१७ भाद्र २०८३, बुधबार

नानचाङदेखि काँक्रेविहारसम्म

शान्तिका लागि रणनीतिक साझेदारी, हिमाली सभ्यतागत पारिवारिक सम्बन्ध र नेपाल–चीन साझा भविष्य

# प्रेम सागर पौडेल

अवधारणात्मक टिप्पणी

यस लेखमा प्रयोग गरिएको “हिमाली सभ्यतागत पारिवारिक सम्बन्ध” भन्नाले नेपाल र चीनबीच आधुनिक कूटनीतिक सम्बन्ध स्थापना हुनुभन्दा शताब्दीयौँ पुरानो राजकीय, वैवाहिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, कलात्मक, बौद्धिक र व्यापारिक सम्बन्धको संयुक्त ऐतिहासिक संरचनालाई जनाउँछ।

यस अवधारणाले हिमाललाई दुई सभ्यतालाई पृथक गर्ने स्थिर सीमा वा कठोर भौगोलिक बन्धनका रूपमा मात्र हेर्दैन। यसले हिमाललाई परिवार, शासन, राजनीति, ज्ञान, धर्म, कला, व्यापार र जनजीवनलाई जोड्ने ऐतिहासिक सेतुका रूपमा व्याख्या गर्छ।

दुई वार्षिकोत्सव, एउटै ऐतिहासिक सूत्र

सन् २०२६ को अगस्त १ ले इतिहासका दुई महत्वपूर्ण यात्रालाई एउटै विश्लेषणात्मक धरातलमा उभ्याएको छ। सन् १९२७ को नानचाङ विद्रोहबाट जन्मिएको चिनियाँ जनमुक्ति सेनाले स्थापनाको ९९ वर्ष पूरा गरेको छ। यही दिन नेपाल र जनवादी गणतन्त्र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको छ।

यी दुई यात्राको उत्पत्ति, स्वरूप र संस्थागत भूमिका पृथक छन्। चिनियाँ जनमुक्ति सेनाको इतिहास राष्ट्रिय मुक्ति, राजनीतिक एकीकरण, सार्वभौमिकताको संरक्षण र आधुनिक प्रतिरक्षा क्षमतासँग जोडिएको छ। नेपाल–चीन सम्बन्धको आधुनिक इतिहास शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता, गैरहस्तक्षेप र पारस्परिक सम्मानमा आधारित रणनीतिक साझेदारीसँग सम्बन्धित छ।

तर यी दुवै इतिहासलाई जोड्ने साझा राजनीतिक सूत्र स्पष्ट छ। त्यो हो राष्ट्रिय स्वतन्त्रताको रक्षा, जनताको सुरक्षा, शान्तिपूर्ण विकास र भविष्यप्रतिको दीर्घकालीन जिम्मेवारी।

यस ऐतिहासिक संयोगले एउटा महत्वपूर्ण सत्य उजागर गर्छ। शान्ति र शक्ति परस्पर विरोधी अवधारणा होइनन्। जिम्मेवार राजनीतिक नेतृत्व, वैधानिक राष्ट्रिय उद्देश्य र जनताको हितद्वारा निर्देशित शक्ति नै विश्वसनीय शान्तिको आधार बन्न सक्छ।

शान्तिका लागि शक्ति र रणनीतिक साझेदारीको आधार

चिनियाँ जनमुक्ति सेनाको ९९ वर्षको इतिहासलाई केवल क्षेप्यास्त्र, विमानवाहक जहाज, मानवरहित प्रणाली, साइबर क्षमता वा आधुनिक सैन्य प्रविधिको सूचीबाट बुझ्नु पर्याप्त हुँदैन। यसको वास्तविक ऐतिहासिक महत्व चीनको राष्ट्रिय एकता, सार्वभौमिकता, भूक्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता र विकासका उपलब्धिको संस्थागत संरक्षणमा निहित छ।

