हल्लाको बजारमा स्वतन्त्र पत्रकारिताको परीक्षा
सम्पादकीय

नेपाली पत्रकारिता आज केवल प्रविधिगत परिवर्तन वा घट्दो विज्ञापन बजारको चुनौतीबाट मात्र गुज्रिरहेको छैन। यसको मूल संकट आर्थिक परनिर्भरता, सम्पादकीय स्वायत्तताको क्षयीकरण, शक्ति केन्द्रसँगको अस्वाभाविक निकटता र पाठकीय विश्वासमा आएको गिरावटसँग सम्बन्धित छ। सञ्चारमाध्यम समाजको ऐना, राज्यको निगरानीकर्ता र नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने संस्था हुनुपर्नेमा कतिपय अवस्थामा यो राजनीतिक, व्यापारिक तथा बाह्य स्वार्थ कार्यान्वयन गर्ने साधनका रूपमा प्रयोग भएको देखिन्छ।
नेपालमा व्यावसायिक पत्रकारिता सञ्चालन गर्न आवश्यक आर्थिक श्रोत सीमित छन्। विज्ञापन बजार सानो छ, पाठकबाट प्रत्यक्ष आर्थिक सहयोग प्राप्त गर्ने संस्कृति विकसित भइसकेको छैन र अनुसन्धानमूलक पत्रकारिताका लागि आवश्यक जनशक्ति तथा साधन जुटाउन कठिन छ। यही कमजोरीलाई राजनीतिक दल, व्यापारिक समूह, स्वार्थ समूह र विभिन्न बाह्य शक्ति केन्द्रले आफ्नो प्रभाव विस्तार गर्ने अवसरका रूपमा प्रयोग गरेका छन्।
सञ्चारमाध्यममा गरिएको सबै लगानीलाई गलत दृष्टिले हेर्न मिल्दैन। स्वतन्त्र पत्रकारिता, योग्य जनशक्ति, प्रविधि, अनुसन्धान र संस्थागत विकासका लागि लगानी अनिवार्य हुन्छ। तर लगानीको उद्देश्य सञ्चार संस्थालाई आत्मनिर्भर र उत्तरदायी बनाउनुको सट्टा तत्काल कुनै राजनीतिक वातावरण निर्माण गर्नु, निश्चित व्यक्तिको छवि बनाउनु वा बिगार्नु, भ्रम उत्पन्न गर्नु र योजनाबद्ध कथावस्तु स्थापित गर्नु भयो भने त्यस्तो लगानीले पत्रकारिता होइन, प्रचार संयन्त्र निर्माण गर्छ।
नेपालका कतिपय ठूला भनिएका सञ्चारमाध्यमले विगतमा यस्तै शक्तिशाली समूहको संरक्षणमा विस्तारको अवसर पाए। ठूलो कार्यालय, धेरै कर्मचारी, आकर्षक प्रस्तुति र व्यापक पहुँचले केही समय उनीहरूलाई प्रभावशाली बनाए पनि त्यो प्रभाव स्वतन्त्र सम्पादकीय आधारभन्दा संरक्षकको आर्थिक तथा राजनीतिक आवश्यकतामा टिकेको थियो। संरक्षकको प्राथमिकता परिवर्तन हुँदा वा तत्कालीन स्वार्थ पूरा भएपछि त्यस्ता सञ्चारमाध्यम आफ्नै लगानीकर्ताका लागि बोझ बन्न थालेका उदाहरण देखिन्छन्।
