भान्सको ‘समाजवादी राष्ट्रपति’ चेतावनी: अमेरिकी पुँजीवादको गहिरिँदो वैधता संकट

# एलियास ग्रान्ट
राजनीतिक तथा विदेश मामिला विश्लेषक
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जो रोगनसँगको अन्तर्वार्तामा व्यक्त गरेको “चार दशकका नीतिगत असफलता नसच्याए अमेरिकामा समाजवादी राष्ट्रपति आउनेछ” भन्ने चेतावनी सामान्य दक्षिणपन्थी प्रचार वा समाजवादविरोधी भय सिर्जना गर्ने अभिव्यक्ति मात्र होइन। यसलाई ध्यानपूर्वक पढ्दा अमेरिकी सत्ता संरचनाको केन्द्रमै रहेको व्यक्तिले वर्तमान आर्थिक व्यवस्थाको वैधता संकट स्वीकार गरेको देखिन्छ।
भान्सले समाजवादको समर्थन गरेका होइनन्। बरु उनले समाजवादप्रति आकर्षण बढ्नुको कारण युवाहरूको वैचारिक भ्रम नभई उनीहरूले भोगिरहेको आर्थिक वास्तविकता भएको तर्क गरेका छन्। उनका अनुसार उत्पादन विदेश पठाउने नीति, सस्तो श्रममा निर्भरता, अवैध आप्रवासन, वित्तीयकरण, सम्पत्तिमाथि वाल स्ट्रिटको नियन्त्रण र श्रमिकको कमजोर हुँदै गएको सौदाबाजी शक्तिले अमेरिकालाई उत्पादनशील राष्ट्रभन्दा नाफा वितरण गर्ने खोक्रो संरचनामा परिणत गरेको छ। यी समस्या समाधान नभए सम्पत्तिविहीन पुस्ताले वर्तमान व्यवस्थालाई बचाउनुपर्ने कुनै कारण नदेख्ने उनको निष्कर्ष छ।
यस अर्थमा भान्सको भनाइ अमेरिकी पुँजीवादविरुद्ध समाजवादीहरूले दशकौँदेखि गर्दै आएको आलोचनासँग आश्चर्यजनक रूपमा मिल्छ। फरक केवल समाधानमा छ। समाजवादी धाराले सार्वजनिक स्वामित्व, सार्वभौम स्वास्थ्य सेवा, श्रमिक सङ्गठन, सामाजिक आवास र सम्पत्ति पुनर्वितरणमा समाधान खोज्छ। भान्सको राष्ट्रवादी दक्षिणपन्थले सीमा नियन्त्रण, पुनःऔद्योगिकीकरण, घरेलु उत्पादन, पारिवारिक स्वामित्व र राष्ट्रिय आर्थिक आत्मनिर्भरतामा जोड दिन्छ।
भान्सले उल्लेख गरेको “४० वर्ष” कुनै आकस्मिक समयावधि होइन। यो सन् १९८० को दशकपछि अमेरिकामा बलियो बनेको आर्थिक व्यवस्थातर्फ संकेत हो। रेगनकालीन कर कटौती, वित्तीय उदारीकरण र श्रमिक सङ्गठनको कमजोर बनाइँदै गएको शक्ति, त्यसपछि डेमोक्रेटिक र रिपब्लिकन दुवै प्रशासनले अघि बढाएको व्यापार उदारीकरण, उत्पादन स्थानान्तरण र वित्तीय क्षेत्रको विस्तारले अमेरिकी अर्थतन्त्रलाई क्रमशः औद्योगिक उत्पादनबाट सेवा, प्रविधि र वित्तमा केन्द्रित गरायो।
अमेरिकाको उत्पादन क्षमता पूर्ण रूपमा समाप्त भएको होइन। प्रविधि, औषधि, हवाई तथा अन्तरिक्ष उद्योग, ऊर्जा र उच्च मूल्यका उत्पादनमा अमेरिका अझै विश्व शक्ति हो। तर औद्योगिक रोजगारीको सामाजिक आधार गम्भीर रूपमा खुम्चिएको छ। सन् १९७९ मा अमेरिकी उत्पादन क्षेत्रमा करिब एक करोड ९६ लाख रोजगारी थिए। सन् २०२५ सम्म आइपुग्दा उत्पादन क्षेत्रका रोजगारी करिब एक करोड ३० लाखमा सीमित भएका थिए। व्यापार उदारीकरण र उत्पादन विदेश सार्ने प्रक्रियासँगै स्वचालन, प्रविधिगत सुधार र उत्पादकत्व वृद्धिले पनि यस गिरावटमा भूमिका खेलेको अमेरिकी श्रम तथ्याङ्क विभागले जनाएको छ।