कुनै पनि राष्ट्रको आर्थिक तथा सामाजिक विकास बाह्य सुरक्षा वातावरणबाट पृथक रहन सक्दैन। उद्योग, पूर्वाधार, विज्ञान, प्रविधि, व्यापार र नागरिक जीवनलाई स्थिर राख्न विश्वसनीय प्रतिरक्षा क्षमता आवश्यक हुन्छ। तर विश्वसनीय प्रतिरक्षा र विस्तारवादी सैन्यवाद एउटै विषय होइनन्।

विश्वसनीय प्रतिरक्षाले राष्ट्रलाई आफ्नो राजनीतिक व्यवस्था, विकास मार्ग र परराष्ट्र नीति स्वतन्त्र रूपमा निर्धारण गर्ने क्षमता दिन्छ। विस्तारवादी सैन्यवादले अरू राष्ट्रको सार्वभौमिकता र राजनीतिक स्वायत्तता कमजोर पार्छ। यी दुईबीचको भिन्नता सैन्य शक्तिको आकारमा होइन, त्यसलाई निर्देशित गर्ने राजनीतिक उद्देश्यमा निहित हुन्छ।

चीनले आफ्नो राष्ट्रिय प्रतिरक्षा नीतिलाई रक्षात्मक प्रकृतिको बताउँदै आएको छ। सन् २०२७ मा पूरा हुने चिनियाँ जनमुक्ति सेनाको शतवार्षिकी लक्ष्यलाई केवल हतियार विस्तारको कार्यक्रमका रूपमा बुझ्नु हुँदैन। यो चिनियाँ आधुनिकीकरण, वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता, राष्ट्रिय एकता, विकासका उपलब्धिको सुरक्षा र बाह्य दबाबविरुद्ध रणनीतिक स्वायत्तता सुदृढ गर्ने व्यापक राष्ट्रिय परियोजना हो।

राष्ट्रपति सी चिनफिङको नेतृत्वमा अघि बढाइएको प्रतिरक्षा आधुनिकीकरणले प्रविधि, सूचना, संयुक्त सञ्चालन, प्रतिरक्षात्मक निगरानी, सुरक्षात्मक गस्ती र सबै क्षेत्र समेट्ने राष्ट्रिय सुरक्षा क्षमतामा जोड दिएको छ। यस प्रक्रियामा सेना केवल युद्धका लागि तयार गरिने संस्था होइन। यो राष्ट्रिय स्थिरता, विपद प्रतिक्रिया, मानवीय सहायता, संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना र विकासको सुरक्षित वातावरण कायम गर्ने संरचना पनि हो।

शक्तिशाली सेना युद्धको उत्सव होइन। जिम्मेवार राष्ट्रिय नीति अन्तर्गत रहेको शक्तिशाली सेना युद्ध रोक्ने, आक्रमण निरुत्साहित गर्ने र शान्तिपूर्ण विकासलाई विश्वसनीय सुरक्षा प्रदान गर्ने आधार बन्न सक्छ।

विश्व व्यवस्था अहिले गम्भीर संक्रमणबाट गुज्रिरहेको छ। सैन्य गठबन्धनको विस्तार, एकपक्षीय प्रतिबन्ध, प्रविधिमाथिको नियन्त्रण, समुन्द्री विवाद, युक्रेन संकट, पश्चिम एसियाको अस्थिरता र नयाँ हतियार प्रतिस्पर्धाले सुरक्षा र विकासबीचको सम्बन्धलाई झन जटिल बनाएका छन्।

यस्तो अवस्थामा चीनको सैन्य आधुनिकीकरणबारे मूल प्रश्न चीन कति शक्तिशाली बन्छ भन्ने मात्र होइन। त्यो शक्ति कुन सिद्धान्त, राजनीतिक उद्देश्य र अन्तर्राष्ट्रिय आचरणद्वारा निर्देशित हुन्छ भन्ने हो।

राष्ट्रिय शक्ति जनताको सुरक्षा, विकासको निरन्तरता, सार्वभौम निर्णय क्षमता र साझा सुरक्षाकालागि प्रयोग हुँदासम्म शान्तिको संरक्षक हुन सक्छ। शक्ति प्रभुत्व, घेराबन्दी, हस्तक्षेप वा अर्को राष्ट्रको राजनीतिक नियन्त्रणका लागि प्रयोग भएपछि मात्र त्यसले असुरक्षा उत्पादन गर्छ।

