दालचिनीले बदल्दै पाल्पाका किसानको जीवन
विदेश फर्काउनेदेखि ऋण तिर्ने र छोराछोरीको सपना पूरा गर्ने भरपर्दो आम्दानी बन्यो दालचिनी र तेजपात

पाल्पा — तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरेर आठ वर्षअघि मलेसिया पुगेका थिए। वैदेशिक रोजगारीमा झण्डै छ वर्ष बिताए पनि सोचेजस्तो कमाइ हुन सकेन। अन्ततः उनी घर फर्किए। विदेश जानुअघि गाउँमा उनको परिवारले मकै र कोदो खेती गर्थ्यो। तर उनी फर्किँदा परिवारका सदस्यहरूले मकै–कोदो छाडेर दालचिनी खेती सुरु गरिसकेका थिए।
घर फर्किएपछि जीतबहादुर पनि दालचिनी खेतीमै लागे। अहिले उनी फेरि विदेश जाने सोचबाट टाढा भएका छन्। “अब विदेश जान्नँ, गाउँमै दालचिनी खेती गर्छु भनेर यसैमा लागेको छु,” घरआँगनमा दालचिनी स्याहार्दै उनले भने, “वार्षिक पाँचदेखि आठ लाख रुपैयाँ आफ्नै गाउँमा कमाइ हुँदोरहेछ। किन विदेश गइरहनु?”
उनका अनुसार खरबारी, भिर, कान्ला र प्रयोगविहीन जमिनमा लगाइएको दालचिनीबाट गत वर्ष मात्रै करिब सात लाख रुपैयाँको कारोबार भयो। विदेश जाँदा लागेको ऋण पनि त्यही आम्दानीबाट चुक्ता गरे। अहिले विदेशमै रहेका छोरालाई पनि घर फर्कन बोलाएको उनले बताए।
स्थानीय दमयन्ती दर्लामीको अनुभव पनि उस्तै छ। गत वर्ष छोराको विवाह गर्दा उनलाई करिब दुई लाख रुपैयाँ ऋण लाग्यो। ऋणको चिन्ताले उनलाई निन्द्रा र भोक दुवै हराएको थियो। करिब एक वर्षसम्म राति राम्रोसँग निदाउन नसकेको उनी सुनाउँछिन्। तर श्रीमानले चार वर्षअघि बारीका कान्लाभरि लगाएको दालचिनीको पात र बोक्रा बिक्रीबाट चार लाख रुपैयाँ हात परेपछि उनको ऋण मात्र चुक्ता भएन, केही रकम बचतसमेत भयो। “अब त आनन्दले निद्रा लाग्छ,” उनी भन्छिन्।
दर्लामीकै आफन्त टीकाराम ढाडाको कथा पनि फरक छैन। गत वर्ष बर्सातका कारण उनको बस्ने घर नै क्षतिग्रस्त भयो। नयाँ बास बनाउन उनले चार लाख रुपैयाँ ऋण लिनुपर्यो। त्यही ऋणले लामो समय उनलाई बेचैन बनायो। तर त्यही वर्ष दालचिनी बिक्रीबाट करिब तीन लाख र तेजपात बिक्रीबाट एक लाख ५० हजार रुपैयाँ प्राप्त भएपछि उनले ठूलो राहत महसुस गरे।
रैनादेवी छहरा गाउँपालिका–८ खुर्सानेकी देवीका सारुकी जेठी छोरी कमलाको नर्स बन्ने सपना थियो। तर परिवारको आर्थिक अवस्थाले त्यो सपना पूरा गर्न सहज थिएन। सारुले पाँच वर्षअघि बाँझो जमिनमा दालचिनी रोपेकी थिइन्। सुरुमा यसबाट राम्रो आम्दानी हुन्छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन्। तर बुटवलबाट व्यापारीहरू घरमै दालचिनीको बोक्रा लिन आएपछि उनले यसको बजार मूल्य बुझिन्। गत वर्ष पात र बोक्रा बिक्रीबाट उनले पाँच लाख रुपैयाँ आम्दानी गरिन्। त्यही आम्दानीले अहिले छोरीको नर्स बन्ने सपना पूरा गर्ने आधार बनेको छ।
निस्दी गाउँपालिका ज्यामिरेका खेमबहादुर सोतीको कथा पनि दालचिनी र तेजपातले ल्याएको आर्थिक राहतसँग जोडिएको छ। दूध र घ्यू बिक्रीबाट आम्दानी गर्ने सोचले उनले दुई लाख रुपैयाँमा भैँसी किनेका थिए। तर गत वर्ष गोठमा भएको आगलागीमा भैँसी मरेपछि उनी ऋण तिर्न भारत जाने तयारीमा थिए। साथीभाइले खेर गइरहेको तेजपात बिक्री गर्दा राम्रो आम्दानी हुने बताएपछि उनी रोकिए। नभन्दै दसैँताका तेजपात बिक्रीबाट तीन लाख रुपैयाँ हात पर्यो। त्यही पैसाले भैँसी किन्दा लागेको ऋण तिर्न सकेको उनले बताए।
