१७ भाद्र २०८३, बुधबार

नेपाल–रुस सम्बन्धलाई नयाँ गति दिन राजदूत सुरोभ्त्सेभको आग्रह

ड्रागन मिडिया समाचार कक्ष

नेपालका लागि रुसी महासंघका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले नेपाल र रुसबीचको सात दशक पुरानो मित्रतालाई आधुनिक आर्थिक, प्राविधिक र व्यावसायिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।

नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा प्रकाशित लेखमा राजदूत सुरोभ्त्सेभले जलविद्युत्, कृषि, रासायनिक मल, सूचना तथा सञ्चार प्रविधि, कृत्रिम बौद्धिकता, पर्यटन र जनस्तरको सम्बन्धमा सहकार्य विस्तार गर्न विशाल सम्भावना रहेको उल्लेख गरेका छन्।

नेपाल र तत्कालीन सोभियत संघबीच २० जुलाई १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। राजदूत सुरोभ्त्सेभले सात दशक लामो सम्बन्ध राजनीतिक मतभेद र गम्भीर विरोधाभाषबाट मुक्त रहँदै मैत्रीपूर्ण, पारस्परिक सम्मानमा आधारित तथा आर्थिक, सांस्कृतिक र मानवीय सम्पर्कबाट समृद्ध बनेको बताएका छन्।

उनले अन्तर्राष्ट्रिय कार्यसूचीका प्रमुख विषयमा नेपाल र रुसका धेरै दृष्टिकोण मिल्ने गरेको उल्लेख गर्दै सन् २०२५ सेप्टेम्बरमा चीनको थ्येनचिनमा आयोजित शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनका क्रममा दुई देशका नेताबीच भएको भेटले सहकार्य विस्तार गर्ने दुवै पक्षको तत्परता देखाएको बताएका छन्।

७०औँ वर्षगाँठका अवसरमा नेपाल र रुसका परराष्ट्रमन्त्रीले बधाई सन्देश आदानप्रदान गरेका छन्। राजदूत सुरोभ्त्सेभले नेपाली कूटनीतिज्ञहरूको व्यावसायिकता, सहकार्यप्रतिको खुलापन र सहयोगी भूमिकाको प्रशंसा गर्दै नेपालको परराष्ट्र मन्त्रालयसँगको निकट सम्बन्धलाई रुसले उच्च महत्त्व दिएको उल्लेख गरेका छन्।

उनका अनुसार नेपाल–रुस अन्तरक्रिया अब द्विपक्षीय कार्यसूचीमा मात्र सीमित छैन। अन्तर्राष्ट्रिय मञ्चमा विश्वका बहुसंख्यक देशले आफ्ना वैध अधिकार, समान प्रतिनिधित्व र न्यायपूर्ण विश्व व्यवस्थाका पक्षमा आवाज उठाइरहेका बेला नेपाल र रुसबीचको समन्वय थप महत्त्वपूर्ण बनेको उनको भनाइ छ।

राजदूत सुरोभ्त्सेभले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सरकारी तहसँगै सार्वजनिक तथा सामाजिक संस्थाहरूले निर्वाह गरेको भूमिकाको पनि प्रशंसा गरेका छन्।

उनले नेपालसँग मित्रता तथा सहयोग समाज, सोभियत तथा रुसी विश्वविद्यालयका नेपाली पूर्वविद्यार्थीको संस्था मित्रकुञ्ज, नेपाल–रुस मैत्री तथा सांस्कृतिक संघ, फ्रेन्ड्स अफ रुडन युनिभर्सिटी, नेपाल–रुस साहित्य समाज, नेपाल–रुस सूचना तथा सञ्चार प्रविधि समाज र नेपालस्थित रुसी समुदायको संस्थालगायतलाई द्विपक्षीय सम्बन्धका प्रमुख आधारका रूपमा उल्लेख गरेका छन्।