यसबाट भान्सको निदान आंशिक रूपमा सही भए पनि पूर्ण छैन। अमेरिकी कारखाना रोजगारी चीन, मेक्सिको वा अन्य कम लागतका देशमा उत्पादन सारिएका कारण मात्र घटेका होइनन्। आधुनिक उद्योगले पहिलेभन्दा कम श्रमिकबाट बढी उत्पादन गर्न सक्ने भएकाले पनि रोजगारी घटेको हो। त्यसैले भन्सार शुल्क र कारखाना फिर्ता ल्याउने नीतिले उत्पादन बढाए पनि सन् १९५० वा १९७० को दशकको जस्तो विशाल औद्योगिक श्रमिक वर्ग स्वतः पुनर्निर्माण हुने निश्चित छैन।
भान्सले सही रूपमा पहिचान गरेको अर्को विषय श्रमिकको घट्दो सौदाबाजी शक्ति हो। सन् १९८३ मा अमेरिकी श्रमिकको २०.१ प्रतिशत ट्रेड युनियनमा आबद्ध थिए। सन् २०२५ मा यो दर १० प्रतिशतमा झरेको छ। निजी क्षेत्रमा युनियन आबद्धता केवल ५.९ प्रतिशतमा सीमित छ। युनियन सदस्य श्रमिकको साप्ताहिक औसत आम्दानी गैरयुनियन श्रमिकभन्दा उल्लेखनीय रूपमा बढी देखिएको छ, यद्यपि पेशा, उद्योग, उमेर र क्षेत्रगत भिन्नताले पनि त्यसमा प्रभाव पार्छ।
श्रमिक सङ्गठन कमजोर हुनु भनेको केवल तलब वार्ताको शक्ति घट्नु होइन। यसले राजनीतिक प्रतिनिधित्व, रोजगार सुरक्षा, पेन्सन, स्वास्थ्य सुविधा र उत्पादनबाट सिर्जित लाभको वितरणमा श्रमिकको प्रभाव घटाउँछ। आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि त्यसको लाभ घरपरिवारसम्म नपुग्दा आर्थिक प्रणालीको वैधता कमजोर हुन्छ। अमेरिकी जनगणना विभागका अनुसार करपछिको आम्दानीमा ९०औँ र १०औँ प्रतिशतकबीचको अनुपात सन् २००९ को ८.६ गुणाबाट सन् २०२४ मा ९.९ गुणा पुगेको थियो।
युवा पुस्ताको असन्तोष बुझ्न आवास संकट अझ महत्वपूर्ण छ। सन् २०२६ को प्यु रिसर्च सेन्टर सर्वेक्षणमा ८७ प्रतिशत अमेरिकीले आजका युवालाई आफ्ना अभिभावकको पुस्ताभन्दा घर किन्न कठिन भएको बताएका छन्। ८२ प्रतिशतले कलेज खर्च तिर्न र भविष्यका लागि बचत गर्न कठिन भएको बताएका छन् भने ८० प्रतिशतले आधारभूत खर्च धान्नसमेत कठिन भएको धारणा राखेका छन्। १८ देखि २९ वर्ष समूहका ७५ प्रतिशतले आफ्ना अभिभावकको पुस्ताको तुलनामा रोजगारी पाउन कठिन भएको बताएका छन्।
हार्वर्ड युवा सर्वेक्षणमा ४३ प्रतिशत युवा अमेरिकीले आफू सीमित आर्थिक सुरक्षामा बाँचिरहेको वा आर्थिक सङ्घर्ष गरिरहेको बताएका थिए। आर्थिक रूपमा असुरक्षित युवामध्ये लोकतन्त्र असफल भएको वा संकटमा रहेको ठान्ने अनुपातसमेत बढी देखिएको छ। यसले आर्थिक असुरक्षा केवल बजार व्यवस्थाप्रतिको असन्तोषमा सीमित नरही राजनीतिक संस्थाप्रतिको विश्वाससँग पनि जोडिएको देखाउँछ।