कूटनीतिभन्दा पुरानो पारिवारिक र राजनीतिक इतिहास

नेपाल–चीन सम्बन्धलाई यही सैद्धान्तिक धरातलमा बुझ्नुपर्छ। यो केवल ठूलो र सानो देशबीचको औपचारिक कूटनीतिक सम्बन्ध होइन। यो इतिहास, भूगोल, राजनीतिक सम्मान, सांस्कृतिक आदानप्रदान र हिमालपार मानवीय सम्बन्धबाट निर्मित बहुस्तरीय संरचना हो।

नेपाल र चीनबीचको सम्बन्ध सन् १९५५ अगस्त १ मा सिर्जना भएको होइन। त्यस दिनले शताब्दीयौँदेखि विकसित सभ्यतागत, धार्मिक, व्यापारिक, राजनीतिक र पारिवारिक सम्बन्धलाई आधुनिक राष्ट्र–राज्यको औपचारिक संरचना प्रदान गरेको हो।

आधुनिक राजनीतिक सीमारेखा स्थापित हुनुअघि हिमाल स्थिर सीमा वा कठोर भौगोलिक बन्धन थिएन। यो उच्चभूमि र उपत्यका, राजदरबार र धार्मिक केन्द्र, व्यापारिक मार्ग र तीर्थस्थल तथा विभिन्न मानव समुदायलाई जोड्ने विस्तृत सभ्यतागत क्षेत्र थियो।

पश्चिम नेपालको खस साम्राज्यलाई केवल वर्तमान नेपालको एउटा मध्यकालीन राज्यका रूपमा बुझ्नु त्यसको वास्तविक ऐतिहासिक प्रभावलाई सीमित गर्नु हो। खस शक्ति हिमालको दक्षिणी भूभागमा मात्र सीमित थिएन। यसको राजनीतिक, व्यापारिक, सांस्कृतिक र धार्मिक सम्पर्क हिमालपारका भूभाग, पश्चिमी सिचाङ, कुमाउँ, गढवाल तथा उच्चभूमिका व्यापारिक र धार्मिक केन्द्रसम्म विस्तारित थियो।

वसुधा पाण्डेको “Borders in the Age of Empire and Nation-States: The Honeycomb of Borderlands: Kumaun, Western Tibet and Far Western Nepal” शीर्षक अध्ययनले पश्चिम नेपाल, कुमाउँ र पश्चिमी सिचाङलाई ऐतिहासिक रूपमा अन्तर्सम्बन्धित हिमाली क्षेत्रका रूपमा विश्लेषण गरेको छ। फरहाना इब्राहिम र तनुजा कोठियालद्वारा सम्पादित ‘South Asian Borderlands’ पुस्तकमा क्याम्ब्रिज युनिभर्सिटी प्रेसबाट सन् २०२१ मा पृष्ठ ४४–७९ मा प्रकाशित उक्त अध्ययनले आधुनिक राष्ट्र–राज्यको निर्माणअघि हिमालपारका समाजहरू व्यापार, कर प्रणाली, स्थानीय शासन, धार्मिक अभ्यास र मानवीय आवागमनका जटिल सञ्जालद्वारा जोडिएका थिए भन्ने बुझ्न सहयोग गर्छ।

यही विस्तृत ऐतिहासिक पृष्ठभूमिभित्र खस राजपरिवार र आजको सिचाङ क्षेत्रमा रहेको तिब्बती राजपरिवारबीच स्थापित पारिवारिक तथा राजनीतिक सम्बन्धलाई राखेर अध्ययन गर्नुपर्छ।

दुल्लु र सिञ्जाका शिलालेखको महत्व

डा. शुभद्रा सुब्बा दाहालले दैलेखको दुल्लु र जुम्लाको सिञ्जामा रहेका शिलालेख, भाषिक प्रमाण तथा खस–मल्ल इतिहासको अध्ययन मार्फत पश्चिम नेपाल र हिमालपारको राजनीतिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने महत्वपूर्ण आधार प्रस्तुत गर्नुभएको छ।

