सुनौलो फूलबारीमा साइकल दौड, मौरीपालक र पर्यटकको साझा उत्सव

पासाङ ल्हामु
छिङहाइको उच्च भूभागमा फैलिएको पहेँलो तोरीको विशाल फूलबारीबीच अन्तर्राष्ट्रिय साइकल खेलाडी दौडिँदा खेलकुद, पर्यावरण, मौरीपालन र पर्यटन एउटै दृश्यमा जोडिएका छन्।
२५औँ ‘टुर अफ म्याग्निफिसेन्ट छिङहाइ’ अन्तर्राष्ट्रिय सडक साइकल प्रतियोगिताको दोस्रो चरण जुलाई १२ मा ह्वाङयुआन, जसलाई तिब्बती भाषामा तोङ्कोर भनिन्छ, देखि मेनयुआन, अर्थात जुलाकसम्म सञ्चालन भएको थियो।
२२५ किलोमिटर लामो यो चरणमा दुई उकालो खण्ड र तीन मध्यवर्ती स्प्रिन्ट क्षेत्र राखिएका थिए। १४६ साइकल खेलाडी सहभागी दौड मेनयुआन हुई स्वायत्त जिल्लामा प्रवेश गरेपछि सुनौलो तोरीबारीबीच अघि बढेको थियो।

छिङहाइको हाइबेई तिब्बती स्वायत्त प्रिफेक्चरमा पर्ने मेनयुआन छिलियन पर्वत राष्ट्रिय निकुञ्जको छिङहाइ क्षेत्रनजिक अवस्थित छ। वन क्षेत्र, हाओमेन नदी र हिमाली जलप्रणालीले यहाँको कृषि तथा पर्यावरणलाई आधार प्रदान गरेका छन्।
कुनै समय पर्यावरणीय क्षय देखिएका पहाडी भिरालो जमिन र नदी किनारका भूभाग अहिले तहगत तोरीबारीमा परिणत भएका छन्। छिलियन हिमशृंखलाको काखमा एक सय किलोमिटरभन्दा बढी फैलिने फूलबारी जुलाईमा पूर्ण रूपमा फुल्दा हिमाल, वन र सुनौलो खेतले विशिष्ट उच्च भूभागीय दृश्य निर्माण गर्छन्।
यही फूल फुल्ने मौसम स्थानीय कृषकसँगै देशका विभिन्न भागबाट आउने मौरीपालकका लागि पनि महत्त्वपूर्ण हुन्छ।
चीनको हुबेई प्रान्तस्थित वुहानबाट आएकी ५४ वर्षीया ली छुइफाङ र उनका पति वाङ ह्वापिङ हरेक वर्ष मौरीका घार लिएर फूल फुल्ने क्षेत्र पछ्याउँदै यात्रा गर्छन्।
मार्चमा उनीहरू हेनानको चङचौमा फुल्ने बबुल क्षेत्र पुग्छन्। अप्रिलमा कान्सुको पिङल्याङ र तिङ्सी हुँदै जुनको अन्त्यतिर तोरी फुल्न थालेपछि मेनयुआन आउँछन्। यहाँको फूल सुक्न थालेपछि उनीहरूको यात्रा उत्तरी शान्सीतर्फ अघि बढ्छ।
करिब १४ वर्गमिटरको फलामे अस्थायी टहरो उनीहरूको यात्राका क्रममा घर बन्छ। त्यहीँ खाना पकाउने चुलो, पराग संकलन गर्ने भाँडा, मौरीपालनका उपकरण र सामान्य ओछ्यान राखिएका छन्।
वाङ पहिलोपटक ३६ वर्षअघि मेनयुआन आएका थिए। त्यसयता प्रत्येक गर्मीमा फूल फुल्ने समयसँगै उनी यहाँ फर्कंदै आएका छन्। साइकल प्रतियोगिताको टोली मेनयुआन हुँदै गएको वर्ष उनी सडक किनारमा उभिएर खेलाडीलाई हेर्न छुटाउँदैनन्।
उनीहरूका अनुसार मेनयुआनको हावापानी, पानी, माटो र घना फूलबारी मौरीपालनका लागि अनुकूल छन्। स्थानीय प्रशासनले पनि मौरीका घार राख्न र पराग संकलन गर्न आवश्यक सहजीकरण गर्ने गरेको छ।
एकातिर खेलाडीहरू पहाड, उपत्यका र लामो सडक पार गर्दै विजयतर्फ दौडिन्छन् भने अर्कातिर मौरीपालकहरू फूलको सुगन्ध पछ्याउँदै एक क्षेत्रबाट अर्को क्षेत्रमा यात्रा गर्छन्। दुवैको यात्रा फरक भए पनि त्यसमा परिश्रम, अनुशासन र आफ्नो पेशाप्रतिको निरन्तरता समान देखिन्छ।
दोस्रो चरणमा इटालीको पोल्टी भिजिट माल्टा टोलीका गाब्रिएले बेसेगाले अन्तिम स्प्रिन्टमा प्रतिस्पर्धीलाई पछि पार्दै चरण विजय हासिल गरे। उनले समग्र व्यक्तिगत अग्रता जनाउने पहेँलो जर्सीसमेत प्राप्त गरे।
बेसेगाले दौडपछि सुनौलो फूलबारीबीच साइकल चलाउनु कठिन प्रतिस्पर्धासँगै आनन्ददायी अनुभव भएको बताए।
फूलबारीको दृश्यावलोकन स्थल र सडक किनारमा ठूलो संख्यामा पर्यटक जम्मा भएका थिए। केहीले सयौँ किलोमिटर यात्रा गरेर वार्षिक फूल फुल्ने मौसम र अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता एउटै समयमा हेर्न मेनयुआन पुगेका थिए।
छिङहाइको यो साइकल प्रतियोगिताले खेलकुदलाई केवल प्रतिस्पर्धामा सीमित नराखी उच्च भूभागको पर्यावरण, स्थानीय कृषि, मौरीपालन, जातीय संस्कृति र पर्यटनसँग जोडेको छ।
आठ चरणमा सञ्चालन भएको प्रतियोगिता जुलाई १८ मा छिङहाइ ताल क्षेत्रमा सम्पन्न भयो। समग्र व्यक्तिगत उपाधि इक्वेडरका जोनाथन क्लेभर काइसेदो सेपेदाले जिते।
सुनौलो फूलबारीबीच सम्पन्न दोस्रो चरणले भने प्रतियोगिताको खेल परिणामभन्दा फराकिलो सन्देश छाड्यो। पर्यावरण संरक्षण, कृषि उत्पादन, मौरीपालकको घुमन्ते जीवन र अन्तर्राष्ट्रिय खेलकुदबीच सहअस्तित्व सम्भव रहेको दृश्य मेनयुआनमा प्रत्यक्ष देखियो।





