१७ भाद्र २०८३, बुधबार

आर्थिक हिटम्यानदेखि स्वर्णिम वाग्लेसम्म: एक विश्लेषण

# प्रेम सागर पौडेल

जोन पर्किन्सको चर्चित पुस्तक ‘कन्फेसन्स अफ एन इकोनोमिक हिटम्यान’ ले विश्व साम्राज्यवादको एउटा नाङ्गो चित्र प्रस्तुत गर्छ। पर्किन्स आफैं एक ‘इकोनोमिक हिटम्यान’ थिए। अत्यन्तै पढेलेखेको, चार्मिङ व्यक्तित्वको, विश्व बैंक र अमेरिकी खुफिया निकायको गोप्य रणनीति अन्तर्गत विकासशील देशहरूमा ऋणको पासो लगाउने मानसिक खेलाडी। उनको काम थियो: ती देशका नीतिनिर्मातालाई स्वर्ग देखाएर नर्कमा धकेल्नु, भव्य विकासको सपना बाँडेर उनीहरूलाई अमेरिकी कर्पोरेट हितको कठपुतली बनाउनु।

आज नेपालमा उही पुरानो खेल नयाँ पात्र र परिवेशमा चलिरहेको छ। स्वर्णिम वाग्ले जस्तो तीक्ष्ण बुद्धिको अर्थशास्त्री, जसले विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायत संस्थामा बसेर अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको कसरत बुझिसकेको छ। उनी त्यो श्रृंखलाको पछिल्लो सशक्त कडी हुन्। अझै झन रोचक पात्र हुन्, काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह। जसलाई कान्स फिल्म फेस्टिभल जस्तो ग्लामरस मञ्चमा बिना ठोस कारण पुर्याइयो। यी दुवै घटना केवल संयोग नभएर सोचीं सम्झी बुनिएको अमेरिकी सफ्ट पावरको जालो हुन सक्छन्।

आर्थिक हिटम्यानको कार्यशैली

पर्किन्सले वर्णन गरेको हिटम्यानको तरिका सरल तर घातक थियो। पहिलो, अध्ययन र चयन: कुनै विकासोन्मुख देशमा सम्भावना देख्नेबित्तिकै, त्यहाँका होनहार युवालाई छात्रवृत्ति, फेलोसिप, अन्तर्राष्ट्रिय जागिरको प्रलोभन देखाएर आफूतिर तान्ने। दोश्राे, ऋणको पासो: विश्व बैंक वा आईएमएफ मार्फत ठूला पूर्वाधार परियोजनाका लागि अर्बौंको ऋण दिने। जसको वास्तविक लाभार्थी बेकटेल, ह्यालिबर्टन जस्ता अमेरिकी निर्माण कम्पनी हुन्। तेश्राे, नीतिगत कन्डिसनालिटी: ऋण दिँदा निजीकरण, व्यापार उदारीकरण, कर छुट र श्रम कानुन खुकुलो बनाउने शर्त राख्ने। जसले बहुराष्ट्रिय कम्पनीलाई बजार खोलिदिन्छ। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण, स्वदेशी एजेन्ट तयार गर्ने: स्थानीय प्रतिभाशाली व्यक्तिलाई यो प्रणालीको मोहरा बनाउने, ताकि उसैले ‘स्वेच्छाले’ तिनै नीति लागू गरोस्। यसरी जनतामा भ्रम सिर्जना हुन्छ कि यो त हाम्रै मान्छेले ल्याएको सुधार हो, विदेशीले थोपरिदिएकाे होइन।

स्वर्णिम वाग्ले: तयार गरिएको ‘पर्फेक्ट म्याच’

स्वर्णिम वाग्लेको प्रोफाइल हेर्ने हो भने उनको सम्पूर्ण करियर ट्र्याक पर्किन्सले भनेको हिटम्यानको टेम्प्लेटमा ठ्याक्कै मिल्छ। अस्ट्रेलिया र अमेरिकामा उच्च शिक्षा, विश्व बैंकमा सिनियर इकोनोमिस्ट, यूएनडीपीमा नीति सल्लाहकार, अनि नेपाल आएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थमन्त्री। यो कुनै सामान्य प्राज्ञिक यात्रा होइन। यो ग्रुमिङको उत्कृष्ट नमुना हो।

वाग्लेलाई नेपालमा ‘आधुनिक अर्थशास्त्री’ को छवि दिइयो। उनी जब बोल्छन्, डाटा, ग्राफ र अन्तर्राष्ट्रिय उदाहरणको बाढी आउँछ। उनको तर्क जनतालाई नबुझ्ने तर बुद्धिजीवीवर्गलाई प्रभावित पार्ने खालको हुन्छ। ठ्याक्कै पर्किन्सले भनेजस्तै, सबैभन्दा खतरनाक हिटम्यान त्यो हो जो देखिन्छ विद्वान्, तर बोल्छ मालिकको भाषा।

उनको अर्थमन्त्रालयले अहिले जोडतोडले अघि बढाएको निजीकरण, सार्वजनिक निजी साझेदारी, श्रम बजार लचिलोपन र एमसीसी जस्तो विवादास्पद सम्झौताको कार्यान्वयन, यी सबै उही पुराना कन्डिसनालिटीका प्याकेज हुन्। भ्रम यही छ कि स्वर्णिम वाग्ले त नेपालकै हुन्, उनले त देशको भलो सोच्छन्। तर पर्किन्सको भाषामा भन्ने हो भने, हिटम्यानको सबैभन्दा ठूलो सफलता तब हुन्छ। जब स्थानीय जनताले उसलाई आफ्नै उद्धारक ठान्छन्।