दुल्लुको सन् १३५४ को शिलालेखमा खस–मल्ल राजाहरूको वंशक्रम उल्लेख छ। डा. दाहालले अध्ययन गर्नुभएको अभिलेखीय परम्परामा कतिपय शिलालेख तिब्बती लिपिमा लेखिएको “ॐ मणि पद्मे हुँ” मन्त्रबाट शुरु भएर संस्कृत र सिञ्जाली भाषाको पाठमा अघि बढेको देखिन्छ।

एउटै अभिलेखीय संरचनामा तिब्बती लिपि, बौद्ध मन्त्र, संस्कृत र सिञ्जाली भाषाको उपस्थितिले खस राज्यको बहुभाषिक, बहुसांस्कृतिक तथा हिमालपार चरित्रलाई स्पष्ट संकेत गर्छ। यो केवल भाषिक विविधताको प्रमाण होइन। यसले त्यस समयको राजनीतिक संरचना, धार्मिक प्रभाव, जनसम्पर्क र उत्तर–दक्षिण सभ्यतागत सम्बन्धलाई पनि प्रतिबिम्बित गर्छ।

डा. दाहालको अध्ययनले सन् १२९५ र सन् १३०५ का घटनाको सम्पूर्ण विवरण प्रत्यक्ष रूपमा अभिलेखित गरेको दाबी गर्नु शैक्षिक रूपमा उचित हुँदैन। तर उहाँको शिलालेखीय अनुसन्धानले खस साम्राज्यको वंशक्रम, भाषिक स्वरूप र हिमालपार सम्बन्ध बुझ्ने आधार प्रदान गर्छ। यही ऐतिहासिक ढाँचालाई अन्य वंशावली, स्थानीय परम्परा र पूर्वप्रकाशित अध्ययनसँग जोडेर खस तथा तिब्बती राजपरिवारबीचको सम्बन्धको पुनर्पाठ गर्न सकिन्छ।

सन् १२९५ : पारिवारिक सम्बन्धबाट राजनीतिक जिम्मेवारीसम्म

मेरो पूर्वप्रकाशित ऐतिहासिक अध्ययनअनुसार खस राजाका दुई छोरीमध्ये जेठी छोरीको विवाह सिचाङका (तिब्बती) राजाका भाइसँग भएको थियो।

यो विवाह केवल दुई राजपरिवारबीचको औपचारिक वैवाहिक सम्बन्ध थिएन। यसले हिमालका दुवैतर्फका दुई राजनीतिक परम्पराबीच विश्वास, उत्तराधिकार, शासन र पारिवारिक साझेदारीको संरचना निर्माण गरेको थियो।

सन् १२९५ मा खस राजाले आफ्नो छाेरा नभएकाले आफ्नी जेठी छोरी र तिब्बती राजपरिवारबाट आएका ज्वाइँलाई राजकाज सञ्चालन गर्ने जिम्मेवारी दिनुभएको ऐतिहासिक विवरण पाइन्छ।

मध्यकालीन विश्व राजनीतिमा विवाहका माध्यमबाट मैत्री सम्बन्ध स्थापना भएका धेरै उदाहरण छन्। राजकीय विवाहहरू प्रायः युद्ध रोक्न, भूभागीय समझदारी कायम गर्न वा अस्थायी गठबन्धन बनाउन प्रयोग भएका थिए। तर छोरी र ज्वाइँलाई शासन सञ्चालनको वास्तविक जिम्मेवारी समेत प्रदान गरेर दुई हिमाली राजपरिवारलाई एउटै राजनीतिक संरचनामा जोडिएको यस्तो उदाहरण अत्यन्त दुर्लभ छ।

यसले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध व्यापारिक सम्पर्क, धार्मिक यात्रा वा सांस्कृतिक आदानप्रदानमा मात्र सीमित नभएको देखाउँछ। त्यो सम्बन्ध पारिवारिक विश्वासबाट राजनीतिक उत्तरदायित्व र राजकाज सञ्चालनसम्म पुगेको थियो।