नेपाल–रुस सम्बन्धका विषयलाई निरन्तर स्थान दिएको भन्दै उनले नेपाली सञ्चारमाध्यमप्रति पनि आभार व्यक्त गरेका छन्।

राजदूत सुरोभ्त्सेभका अनुसार सात दशकको सम्बन्ध निर्माणमा कूटनीतिज्ञ, इन्जिनियर, चिकित्सक, कृषिविज्ञ, निर्माणकर्मी, लेखक तथा विभिन्न क्षेत्रका धेरै पुस्ताको योगदान रहेको छ। सन् १९५६ का घटनालाई सम्झने र दुई देशको मित्रता निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने व्यक्तिहरू अझै जीवित रहेको उल्लेख गर्दै उनले ती सबैको योगदानप्रति सम्मान व्यक्त गरेका छन्।

उनले सात दशकमा द्विपक्षीय सम्बन्धको सक्रियता सधैँ समान नरहेको स्वीकार गरेका छन्। नेपाल–रुस सम्बन्धको सबैभन्दा जीवन्त र उपलब्धिमूलक कालखण्ड सोभियत संघको समयमा रहेको उनको मूल्याङ्कन छ।

सोभियत संघले नेपालको औद्योगिक, ऊर्जा, स्वास्थ्य, सडक, कृषि र प्राविधिक जनशक्ति विकासमा गरेको सहयोगका कारण नेपाली समाजमा रुसप्रति अझै न्यानो भावना रहेको उनले बताएका छन्। रुसी दूतावासमा आउने कतिपय पत्रमा अहिले पनि सोभियतकालीन सम्बोधन प्रयोग हुने गरेको उल्लेख गर्दै उनले नेपालको स्मृति र कृतज्ञताप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार दशकौँदेखि परीक्षित यही मित्रता भविष्यमा आधुनिक र व्यावहारिक सहकार्यको नयाँ संरचना निर्माण गर्ने बलियो आधार हो।

राजदूत सुरोभ्त्सेभले असंलग्नतामा आधारित नेपालको निरन्तर परराष्ट्र नीतिप्रति रुसले सम्मान गर्ने बताएका छन्। उनले वर्तमान सरकारले व्यावहारिक आर्थिक कूटनीतिमा दिएको प्राथमिकतालाई पनि रुसले ध्यानपूर्वक हेरिरहेको उल्लेख गरेका छन्।

असंलग्नता र आर्थिक कूटनीतिलाई नेपाल–रुस सम्बन्धको आगामी विकासका दुई प्रमुख आधारका रूपमा उल्लेख गर्दै उनले पारस्परिक लाभमा आधारित व्यापार तथा आर्थिक साझेदारीलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका छन्।

रुसले नेपालसँगको द्विपक्षीय सहकार्य संयन्त्रलाई सक्रिय र विस्तारित बनाउने प्रस्ताव राखेको पनि उनले जानकारी दिएका छन्। यसअन्तर्गत दुई देशका सरकारी निकायबीच नियमित संवाद तथा व्यापारिक समुदायबीच संस्थागत सम्पर्क विस्तार गर्नुपर्ने रुसी प्रस्ताव छ।

राजदूत सुरोभ्त्सेभले नेपाल–रुस सहकार्यको सम्भावना अत्यन्त ठूलो रहेको उल्लेख गर्दै नेपालका प्राथमिक आर्थिक क्षेत्रमा रुससँग उपयोगी अनुभव, प्रविधि र क्षमता रहेको बताएका छन्।

रुससँग जलविद्युत् विकासमा विस्तृत अनुभव रहेको, कृषि क्षेत्रमा सहकार्य गर्न सकिने तथा नेपाललाई आवश्यक रासायनिक मल आपूर्ति गर्ने सम्भावना रहेको उनको भनाइ छ।

यी क्षेत्रसँग सम्बन्धित धेरै नेपाली प्राविधिक तथा विज्ञले सोभियत र रुसी विश्वविद्यालयमा अध्ययन गरेको उल्लेख गर्दै उनले उनीहरूलाई दुई देशबीचको सहकार्य विस्तार गर्न सक्ने विशिष्ट मानव श्रोतका रूपमा प्रस्तुत गरेका छन्।