यदि मिडियामा गरिएको लगानीलाई तत्कालीन राजनीतिक फाइदा, व्यापारिक सौदाबाजी वा विदेशी रणनीतिक प्राथमिकताभन्दा माथि राखेर संस्थागत विकासमा प्रयोग गरिएको भए नेपाली पत्रकारिताको अवस्था फरक हुन सक्थ्यो। अनुसन्धान डेस्कहरू स्थापना हुन सक्थे। विषयगत पत्रकार उत्पादन हुन सक्थे। अन्तर्राष्ट्रिय मामिला, अर्थतन्त्र, विज्ञान, प्रविधि र कूटनीतिमा विशिष्ट ज्ञान भएका पत्रकारको पुस्ता तयार हुन सक्थ्यो। सञ्चारमाध्यम आर्थिक तथा सम्पादकीय रूपमा दिगो बन्न सक्थे।
तर अल्पकालीन स्वार्थले दीर्घकालीन संस्थागत विकासलाई विस्थापित गर्दा आज पत्रकारिता स्वयं विश्वासको संकटमा परेको छ। समाचार, विज्ञापन, प्रचार, विचार र प्रायोजित सामग्रीबीचको सीमा धमिलो बन्दै गएको छ। कतिपय शीर्षक समाचारको तथ्यभन्दा बढी उत्तेजक बनाइन्छन्। अपुष्ट सूचना तत्काल प्रकाशन गरिन्छ। सामाजिक सञ्जालमा फैलिएको हल्लालाई पुष्टि नगरी समाचारको रूप दिइन्छ। तथ्यभन्दा भावनालाई, अध्ययनभन्दा प्रतिक्रियालाई र सत्यभन्दा गति तथा भाइरल पहुँचलाई प्राथमिकता दिने प्रवृत्ति बढेको छ।
यसको असर पाठकमा पनि परेको छ। गम्भीर सामग्री पढ्ने बानी घटिरहेको छ। पाठक समाचारको पूर्ण विवरणभन्दा शीर्षकका आधारमा धारणा बनाउन थालेका छन्। सञ्चारमाध्यमले पाठकको स्तर घटेको गुनासो गर्छन्, तर पाठकलाई सतही र उत्तेजक सामग्रीमा अभ्यस्त बनाउने काममा मिडियाकै ठूलो भूमिका छ। कमजोर सामग्रीले गम्भीर पाठकलाई टाढा बनाउँछ। पाठक घटेको भन्दै मिडियाले झन छोटो, सनसनीपूर्ण र भ्रमपूर्ण सामग्री उत्पादन गर्छ। यसरी मिडिया र पाठक दुवैको स्तर घटाउने दुष्चक्र निर्माण भएको छ।
आज समाज तथ्यले भन्दा हल्लाले छिटो तरङ्गित हुन्छ। कुनै अपुष्ट दाबी केही मिनेटमै हजारौँ मानिससम्म पुग्छ। सत्य त्यसको पछाडि ढिलो गरी आइपुग्छ। झुटो वा भ्रामक सामग्रीले मानिसको धारणा निर्माण गरिसकेपछि पछि गरिएको सच्याइ प्रभावहीन बन्न सक्छ। यस्तो अवस्थामा पत्रकारिताको जिम्मेवारी हल्लाको पछि दौडनु होइन, हल्ला रोक्नु र प्रमाणसहित वास्तविकता सार्वजनिक गर्नु हो।
स्वतन्त्र पत्रकारिता भनेको कुनै देश, विचार वा शक्तिको आलोचना मात्र होइन। कुनै पक्षप्रति पूर्वाग्रह नराखी तथ्यलाई तथ्यका रूपमा प्रस्तुत गर्नु हो। सरकारको सही कामलाई सही भन्नु र गलत कामलाई प्रश्न गर्नु हो। पश्चिमी श्रोतलाई स्वतः सत्य र पूर्वी श्रोतलाई स्वतः प्रचार मान्नु पनि निष्पक्षता होइन। त्यसैगरी कुनै मित्रराष्ट्रको आधिकारिक धारणा प्रस्तुत गर्नुको अर्थ त्यसका सबै दाबीलाई परीक्षणबिना स्वीकार गर्नु पनि होइन। पत्रकारिताको मापदण्ड श्रोतको भौगोलिक उत्पत्ति होइन, तथ्य, प्रमाण, सन्दर्भ र सार्वजनिक हित हुनुपर्छ।