एउटै विस्तारित राजकीय परिवारका सदस्यका रूपमा शासन सञ्चालन गर्ने व्यवस्था निर्माण हुनु नेपाल–चीन ऐतिहासिक सम्बन्धको विश्वमै विशिष्ट उदाहरण हो।

विवाहले दुई राजपरिवारलाई जोड्यो। राजकाजको जिम्मेवारीले दुई राजनीतिक परम्परालाई जोड्यो। त्यस सम्बन्धको स्थायी स्मृतिले काँक्रेविहारजस्तो सभ्यतागत सम्पदा जन्मायो।

सन् १३०५ : पारिवारिक र राजनीतिक सम्बन्धको स्मारक

मेरो पूर्वप्रकाशित अध्ययनमा समेटिएको ऐतिहासिक विवरण अनुसार उक्त पारिवारिक तथा राजनीतिक सम्बन्धलाई स्थायी स्मृतिमा रूपान्तरण गर्न सन् १३०५ मा सुर्खेतमा काँक्रेविहार निर्माण गरिएको थियो। जाे पछि महाभुकम्पले भत्कियाे र अहिलेसम्म त्यसका अवशेष सुरक्षित छन्। अध्ययन र परिकल्पनाका अाधारमा केही बर्षअघि विहार पुननिर्माण गरिएको छ। यसक्रममा विहारको कतिपय भाग अध्ययन अनुसन्धानका नाममा कतिपय देशहरूमा अनाधिकृत रुपमा पुर्याइएकाे हुनाले अध्ययनलाई पूर्णता दिन कठिनाइ भएको छ।

यस दृष्टिले काँक्रेविहार केवल धार्मिक स्थल, कलात्मक संरचना वा पुरातात्त्विक सम्पदा होइन। यो खस राजपरिवार र तिब्बती राजपरिवारबीच स्थापित वैवाहिक, राजनीतिक र पारिवारिक सम्बन्धको भौतिक स्मारक हो।

काँक्रेविहारको निर्माणकर्ता, प्रारम्भिक निर्माणकाल र त्यससँग सम्बन्धित राजनीतिक घटनाबारे विभिन्न मत पाइन्छन्। त्यसैले सन् १३०५ को मिति र राजकीय सम्बन्ध सम्बन्धी विवरणलाई दुल्लु तथा सिञ्जाका शिलालेख, स्थानीय वंशावली, तिब्बती अभिलेख र पुरातात्त्विक प्रमाणसँग तुलना गरेर थप अध्ययन गर्नु आवश्यक छ।

काँक्रेविहारको बौद्ध–हिन्दु कलात्मक समन्वय

काँक्रेविहारमा देखिने बौद्ध तथा हिन्दु कलात्मक तत्वको सहअस्तित्वलाई सामान्य दाबीका रूपमा मात्र प्रस्तुत गर्नु पर्याप्त हुँदैन। त्यसको भौतिक अभिव्यक्ति मूर्ति, चिह्न र कुँदिएका दृश्यहरूमा देखिन्छ।

काँक्रेविहारबाट प्राप्त कलात्मक अवशेषमा बुद्धको जीवनसँग सम्बन्धित कथात्मक दृश्य, बुद्धका मूर्ति, पद्म, तारा र जाम्भला जस्ता बौद्ध परम्परासँग सम्बन्धित आकृति पाइन्छन्। त्यही परिसरमा सरस्वती, गणेश र विष्णुजस्ता हिन्दु परम्परामा प्रमुख रूपमा पूजित देवी–देवताका मूर्ति तथा चिह्न पनि फेला परेको विवरण छ।

तारा र जाम्भलाको उपस्थिति महायान तथा वज्रयान बौद्ध परम्परासँग सम्बन्धित छ। बुद्धको जीवनका घटनालाई शिलामा कुँदिएका कथात्मक दृश्यले काँक्रेविहारको बौद्ध धार्मिक आधारलाई स्पष्ट गर्छन्। अर्कोतर्फ गणेश, विष्णु र सरस्वतीका आकृतिले त्यस समयको कलात्मक वातावरणमा हिन्दु परम्पराको प्रभाव र स्वीकार्यता देखाउँछन्।

