो भयो, आईसीयूमा लैजान भन्यौं। तर, डाक्टरले खाली छैन भने। रिफर गरिदिनु भन्दा पनि नआत्तिनू भने। नर्सहरूले झुलाएर राखिदिए।” सुत्केरीले रगत नै वान्ता गर्दा पनि नर्सहरूले सामान्य भनेर आलटाल गर्नु अपराध भएको सुजनको आरोप छ।
सुजनकी आमा पुनम विकले आईसीयूबाट बाहिर क्याबिनमा सरेपछि दिनभरि ठिकै भए पनि बेलुकातिर अप्रेसन गरेको घाउ समाउँदै गाह्रो भएको भन्दै अस्मिताले खोक्न थालेको सुनाइन्। “तुरुन्तै नर्स बोलाए। नर्सले प्रेसर नापिन्। त्यत्तिकैमा अस्मिताले रगतैरगत वान्ता गरिन्। तर, नर्सले केही हुँदैन, अप्रेसन गर्दा घाँटीबाट पाइप हालेको थियो भनिन्। सुई लगाएर स्लाइन पनि दिइन्। तर, समस्या रोकिएन,” उनले भनिन्। डाक्टर बोलाउन आफ्नै अगाडि नर्सले फोन गरेको स्मरण गर्दै पुनम भन्छिन्, “नर्सले हाम्रै अगाडि फोन गरिन्। डाक्टरले इमर्जेन्सी हो कि नर्मल हो भनेर सोधे। नर्सले इमर्जेन्सी भनिन्। इमर्जेन्सी भनिसकेपछि पनि डाक्टर ३५ मिनेटपछि आइपुगे। त्यो पनि हिरो बनेर। अस्पतालमा डाक्टर हिरो बनेर आउनुपर्छ? डाक्टरलाई सबैले भगवानको दर्जा दिएका छन्। त्यो डाक्टर पाँच मिनेटमा आउनुपर्दैन?”
आमा पुनमले मोटो मान्छेको अप्रेसन गर्दा फोक्सोमा रगत जाने र हृदयघात हुने सम्भावनाबारे डाक्टरले पछि मात्र जानकारी दिएको बताइन्। “अस्मिता गर्भवती हुँदा १०९ केजी थिइन्। त्यत्रो मोटो मान्छेको रिस्क लिएर अप्रेसन गरेपछि एउटा आईसीयू राख्दिनुपर्दैन? हामीले माग गर्दा समेत छैन भनियो,” उनले भनिन्।
अनशनको छैटौं दिन बित्दासमेत सरकारबाट कुनै पहल नभएकोमा सुजन चिन्तित छन्। परिवार वडादेखि नगरपालिका पुग्दा पनि कसैले उजुरी लिन नमानेको र रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले पनि सहयोग नगरेको उनको आरोप छ। इलाका प्रहरी कार्यालय भरतपुरबाट पनि सहयोग नपाएपछि शिशु बोकेर काठमाडौं आएको सुजन बताउँछन्। बोतलको दूध खाएर सडकबीच टेन्टमा सुतिरहेको शिशु देखाउँदै उनी भन्छन्, “भोलि ठूलो भएर आमाका बारेमा सोध्यो भने मैले यसलाई के जवाफ दिनु? हेलचेक्र्याइँका कारण आमा मरेको थाहा पायो भने मलाई माफ गर्ला? डरैडरले कमजोर भएको छु। लाख कोसिस गरे पनि मैले आमाको काख दिन सक्दिनँ।”
पुनमले रत्ननगर वकुलहर अस्पतालका डाक्टरले पढेर नभइ सर्टिफिकेट किनेर डाक्टर बनेको आरोप लगाइन्। “बकुलहर अस्पतालका मान्छेको छानबिन होस्। डाक्टर, नर्सको छानबिन होस्। उनीहरूले नक्कली सर्टिफिकेट लिएका छन्। लाइसेन्स किनेर काम गरिरहेका छन्,” उनले भनिन्। पुनमले भक्कानिँदै भनिन्, “लभ गरेर बिहे गरेको थियो। दुई बच्चा छोडेर गई। मेरो छोरो सम्हालिएला कि नसम्हालिएला भन्ने चिन्ताले निन्द्रा परेको छैन। नवजात शिशुले आमाको दूधसम्म खान पाएन। तर, सरकारले किन बेवास्ता गरिरहेको छ?”
सुजनको भाइले अनशनमै बसिरहेका बेला अपरिचित नम्बरबाट फोनमा धम्की आएको बताए। दुई बच्चा पढाउने, निःशुल्क उपचार र घरको एक सदस्यलाई २०/२५ हजारको जागिरको प्रलोभन देखाएर सहमतिमा ल्याएको उनीहरूको दाबी छ। पुनमका अनुसार जेठाजुले अस्पतालको फाइल मागेर लिएर गएको र आफूहरूसँग छलफल नगरी सहमति गरेका थिए। “कुरै नबुझी बुहारीको चितवनमा अन्त्येष्टि गरियो। गल्ती गरियो। गल्ती नभएको भए यो क्षतिपूर्ति भरणपोषण किन गर्थे?” विक परिवारको प्रश्न छ।
तस्बिर : सामाजिक सञ्जालबाट