बालेन्द्र शाह र कान्सको रहस्य

अब प्रश्न उठ्छ: बालेन्द्र शाहलाई कान्स फिल्म फेस्टिभलमा किन लगियो? काठमाडौंको मेयरका रूपमा उनले गरेको फोहोर व्यवस्थापन, नदी सफाइ र सडक विस्तारजस्ता कामहरू विश्व सिनेमाको सबैभन्दा प्रतिष्ठित मञ्चसँग कसरी जोडिन्छन्? के बालेन्द्रको कामलाई डकुमेन्ट्री बनाइनु र उनलाई रेड कार्पेटमा हिँडाइनु मात्र कलात्मक चासो थियो?

यथार्थमा यो अमेरिकी सफ्ट पावरको सुनियोजित स्ट्रोक हो। बालेन्द्र नेपाली जनतामाँझ स्वच्छ, इमानदार र विद्रोही नेताका रूपमा स्थापित छन्। उनको लोकप्रियता परम्परागत दलहरूका लागि टाउको दुखाइ मात्र होइन, अमेरिकी रणनीतिकारका लागि सम्भावित एसेट पनि हो। किनभने ठूलो जनाधार भएको तर राजनीतिक रूपमा अनट्रेन्ड नेतालाई सही समयमा ग्रुम गर्न सकियो भने ऊ सबैभन्दा प्रभावकारी एजेन्ट बन्न सक्छ।

कान्सको निम्तोले बालेन्द्रलाई के दियो? ग्लोबल एक्स्पोजर, अन्तर्राष्ट्रिय सञ्जाल र एउटा अदृश्य सन्देश, ‘तिमी हाम्रो सर्कलका हौ।’ यो ठ्याक्कै त्यही प्रक्रिया हो जुन पर्किन्सले पनि प्रयोग गर्थे। कुनै पनि देशको इमान्दार सुधारवादीलाई सुरुमा हिरो बनाउने, अनि बिस्तारै आफ्नो जालमा पार्ने। बालेन्द्रलाई कान्समा लैजानुपर्ने कुनै ठोस कारण थिएन। झन भन्नुपर्दा, यो त नन-स्टेट एक्टरद्वारा स्टेट एक्टरलाई ग्रुम गर्ने क्लासिक अप्रोच हो। सांस्कृतिक पुँजी र जनविश्वासलाई भूराजनीतिक औजारमा बदल्ने सफा रणनीति।

पात्र फरक, स्क्रिप्ट उही

जोन पर्किन्सले इन्डोनेसिया, इक्वेडर, पानामा र साउदी अरेबियामा जे गरे, त्यसको नेपाली संस्करण हेर्दा एउटा कुरा प्रस्ट हुन्छ: चरित्र र भाषा मात्र फेरिएको छ, पटकथा ज्यूँकात्यूँ छ। स्वर्णिम वाग्ले टेक्नोक्र्याट हिटम्यान हुन्। जसलाई नीति निर्माणको सबैभन्दा माथिल्लो तहमा राखेर देशकै संरचनालाई साम्राज्यवादी अर्थतन्त्रको परिधिमा बाँध्ने काम लगाइएको छ। बालेन्द्र शाह भने कल्चरल हिटम्यानको रोलमा ढालिँदै छन्। लोकप्रियताको शिखरमा रहेको स्वच्छ छवि भएका नेतालाई पश्चिमा लोकतन्त्र र खुला बजारको ब्रान्ड एम्बासडर बनाउने दाउँ।

दुवै मामिलामा अमेरिकी साम्राज्यवादी डिजाइन स्पष्ट छ। वाग्ले मार्फत अर्थतन्त्रको ढोका खोल्ने, बालेन्द्रजस्ता जनप्रिय अनुहार मार्फत सांस्कृतिक र राजनीतिक वैधता दिने। यसरी एकातिर आर्थिक निर्भरता सिर्जना गरिन्छ भने अर्कोतिर जनमतलाई नियन्त्रण गर्ने कथा तयार पारिन्छ, ‘यी त आधुनिक नेपालका नायक हुन्।’

के नेपालले चेतेको छ?

जोन पर्किन्सले पुस्तकको अन्त्यमा पश्चाताप व्यक्त गरेका छन् र भनेका छन्, ‘हामीले बनाएको प्रणालीले अर्बौं मानिसलाई गरिब बनायो।’ नेपालले यो पाठ बुझ्न ढिलो गरिसकेको छ। अर्थमन्त्रीको बौद्धिक चमक र मेयरको सेलिब्रेटी इमेज पछाडिको शक्तिकेन्द्रलाई नचिन्ने हो भने नेपाल फेरि एकपटक ऋण, निर्भरता र भ्रमको त्यही चक्रमा फस्नेछ। जहाँ शासकहरू मुस्कुराउँदै हस्ताक्षर गर्छन् र जनता अनन्त गरिबीमा धकेलिन्छन्।

यो लेख कसैको चरित्रहत्या होइन, तर एउटा अप्रिय प्रश्न भने पक्कै हो: के स्वर्णिम वाग्ले र बालेन्द्र शाह ‘नयाँ नेपाल’ का परिकल्पनाकार हुन् वा पुरानै साम्राज्यवादी स्क्रिप्टका नयाँ कलाकार?

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button