बेइजिङमा अरनिको सम्झँदै श्वेत चैत्य सांस्कृतिक सप्ताह

बेइजिङ । चीनको राजधानी बेइजिङमा श्वेत चैत्य सांस्कृतिक सप्ताह सुरू भएको छ। नेपाली राष्ट्रिय विभूति अरनिकोले निर्माण गरेको ऐतिहासिक श्वेत चैत्यको ७५०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सांस्कृतिक सप्ताह नेपाल–चीन सांस्कृतिक सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा अघि बढाइएको छ।


जुन १३ देखि सुरू भएको सांस्कृतिक सप्ताह जुन १९ सम्म सञ्चालन हुनेछ। बेइजिङको केन्द्र भागमा रहेको श्वेत चैत्य करिब ७५० वर्षअघि नेपाली वास्तुकार, मूर्तिकार तथा कलाकार अरनिकोले निर्माण गरेका थिए। यही कारण यो सम्पदा नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक आदानप्रदान र कलात्मक सहकार्यको जीवन्त प्रतीकका रूपमा मानिँदै आएको छ।
कार्यक्रम बेइजिङ नगरपालिकाको पुरातत्व ब्युरो, क्यापिटल म्युजियम र श्वेत चैत्य व्यवस्थापन समितिले संयुक्त रूपमा आयोजना गरेका हुन्। बेइजिङस्थित चीन–नेपाल सांस्कृतिक आदानप्रदान केन्द्रले कार्यक्रमको संयोजन गर्दै आएको छ। श्वेत चैत्य सांस्कृतिक सप्ताह पहिलोपटक सन् २०२२ मा आयोजना गरिएको थियो। यसपटकको कार्यक्रम पाँचौँ संस्करण हो।


