भारतले सीमा बाँध अग्ल्याउँदा गौर डुबानको जोखिम बढ्यो

रौतहट। रौतहटको गौर र भारतको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले बनाएको बाँध मर्मतका नाममा थप अग्लो र बलियो बनाइएपछि गौरसहित आसपासका नेपाली बस्तीमा डुबानको जोखिम बढेको छ।
सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने व्यवस्था भए पनि भारतीय पक्षले बैरगनिया क्षेत्रमा रहेको बाँधमा माटो थपेर उचाइ र चौडाइ बढाएको स्थानीयले बताएका छन्। वर्षायाम सुरु हुन लागेका बेला बाँध थप बलियो बनाइएपछि नेपालतर्फ बाढीको पानी थुनिने र बस्ती डुबानमा पर्ने आशंका बढेको हो।
स्थानीयका अनुसार भारतले आफ्नो बिहारतर्फका बैरगनियालगायत क्षेत्र डुबानबाट जोगाउन सीमा क्षेत्रमा करिब १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध निर्माण गरेको छ। तर उक्त बाँधका कारण नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले प्राकृतिक निकास नपाउँदा पानी फर्किएर गौर नगर क्षेत्र र आसपासका गाउँमा पस्ने गरेको छ।
स्थानीय अमित केशरीले बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बाढीको बहाव रोकिने र सदरमुकाम गौरसहित दर्जनौँ नेपाली गाउँ डुबानमा पर्दै आएको बताए। उनका अनुसार भारतीय पक्षले बाँधमा रहेका तीन वटा सुलीसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानको चपेटामा पर्ने गरेको छ।
गौर डुबानमा पर्दा नेपाली पक्षले बाँध भत्काउने वा सुलीसगेट खोल्ने प्रयास गर्न सक्ने आशंकामा भारतीय सीमा सुरक्षा बल एसएसबीको टोली हतियारसहित २४ सै घण्टा बाँध क्षेत्रमा तैनाथ हुने गरेको स्थानीयले बताएका छन्।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठका अनुसार बाँध अग्लो हुँदा लालबकैया र वाग्मती नदीको पानीले सहज निकास पाउँदैन। पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्दा गौर र आसपासका क्षेत्रमा हरेक वर्ष डुबान, धनजनको क्षति र बालीनाली नोक्सानी हुने गरेको उनले बताए।
श्रेष्ठले बैरगनियाको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव थप रोकिने र यसले सदरमुकाम गौर तथा आसपासका क्षेत्र पूर्ण रूपमा डुबानमा पर्ने जोखिम बढाउने बताए। गौरमा बाढीको पानी निकास नहुँदा स्थानीयले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उनको भनाइ छ।
केही वर्षअघि पनि भारतीय पक्षले सोही क्षेत्रमा माटो थप्ने प्रयास गर्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सशस्त्र प्रहरीले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो। तर अहिले पुनः भारतीय पक्षले बाँध मर्मतको नाममा संरचना थप बलियो बनाइरहेको स्थानीय जनप्रतिनिधि र सरोकारवालाले बताएका छन्।
गौर नगरपालिकाका पूर्वनगरप्रमुख अजयकुमार गुप्ताले नेपाल–भारतबीचको समझदारीअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध, सडक वा अन्य अग्ला संरचना बनाउन नपाइने बताए। उनका अनुसार भारतले आफ्नो भूभाग डुबानबाट जोगाउने उद्देश्यले निर्माण गरेको बाँध मर्मतको बहानामा माटो थप्दै चौडाइसमेत बढाइरहेको छ।
गुप्ताले भारतले पूर्वमा वाग्मती नदीदेखि पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्म करिब पाँच किलोमिटर क्षेत्रमा बाँध बनाएका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पर्दै आएको बताए। उनका अनुसार विसं २०७७ मा आफू नगरप्रमुख हुँदा गौर नगरपालिका–२ महादेवपट्टी गाउँस्थित बकैया नदीमा तटबन्ध निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको थियो। तर अहिले भारतले भने आफ्नै पक्षबाट सीमा क्षेत्रमा बाँध मर्मतका नाममा संरचना अग्लो र बलियो बनाइरहेको उनको भनाइ छ।
पूर्वनगरप्रमुख गुप्ताका अनुसार बाँधमुनि रहेका सुलीसगेट बन्द गरिँदा गौरवासी थप समस्यामा पर्दै आएका छन्। पानी निकास हुने ढोका नखोलिँदा वर्षायाममा गौर नगरपालिकाका सबै वडा तथा आसपासका गाउँमा डुबानको समस्या दोहोरिने गरेको उनले बताए।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय पक्षले बाँधमा माटो थपेको विषयमा भारतको सितामढी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुचि पाण्डेसँग ध्यानाकर्षण गराइएको जानकारी दिएका छन्। उनका अनुसार भारतीय पक्षले उक्त काम भारतको केन्द्रीय सरकारबाट बाँध मर्मतका रूपमा भइरहेको जानकारी दिएको छ।
सीमा र अन्तर्राष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले यसको स्थायी समाधानका लागि केन्द्र सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग स्थानीयस्तरबाट उठ्दै आएको छ। विगतमा मधेस प्रदेशका मुख्यमन्त्रीहरूले समेत यस विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए।
भारतले सीमा क्षेत्रमा एकतर्फी रूपमा बाँध बनाएका कारण रौतहटको राजदेवी नगरपालिकास्थित बेलबिछुवा, ब्रम्हपुरी, लक्ष्मीपुर, सदरमुकाम गौरका नौवटै वडा तथा इशनाथ नगरपालिकाका बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएका छन्। डुबानका कारण हरेक वर्ष करोडौँ रुपैयाँ बराबरको धनजन, घरधुरी, सडक, खेतबाली र अन्य भौतिक संरचनामा क्षति हुने गरेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले सीमा क्षेत्रमा भएका यस्ता संरचनाबारे नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा यदि समयमै बाँध, सुलीसगेट र पानी निकासको विषय समाधान नगरिए आगामी वर्षायाममा गौर र आसपासका बस्ती फेरि गम्भीर डुबानको जोखिममा पर्न सक्छन्।