सूचना तथा सञ्चार प्रविधि र कृत्रिम बौद्धिकतामा पनि रुसले विश्वस्तरीय क्षमता विकास गरेको उनको दाबी छ। रुसको गणितीय शिक्षाको बलियो परम्परा, वैज्ञानिक जनशक्ति र प्राविधिक क्षमताका आधारमा नेपालसँग डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकतामा फलदायी सहकार्य गर्न सकिने उनले बताएका छन्।

नेपालका दुई छिमेकी भारत र चीनसँग रुसको राम्रो सम्बन्ध रहनु पनि नेपाल–रुस सहकार्यका लागि विशेष अनुकूलता भएको उनको धारणा छ।

रुससँगको निकट सम्बन्धले भारत र चीनबीच अवस्थित नेपालको सन्तुलित तथा सामञ्जस्यपूर्ण परराष्ट्र नीतिलाई सहयोग गर्ने उल्लेख गर्दै उनले मस्कोसँगको सहकार्य नेपालको राष्ट्रिय हितअनुकूल हुने बताएका छन्।

यद्यपि सम्भावनालाई ठोस कार्यक्रममा रूपान्तरण गर्नुअघि नियमित परामर्श संयन्त्र स्थापना गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाललाई के आवश्यक छ, रुसले के उपलब्ध गराउन सक्छ र कुन क्षेत्रमा व्यावहारिक परियोजना अघि बढाउन सकिन्छ भन्ने विषयमा विस्तृत सूचना आदानप्रदान आवश्यक रहेको उनको भनाइ छ।

उनले नेपाली सरकारी अधिकारी, व्यावसायिक नेतृत्व र लगानीकर्तालाई सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च, इस्टर्न इकोनोमिक फोरम र ग्लोबल डिजिटल फोरमलगायत रुसमा आयोजना हुने प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन्।

नेपालमा आयोजना हुने आर्थिक, पर्यटन, व्यापार तथा प्रविधिसम्बन्धी कार्यक्रममा रुसी सहभागिता सुनिश्चित गर्न दूतावासले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

राजदूत सुरोभ्त्सेभले नेपाल आउने रुसी पर्यटकको संख्या क्रमशः बढिरहेकोमा प्रसन्नता व्यक्त गरेका छन्। नेपाल पर्यटन बोर्डले रुसमा आयोजना हुने विशिष्टीकृत पर्यटन प्रदर्शनीमा सक्रिय सहभागिता जनाएका कारण पनि नेपालप्रति रुसी पर्यटकको आकर्षण बढेको उनको विश्लेषण छ।

रुसी नागरिकमा नेपालको पर्वतारोहण, पदयात्रा र स्वास्थ्य तथा आरोग्य पर्यटनप्रति ठूलो रुचि रहेको उनले बताएका छन्। आगामी समयमा नेपालका बौद्ध तीर्थस्थल भ्रमण गर्ने रुसी पर्यटकको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ।

रुसी पर्यटक आगमन यही गतिमा बढेमा नेपाल र रुसबीच प्रत्यक्ष हवाई सेवा पुनःस्थापना गर्ने लामो समयदेखिको विषय समाधान गर्न सहज हुने उनले उल्लेख गरेका छन्।

प्रत्यक्ष हवाई सम्पर्क स्थापना भए पर्यटन, व्यापार, शिक्षा, सांस्कृतिक सम्पर्क र जनस्तरको आवागमन थप विस्तार हुने अपेक्षा गरिएको छ।

राजदूत सुरोभ्त्सेभले नेपाल–रुस सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताउँदै सात दशक पुरानो मित्रतालाई नयाँ आर्थिक, प्राविधिक र मानवीय साझेदारीमा रूपान्तरण गर्न दुवै देश सफल हुने विश्वास व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button