यी केही प्रतिनिधि कथा मात्रै हुन्। पाल्पाका धेरै किसानले दालचिनीको पात र बोक्रा बिक्री गरेर राम्रो आम्दानी गर्न थालेका छन्। एक पटकको लगानी, कम मिहेनत र कम जोखिममा वार्षिक पाँचदेखि आठ लाख रुपैयाँसम्म कमाउन सकिने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका छन्।
कचलका व्यावसायिक कृषक थर्कबहादुर बगालेका अनुसार भिरालो, पाखो, खरबारी र खेती गर्न नसकिने जमिनमा पनि दालचिनीका बोट राम्रोसँग हुर्किन्छन्। अन्य बालीभन्दा बढी फाइदा देखिएपछि पछिल्लो समय खेतीयोग्य जमिनमै पनि दालचिनी रोप्ने चलन बढेको उनी बताउँछन्। उनका अनुसार दुई रोपनी क्षेत्रफलमा लगाइएको दालचिनीबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। दालचिनी रोपेको तीन वर्षपछि आम्दानी लिन सकिने भएकाले किसानका लागि यो दीर्घकालीन र भरपर्दो नगदे बाली बन्न थालेको छ।
दालचिनी मसला, सुगन्धित तेल र औषधिजन्य उत्पादनका लागिन्धित तेल र औषध प्रयोग हुने महत्वपूर्ण कच्चा पदार्थ हो। यसको बोक्रा र पात दुवै बिक्री हुन्छन्। स्थानीयस्तरमा तेजपात भनेर चिनिने पात पनि राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानको आकर्षण थप बढेको हो।
गाउँमा युवाको बसाइ घट्नु, बाँझो जमिन बढ्नु र बाँदरलगायत वन्यजन्तुले परम्परागत बाली नोक्सान गर्नु पनि किसानहरू दालचिनी खेतीतर्फ आकर्षित हुनुका कारण हुन्। गाउँ छाडेर सहरमा बसोबास गर्नेहरूले समेत अहिले खाली पाखोबारी र कान्लामा दालचिनीका बिरुवा रोप्न थालेका छन्।
पाल्पाको रैनादेवी छहरा क्षेत्रका खुर्सेनी, बल्ढेङ्गढी, सत्यवती, जुठापौवा, भुवनपोखरी, तिनाउ क्षेत्रका कचल, दोभान, कोलडाँडा, सत्यवती, ज्यामिरे, बेरुवा, जन्तिलुङ्ग, माथागढी क्षेत्रका झडेवा, जगाद, गोठादी, भुटुके, रम्भा, पूर्वखोला, निस्दीका अर्चले, ज्यामिरे, भिरपानी, धवला, अदममारा, धनुबाँसलगायतका ठाउँ दालचिनी र तेजपात उत्पादनका प्रमुख क्षेत्रका रूपमा विकसित हुँदै गएका छन्। यी क्षेत्रबाट वर्षेनी पाँच करोड रुपैयाँभन्दा बढीको बोक्रा र पात निकासी हुने गरेको स्थानीय सरोकारवालाहरू बताउँछन्।
भारत तथा अन्य मुलुकमा दालचिनी र तेजपात मसला, सुगन्धित तेल र औषधिजन्य उत्पादनका कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको छ। यातायातको पहुँच विस्तार, बजारसम्म पुग्ने सहजता, बिरुवा वितरण, खेती विस्तार, प्रवद्र्धन कार्यक्रम र क्षमता अभिवृद्धि तालिमका कारण पाल्पामा दालचिनी खेती व्यावसायिक रूपमा बढ्दै गएको हो।
डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार छ वर्षको अवधिमा पाल्पाबाट ६८ लाख नौ हजार ३७ किलोग्राम तेजपात र दालचिनीको बोक्रा निकासी भएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाख ८४ हजार ४८२ किलोग्राम तेजपात र तीन लाख ४७ हजार ९६९ किलोग्राम दालचिनीको बोक्रा भारत निकासी भएको छ। यस्तै आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ८१ हजार ७३१ किलोग्राम तेजपात र एक लाख २१ हजार १० किलोग्राम दालचिनीको बोक्रा निकासी भएको कार्यालयले जनाएको छ।
यहाँ उत्पादित तेजपात र दालचिनीको मुख्य बजार भारत हो। भारतमा यसलाई औद्योगिक कच्चा पदार्थ र मसलाजन्य वस्तुका रूपमा प्रयोग गरिन्छ। स्थानीय किसानले सामान्यतः तेजपात प्रतिकेजी ५० देखि ६० रुपैयाँ र दालचिनीको बोक्रा प्रतिकेजी करिब एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन्।