यही पृष्ठभूमिमा “समाजवाद” शब्दले अमेरिकी युवाका लागि शीतयुद्धकालीन अर्थ गुमाउँदै गएको छ। धेरै युवाका लागि यसको अर्थ सोभियत शैलीको केन्द्रीकृत अर्थतन्त्र होइन। उनीहरूले यसलाई सार्वजनिक स्वास्थ्य सेवा, किफायती आवास, विद्यार्थी ऋण राहत, बलियो न्यूनतम तलब, श्रमिक अधिकार, धनीमाथि उच्च कर र सार्वजनिक सेवाको विस्तारसँग जोडेर बुझ्छन्।
सन् २०२५ को ग्यालप सर्वेक्षणअनुसार पुँजीवादप्रति सकारात्मक धारणा राख्ने अमेरिकीको अनुपात सन् २०१० को ६१ प्रतिशतबाट ५४ प्रतिशतमा झरेको थियो। ५० वर्षमुनिका डेमोक्रेटमध्ये केवल ३१ प्रतिशतले पुँजीवादप्रति सकारात्मक धारणा राखेका थिए। डेमोक्रेटमध्ये समाजवादप्रति सकारात्मक धारणा राख्ने अनुपात ६६ प्रतिशत थियो। तर अधिकांश अमेरिकीले स्वतन्त्र उद्यमप्रति सकारात्मक धारणा राखिरहेकाले यो परिवर्तन निजी सम्पत्ति वा बजारको पूर्ण अस्वीकारभन्दा वर्तमान आर्थिक संरचनाको निष्पक्षतामाथिको अविश्वास भएको देखिन्छ।
अमेरिकाको लोकतान्त्रिक समाजवादी धाराले भने बजार सुधारमा मात्र आफूलाई सीमित राख्दैन। डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिकाको कार्यक्रमले सार्वजनिक स्वामित्वको आवास, सार्वभौम स्वास्थ्य सेवा, लगानी प्रयोजनका घरमा कडा नियन्त्रण, कार्यस्थलमा श्रमिकको लोकतान्त्रिक शक्ति र अर्थतन्त्रमाथि सार्वजनिक नियन्त्रण विस्तारको माग गर्छ। सङ्गठनले सन् २०२८ को राष्ट्रपति निर्वाचनमा समाजवादी उम्मेदवारीको सम्भावनाबारे औपचारिक अध्ययन गर्ने निर्णयसमेत गरेको छ।
न्युयोर्कका मेयर जोहरान ममदानीको विजय र कोलोराडोको संसदीय प्राथमिक निर्वाचनमा २९ वर्षीया लोकतान्त्रिक समाजवादी मेलाट किरोसले करिब तीन दशकदेखि पदमा रहेकी डेमोक्रेट सांसद डायना डिगेटलाई पराजित गर्नुले यो धाराको चुनावी विस्तार देखाएको छ। यी विजयहरू राष्ट्रिय राष्ट्रपति निर्वाचनको प्रतिनिधि नमुना नभए पनि स्थापित डेमोक्रेटिक नेतृत्वविरुद्ध आर्थिक मुद्दामा आधारित पुस्तान्तरण भइरहेको संकेत हुन्।
भान्सले यही परिवर्तनलाई रिपब्लिकन पार्टीका लागि चेतावनीका रूपमा प्रयोग गरेका छन्। उनको सन्देश स्पष्ट छ, केवल समाजवादलाई गाली गरेर युवा मतदातालाई जित्न सकिँदैन। उनीहरूलाई घर, सम्मानजनक रोजगारी, परिवार पाल्न सक्ने तलब र सम्पत्तिमा हिस्सेदारी चाहिन्छ। कुनै पुस्ताले जीवनभर घरभाडा तिर्ने, ऋणमा शिक्षा लिने, अस्थायी रोजगारी गर्ने र स्वास्थ्य संकटबाट आर्थिक रूपमा ध्वस्त हुने अवस्था भोगिरहेको छ भने उसलाई पुँजीवादको नैतिक श्रेष्ठताबारे दिइने भाषण प्रभावकारी हुँदैन।