ड्रागन मिडिया यही चुनौतीपूर्ण अवस्थामा वैकल्पिक पत्रकारिताको अभ्यासप्रति प्रतिबद्ध छ। हामी पत्रकारितालाई क्षणिक आर्थिक लाभ, राजनीतिक प्रचार, व्यापारिक दबाब वा कुनै विदेशी एजेन्सीको स्वार्थ पूरा गर्ने साधनका रूपमा स्वीकार गर्दैनौँ। हाम्रो उद्देश्य कसैको मुखपत्र बन्नु होइन। तथ्यको परीक्षण गर्नु, घटनालाई ऐतिहासिक तथा भू–राजनीतिक सन्दर्भमा बुझ्नु, विभिन्न पक्षका आधिकारिक धारणा जिम्मेवार रूपमा प्रस्तुत गर्नु र स्वतन्त्र सम्पादकीय विवेकका आधारमा निष्कर्षमा पुग्नु हाम्रो मूल प्रतिबद्धता हो।
स्वतन्त्र पत्रकारिता घोषणा गरेर मात्र स्थापित हुँदैन। त्यसलाई प्रत्येक दिनको कामबाट प्रमाणित गर्नुपर्छ। नाम, मिति, तथ्याङ्क र उद्धरण जाँच गर्नुपर्छ। गल्ती भए सार्वजनिक रूपमा सच्याउनुपर्छ। समाचार र विचार छुट्याउनुपर्छ। आर्थिक तथा संस्थागत सम्बन्धले सामग्रीलाई प्रभाव पारेको अवस्थामा पाठकलाई जानकारी दिनुपर्छ। कुनै पनि शक्ति केन्द्रको दबाबमा समाचार प्रकाशित गर्ने वा रोक्ने अभ्यास अस्वीकार गर्नुपर्छ।
नेपाली पत्रकारिताको पुनर्निर्माण केवल मिडिया सञ्चालकको जिम्मेवारी होइन। पाठकले पनि विश्वसनीय सामग्रीलाई सहयोग गर्नुपर्छ। निःशुल्क सामग्रीको अपेक्षा गर्दै गुणस्तरीय पत्रकारिताको माग मात्र गर्नु दीर्घकालीन समाधान होइन। राज्यले प्रेसलाई नियन्त्रण गर्ने होइन, पारदर्शी विज्ञापन नीति, सूचनामा समान पहुँच र पत्रकारको व्यावसायिक सुरक्षाका लागि उचित वातावरण तयार गर्नुपर्छ। मिडिया संस्थाले स्वामित्व, लगानी र सम्पादकीय नीतिबारे पाठकसँग पारदर्शिता कायम गर्नुपर्छ।
पत्रकारिता समाजलाई उत्तेजित गर्ने उद्योग होइन। यो समाजलाई सत्यसँग परिचित गराउने सार्वजनिक जिम्मेवारी हो। यसको शक्ति पहुँच, भवन, कर्मचारी संख्या वा सामाजिक सञ्जालको प्रतिक्रियाबाट मात्र निर्धारण हुँदैन। यसको वास्तविक शक्ति पाठकले गरेको विश्वासमा हुन्छ।
आज नेपाली पत्रकारिताको प्रमुख प्रश्न कुन मिडिया सबैभन्दा ठूलो छ भन्ने होइन। प्रश्न कुन मिडिया स्वतन्त्र छ, कुन मिडियाले तथ्यको सम्मान गर्छ र कुन मिडिया सबै प्रकारका स्वार्थभन्दा माथि उठेर नागरिकको सूचनाको अधिकारप्रति उत्तरदायी छ भन्ने हो। यही प्रश्नको इमानदार उत्तरले नेपाली पत्रकारिताको भविष्य निर्धारण गर्नेछ।