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बन्दै गएको छ। “विशेषगरी विपन्न वर्गका नागरिकका लागि यो सहारा बनेको छ,” उनले भने, “यसको प्रभाव सकारात्मक देखिएपछि प्रत्येक वर्ष बिरुवाको माग बढ्दो छ।”
श्रेष्ठका अनुसार डिभिजन वन कार्यालयले समुदायस्तरमा पुगेर दालचिनीको आर्थिक महत्व, नर्सरी स्थापना, खेती विस्तार, भण्डारण, बजारीकरण र कृषक तालिमसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। वैदेशिक रोजगारीमा जान चाहने युवाहरू पनि अहिले दालचिनीको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको उनको भनाइ छ।
स्थानीय व्यापारीहरू किसानको घरघरमै पुगेर दालचिनीको बोक्रा र तेजपात खरिद गर्ने गरेका छन्। पछिल्लो समय किसानहरूले गाउँमै तेजपात प्रतिकेजी ६० रुपैयाँसम्म र दालचिनीको बोक्रा प्रतिकेजी ११५ रुपैयाँसम्म पाउने गरेका छन्। गोदामसम्म पुर्याउन सकेमा १० देखि १५ रुपैयाँसम्म बढी मूल्य पाइने व्यापारीहरू बताउँछन्।
तेजपात तथा दालचिनी व्यापारी लेखनाथ घिमिरेका अनुसार अहिले किसानको घरमै पुगेर बोक्रा खरिद गर्ने चलन बढेको छ। यहाँका पाखोबारी, खरबारी, कान्ला र डिलहरूमा परम्परागत रूपमा उम्रिएका दालचिनीका बोट पनि प्रशस्त छन्। सुरुमा आफैँ उम्रिएका बिरुवा संरक्षण गर्दै आएका किसानहरूले पछि खाली जमिनमा थप बिरुवा रोप्न थालेका हुन्। दालचिनीका पात र बोक्रा सामान्यतः प्रत्येक वर्ष असोजदेखि फागुनसम्म आफू अनुकूल काट्ने गरिन्छ।
दालचिनी नेपाली भान्सामा पनि परिचित मसला हो। कतिपय ठाउँमा यसलाई सुनकाउली र तेजपातसँग जोडेर चिनिन्छ। मासु, तरकारी, चिया र विभिन्न परिकारको स्वाद तथा सुगन्ध बढाउन यसको प्रयोग हुन्छ। दालचिनीको बोक्रा र पात दुवै स्वादिलो र सुगन्धित मानिन्छन्। आयुर्वेद तथा वैकल्पिक उपचार पद्धतिमा पनि दालचिनी र तेजपात विभिन्न रूपमा प्रयोग हुँदै आएको छ। तर यसको औषधीय प्रयोग भने विज्ञको सल्लाहअनुसार मात्र गर्नु उपयुक्त हुन्छ।
दालचिनी खेतीको सम्भावना अझै ठूलो देखिएको छ। एक हेक्टर जमिनमा करिब एक हजार ६ सय बिरुवा लगाउन सकिने भएकाले बाँझो र भिरालो जमिनलाई उत्पादनशील बनाउन यो खेती उपयोगी हुन सक्छ। यदि प्रदेश र संघीय सरकारले स्थानीय तहमा प्रशोधन केन्द्र स्थापना, गुणस्तर परीक्षण, प्याकेजिङ, ब्रान्डिङ र निर्यात सहजीकरणमा पहल गरेमा पाल्पाको दालचिनीले वैदेशिक मुद्रा आर्जन गर्ने बलियो आधार बन्न सक्छ।
किसानहरूका अनुसार अहिले मुख्य कमजोरी स्थानीय प्रशोधन र मूल्य अभिवृद्धिको अभाव हो। कच्चा पात र बोक्रा भारत निकासी हुँदै आए पनि स्थानीयस्तरमै तेल, मसला, औषधिजन्य सामग्री वा प्याकेजिङ उत्पादन गर्न सकिए आम्दानी अझ धेरै बढ्न सक्छ। यसले रोजगारी सिर्जना गर्ने, स्वदेशी कच्चा पदार्थको उपयोग बढाउने र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने सम्भावना छ।
पाल्पाका पहाडी गाउँमा दालचिनी अब सामान्य वनस्पति मात्र रहेन। यो विदेश जाने युवालाई गाउँमै रोक्ने, ऋणमा डुबेका परिवारलाई उठाउने, छोराछोरीको शिक्षा पूरा गर्ने र बाँझो जमिनलाई नगद आम्दानीमा बदल्ने भरपर्दो आधार बन्न थालेको छ। उचित नीति, प्रशोधन पूर्वाधार र बजार विस्तारको साथ पाए दालचिनी पाल्पाको मात्र होइन, नेपालको ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण नगदे बाली बन्न सक्ने सम्भावना स्पष्ट देखिएको छ।