तर भान्सको समाधान आफैँमा विरोधाभाषपूर्ण छ। उनी श्रमिकको सौदाबाजी शक्ति कमजोर भएको स्वीकार गर्छन्, तर रिपब्लिकन आर्थिक राजनीतिले परम्परागत रूपमा श्रमिक सङ्गठनभन्दा रोजगारदाता, कर कटौती र नियमन घटाउने नीतिलाई प्राथमिकता दिएको छ। उनी वाल स्ट्रिटले सम्पत्ति कब्जा गरेको आलोचना गर्छन्, तर घरजग्गा, वित्त र निजी लगानी कम्पनीमाथि कडा नियन्त्रणबिना केवल ब्याजदर घटाएर घरको स्वामित्व व्यापक बनाउन कठिन हुन्छ।
आप्रवासनसम्बन्धी उनको तर्क पनि आधा सत्यमा आधारित छ। तीव्र जनसङ्ख्या वृद्धिले छोटो अवधिमा घरभाडा र आवासको माग बढाउन सक्छ। अमेरिकी केन्द्रीय बैंकका अनुसन्धानकर्ताले आप्रवासनको लहरपछि छोटो अवधिमा भाडा बढ्न सक्ने तर आवास निर्माण विस्तार भए त्यो प्रभाव दीर्घकालीन नहुन सक्ने बताएका छन्।
त्यस्तै, आप्रवासी श्रमिकले केही न्यून दक्षताका पेशा वा पहिले आएका आप्रवासीमाथि तलबको दबाब पार्न सक्छन्। तर नेसनल एकेडेमिजको व्यापक अध्ययनले समग्रमा जन्मजात अमेरिकी श्रमिकको दीर्घकालीन तलब र रोजगारीमा आप्रवासनको प्रभाव अत्यन्त सानो रहेको निष्कर्ष निकालेको छ। त्यसैले श्रमिकको कमजोर सौदाबाजी शक्तिको सम्पूर्ण जिम्मेवारी आप्रवासीमाथि राख्नु तथ्यगत रूपमा अपर्याप्त हुन्छ। ट्रेड युनियनको गिरावट, श्रम कानुन, ठेक्का प्रणाली, एकाधिकार, उत्पादन स्थानान्तरण र रोजगारदाताको राजनीतिक शक्ति उत्तिकै महत्वपूर्ण कारण हुन्।
भान्सको चेतावनीलाई उनको सम्भावित भावी राजनीतिक परियोजनाबाट अलग गरेर पनि हेर्न सकिँदैन। उनले ट्रम्पपछिको अमेरिकी दक्षिणपन्थलाई परम्परागत मुक्त बजारवादबाट आर्थिक राष्ट्रवादतर्फ लैजान खोजिरहेका छन्। उनको लक्ष्य समाजवादी वर्ग राजनीतिलाई राष्ट्रवादी वर्ग राजनीतिले प्रतिस्थापन गर्नु हो। समाजवादीहरूले “श्रमिक बनाम अर्बपति” भन्ने विभाजन निर्माण गर्दा भान्स “अमेरिकी श्रमिक बनाम विश्वव्यापी वित्त, विदेशी उत्पादन र सस्तो आप्रवासी श्रम” भन्ने विभाजन निर्माण गर्छन्।
दुवै धाराले पुरानो विश्वव्यापीकरणको वितरण प्रणाली असफल भएको स्वीकार गर्छन्। तर एउटाले वर्गीय स्वामित्व परिवर्तन खोज्छ भने अर्कोले राष्ट्रिय सीमाभित्र पुँजीवादको पुनर्गठन खोज्छ। यही द्वन्द्व सन् २०२८ को अमेरिकी राजनीतिक बहसको मुख्य वैचारिक आधार बन्न सक्छ।
तथापि निकट भविष्यमा खुलेर आफूलाई समाजवादी घोषित गरेको उम्मेदवार अमेरिकाको राष्ट्रपति बन्न सजिलो छैन। राष्ट्रपति निर्वाचन प्रणाली, निर्वाचन खर्च, ठूला दाता, पार्टीगत संरचना, सिनेटको प्रतिनिधित्व प्रणाली र शीतयुद्धकालीन समाजवादविरोधी स्मृतिले यस्तो उम्मेदवारीलाई सीमित गर्छ। तर समाजवादी भनिने धेरै आर्थिक प्रस्ताव अर्को नाममा लोकप्रिय हुन सक्छन्। सामाजिक सुरक्षा, मेडिकेयर, सार्वजनिक विद्यालय, औद्योगिक अनुदान र कृषि सहायता पहिलेदेखि नै अमेरिकी राज्यको हिस्सा छन्।