यस वर्षको सांस्कृतिक सप्ताहको मुख्य उद्देश्य अरनिकोले निर्माण गरेको श्वेत चैत्यको ७५०औँ वार्षिकोत्सव मनाउनु रहेको आयोजकले जनाएको छ। प्रदर्शनीमा अरनिकोका केही नयाँ पहिचान भएका सिर्जनाका चित्र, करिब एक हजार वर्ष पुराना नेपाली शैलीका बौद्ध मूर्तिहरू, युआन राजवंशकालीन कला तथा तत्कालीन र त्यसभन्दा अघिका नेपाली शैलीका मूर्तिहरू राखिएका छन्।
सांस्कृतिक सप्ताहअन्तर्गत ‘युआन राजवंशको कला’, ‘युआन राजधानी र मिङ–छिङ राजवंशको बेइजिङ केन्द्रीय रेखा’, ‘अरनिको र पश्चिमी अर्थात् नेपाली बौद्ध मूर्तिहरू’ तथा ‘नेपाली दरबार स्क्वायर’ विषयमा विशेष चर्चा सत्र पनि आयोजना गरिँदैछ। साथै नेपाली खाना महोत्सव र मेहन्दी कला प्रदर्शनीलाई पनि यसपटकको विशेष आकर्षणका रूपमा समावेश गरिएको छ।
नेपाली कलाकार अरनिकोको सम्मानमा चीनका सरकारी निकायले आयोजना गर्दै आएको यो सांस्कृतिक सप्ताहले नेपालको पर्यटन प्रवर्द्धन र नेपाली कलाकौशलको अन्तर्राष्ट्रिय सम्मानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। श्वेत चैत्य विगत ७५० वर्षदेखि नेपाल र चीनबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई जीवन्त राख्दै आएको एक महत्वपूर्ण धरोहरका रूपमा उभिएको छ।
पाटन दरबार क्षेत्र र बेइजिङको श्वेत चैत्य समान ऐतिहासिक कालखण्डसँग सम्बन्धित सम्पदा मानिन्छन्। पाटन दरबार क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ भने बेइजिङको श्वेत चैत्य पनि विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रयासमा छ। पाटन अरनिकोको जन्मस्थान भएकाले यी दुई सम्पदा क्षेत्र सांस्कृतिक र ऐतिहासिक रूपमा आपसमा जोडिएका छन्।
श्वेत चैत्य व्यवस्थापन समितिका अनुसार अरनिकोको सम्झना, चीन–नेपाल मित्रता र सम्पदा संरक्षणलाई आधार बनाएर सांस्कृतिक सप्ताह आयोजना हुँदै आएको हो।
सन् १२४४ मा नेपालको पाटनमा जन्मिएका अरनिको सन् १२५९ मा तिब्बतको सिगाच्छे पुगेर सुवर्ण स्तुप निर्माणमा संलग्न भएका थिए। त्यसपछि उनी सन् १२६२ तिर कुब्लाई खाँको राजधानी शाङतू पुगेका थिए। कुब्लाई खाँले सन् १२७१ मा राजधानी तातू अर्थात् हालको बेइजिङमा सारेपछि शहरको प्रमुख डिजाइन र निर्माण कार्यमा अरनिकोको अग्रणी भूमिका रहेको मानिन्छ।
युआन राजवंशकालमा अरनिको राजदरबारको कला विभागका प्रमुख थिए। वास्तुकार, मूर्तिकार र कलाकारका रूपमा उनी त्यतिबेलाको दरबारमा अत्यन्त प्रभावशाली व्यक्तित्व मानिन्थे। उनले बेइजिङमा श्वेत चैत्यको डिजाइन र निर्माण गरेका थिए। सन् १२७१ मा निर्माण सुरू भई सन् १२७९ मा सम्पन्न भएको श्वेत चैत्य ५०.९ मिटर अग्लो छ। यसलाई नेपाल–चीनबीचको लामो सांस्कृतिक सम्बन्धको प्रमुख प्रतीक मानिन्छ।
चीनमा अरनिकोले विकास गरेको मूर्तिकला शैलीलाई ‘पश्चिमी बौद्ध मूर्ति’ अर्थात् चिनियाँ भाषामा ‘सी थिआन फान सियाङ’ भनिन्छ। नेपाल चीनबाट पश्चिमतर्फ पर्ने भएकाले नेपाली शैलीलाई त्यस नामले चिनिएको हो। यो शैलीमा नेपाली मूर्तिकलाको कोमलता, तिब्बती धार्मिक प्रतिमाको गाम्भीर्य र हान चिनियाँ रेखांकनको सन्तुलन देखिन्छ।
यसपटकको प्रदर्शनीमा अरनिकोले निर्माण गरेको एउटा कम चर्चित सम्पदाको चित्र पनि राखिएको छ। उक्त चित्र चीनको हपेई प्रान्तको पाओतिङ सहरअन्तर्गत लाइशुई जिल्लाको तोङकोङक्वान गाउँस्थित चिनशान मन्दिरसँग सम्बन्धित छ। गुफाभित्र बनाइएको उक्त मन्दिर युआन राजवंशकालीन एक तान्त्रिक गुरु क्वाङहुई नाइयी छानले स्थापना गरेका थिए। सोही मन्दिरमा अरनिकोले केही मूर्तिहरू निर्माण गरेको तथ्य फेला परेको जनाइएको छ।
चिनशान मन्दिरमा अरनिकोले बनाएको हजार बुद्ध धातु स्तुप र युआन तथा मिङ राजवंशका ढुंगे शिलालेखहरू रहेको बताइएको छ। स्तुपको कलशमा नेपाली र तिब्बती शैलीका बुद्ध मूर्तिहरू कुँदिएका छन्। शिलालेखमा अरनिकोलाई मन्दिरका मुख्य दाताका रूपमा उल्लेख गरिएको छ, जसले उनी केवल कलाकार वा वास्तुकार मात्र नभई निर्माण संयोजक र धार्मिक संरचनाका संरक्षकसमेत रहेको तथ्य उजागर गरेको छ।
यस खोजले अरनिकोको भूमिका र क्षमताबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ। यसअघि उनलाई मुख्यतः कलाकार र वास्तुकारका रूपमा मात्र चिनिँदै आएकोमा चिनशान मन्दिरसम्बन्धी प्रमाणहरूले उनी धार्मिक संरचनाको आर्थिक सहजीकरण र प्रशासनिक संयोजनमा समेत संलग्न थिए भन्ने संकेत गरेका छन्।
चिनशान मन्दिरको स्तुप सानो आकारको भए पनि श्वेत चैत्यकै शैलीसँग मिल्दोजुल्दो छ। दुवै सम्पदामा नेपाली तथा तिब्बती बौद्ध शैली स्पष्ट रूपमा देखिन्छ। शिलालेखका आधारमा यो मन्दिरको निर्माण श्वेत चैत्यभन्दा केही वर्षअघि सुरू भएको हुन सक्ने देखिएको छ। यसैले चिनशान मन्दिरलाई अरनिकोको चीन आगमनपछिको प्रारम्भिक परीक्षण कार्यका रूपमा पनि हेरिएको छ।
प्रदर्शनीमा चीनको चच्याङ प्रान्तको हाङचाउस्थित लिङयिन मन्दिर अगाडिको फइलाइफङ क्षेत्रका बौद्ध मूर्तिकलाका उदाहरण पनि जोडिएका छन्। त्यहाँका मूर्तिहरूमा नेपाली, तिब्बती र दक्षिणी चिनियाँ ढुंगा मूर्तिकला परम्पराको मिश्रित शैली देखिन्छ। युआन राजवंशकालमा निर्मित यी मूर्तिहरूलाई अरनिकोले चीनमा सुरु गरेको ‘पश्चिमी बौद्ध मूर्ति’ शैलीका उत्कृष्ट नमुनाका रूपमा लिइन्छ।
अरनिकोले चीनमा ४६ वर्षभन्दा बढी समय बिताएका थिए। सो अवधिमा उनले तीन वटा विशाल चैत्य, नौ वटा ठूला मन्दिर, दुई वटा पूजास्थल र एउटा ताओ मन्दिर निर्माण गरेको उल्लेख पाइन्छ। सन् १३०६ मा बेइजिङमै उनको निधन भएको थियो।
अरनिकोका सिर्जनाबारे चीनमा अझै अध्ययन, अनुसन्धान र खोजी जारी छ। पछिल्ला प्रमाण र प्रदर्शनीहरूले नेपाल–चीन सांस्कृतिक सम्बन्धमा अरनिकोको योगदान अझ गहिरो र विस्तृत रहेको देखाएका छन्। श्वेत चैत्य सांस्कृतिक सप्ताहले यही ऐतिहासिक योगदानलाई नयाँ पुस्तासमक्ष प्रस्तुत गर्दै दुई देशबीचको सांस्कृतिक मैत्रीलाई थप बलियो बनाउने उद्देश्य बोकेको छ।