त्यसैले वास्तविक प्रश्न समाजवादी राष्ट्रपति निर्वाचित हुन्छन् कि हुँदैनन् भन्ने मात्र होइन। अमेरिकी राजनीतिको आर्थिक केन्द्र कति टाढा सर्छ भन्ने हो। भविष्यको डेमोक्रेटिक उम्मेदवारले आफूलाई समाजवादी नभने पनि सार्वभौम स्वास्थ्य सेवा, सार्वजनिक आवास, श्रमिक अधिकार र सम्पत्ति पुनर्वितरणको कार्यक्रम अघि सार्न सक्छ। त्यसैगरी भविष्यको रिपब्लिकन उम्मेदवारले मुक्त व्यापार, खुला श्रम बजार र वित्तीय उदारीकरणलाई अस्वीकार गर्दै राज्य निर्देशित औद्योगिक राष्ट्रवाद अपनाउन सक्छ।
यो परिवर्तनको अन्तर्राष्ट्रिय प्रभाव अझ ठूलो हुनेछ। अमेरिका पुनःऔद्योगिकीकरण, उत्पादन सुरक्षा र राष्ट्रिय आत्मनिर्भरतातर्फ अघि बढे विश्व व्यापार अझ राजनीतिक र सुरक्षा केन्द्रित बन्नेछ। आपूर्ति श्रृंखला रणनीतिक गठबन्धनअनुसार विभाजित हुनेछ। भन्सार शुल्क, औद्योगिक अनुदान, प्रविधि नियन्त्रण र घरेलु उत्पादनबीचको प्रतिस्पर्धा तीव्र हुनेछ। समाजवादी वाम र राष्ट्रवादी दक्षिणपन्थ दुवैले सन् १९९० पछिको निर्बाध विश्वव्यापीकरणलाई अस्वीकार गरेपछि पुरानो वासिङ्टन सहमतिको पुनरागमन कठिन देखिन्छ।
भान्सको भनाइको सबैभन्दा महत्वपूर्ण पक्ष समाजवादको सम्भावना होइन, वर्तमान अमेरिकी व्यवस्थाप्रतिको उनको स्वीकारोक्ति हो। उनले अप्रत्यक्ष रूपमा पुँजीवाद केवल आर्थिक वृद्धि दर, शेयर बजार वा कर्पोरेट नाफाबाट वैध नहुने बताएका छन्। त्यसको वैधता नागरिकले घर किन्न सक्छ कि सक्दैन, परिवार पाल्न सक्छ कि सक्दैन, श्रमबाट सम्मानजनक जीवन बनाउन सक्छ कि सक्दैन र आफ्ना सन्तानको भविष्य आफूभन्दा राम्रो हुने विश्वास गर्छ कि गर्दैन भन्ने प्रश्नमा निर्भर हुन्छ।
समाजवादको उदयलाई रोक्ने प्रभावकारी उपाय समाजवादविरोधी भाषण होइन। व्यापक स्वामित्व, उत्पादक रोजगारी, सुलभ आवास, स्वास्थ्य सुरक्षा र राजनीतिक उत्तरदायित्वसहितको अर्थतन्त्र निर्माण गर्नु हो। भान्सले समस्याको आकार पहिचान गरेका छन्। तर उनको राजनीतिक धाराले त्यसको संरचनात्मक समाधान दिन सक्छ कि असन्तोषलाई आप्रवासी, विदेशी प्रतिस्पर्धी र सांस्कृतिक विरोधीतर्फ मोडेर पुरानै आर्थिक शक्ति संरचना जोगाउँछ भन्ने प्रश्न अझै खुला छ।
अन्ततः अमेरिकाले समाजवादी राष्ट्रपति पाउँछ कि पाउँदैन भन्ने कुरा भविष्यले बताउनेछ। तर घर, सुरक्षा र आर्थिक स्वामित्वबाट वञ्चित पुस्ताले वर्तमान व्यवस्था जस्ताको त्यस्तै स्वीकार नगर्ने निश्चित छ। भान्सको चेतावनी अमेरिकामा समाजवाद आउने भविष्यवाणीभन्दा पनि अमेरिकी पुँजीवाद पुरानै ढाँचामा टिक्न नसक्ने घोषणाजस्तो सुनिन्छ।