सरस्वतीजस्ता केही देवीको उपासना हिन्दु र बौद्ध दुवै परम्परामा पाइने भएकाले काँक्रेविहारको कलालाई दुई कठोर धार्मिक वर्गमा विभाजन गरेर मात्र हेर्नु पनि पर्याप्त हुँदैन। यसका मूर्तिकलाले धार्मिक परम्पराहरूबीचको संवाद, परस्पर प्रभाव र साझा हिमाली कलात्मक भाषा प्रतिबिम्बित गर्छ।

यसैले काँक्रेविहारको बौद्ध–हिन्दु समन्वय केवल दुई प्रकारका मूर्ति एउटै स्थानमा राखिएको अवस्था होइन। यो धार्मिक दर्शन, प्रतीक, वास्तुकला र स्थानीय सामाजिक जीवन एकअर्कासँग अन्तर्क्रिया गर्दै विकसित भएको सभ्यतागत प्रक्रिया हो।

काँक्रेविहारले परिवार, शासन, धर्म, कला र राजनीतिक विश्वासलाई एउटै ऐतिहासिक संरचनामा जोड्छ। यसको प्रत्येक शिला वास्तुकलाको अंश मात्र होइन। त्यो हिमालपार पारिवारिक सम्बन्ध, राजनीतिक सहकार्य र साझा सभ्यताको मौन अभिलेख हो।

संयुक्त अनुसन्धानको आवश्यकता

काँक्रेविहारको निर्माणकाल, संरक्षक राजपरिवार, वैवाहिक सम्बन्ध, शासन सञ्चालनको जिम्मेवारी र त्यस समयको राजनीतिक भूगोलमाथि नेपाल र चीनका विद्वान्ले संयुक्त अनुसन्धान गर्नुपर्छ।

दुल्लु र सिञ्जाका शिलालेख, स्थानीय वंशावली, तिब्बती अभिलेख, पुरातात्त्विक वस्तु, धार्मिक परम्परा र भाषिक प्रमाणलाई एउटै तुलनात्मक अनुसन्धान ढाँचामा राख्न सकिन्छ।

विशेषतः तीनवटा विषयमाथि व्यवस्थित अनुसन्धान आवश्यक छ। पहिलो, सन् १२९५ को राजकाज सञ्चालन सम्बन्धी जिम्मेवारीको वंशावलीगत र अभिलेखीय आधार। दोस्रो, सन् १३०५ को काँक्रेविहार निर्माणसँग खस तथा तिब्बती राजपरिवारको सम्बन्ध। तेस्रो, काँक्रेविहारमा प्राप्त मूर्तिकला र सिचाङ तथा पश्चिम नेपालमा विकसित समकालीन कलाशैलीबीचको तुलनात्मक सम्बन्ध।

नेपाल र चीनका विश्वविद्यालय, इतिहासकार, पुरातत्वविद, अभिलेखविद, भाषाविद, बौद्ध अध्ययन केन्द्र तथा सिचाङ अध्ययनका विशेषज्ञले यस्तो संयुक्त अनुसन्धान आरम्भ गर्नुपर्छ।

यो अतीतको गौरव खोज्ने भावनात्मक प्रयास मात्र हुनेछैन। यसले आधुनिक नेपाल–चीन सम्बन्धको ऐतिहासिक र सभ्यतागत आधारलाई प्रमाणिक ज्ञानको संरचना प्रदान गर्नेछ।

भृकुटी र स्रोङचन गम्पोसँग जोडिएको ऐतिहासिक स्मृति, अरनिकोको चीन यात्रा, बेइजिङको श्वेत चैत्य, दुल्लु र सिञ्जाका शिलालेख, खस राजपरिवारको हिमालपार वैवाहिक सम्बन्ध, सन् १२९५ को राजकाज सञ्चालन सम्बन्धी जिम्मेवारी र सन् १३०५ को काँक्रेविहार निर्माणलाई एउटै ऐतिहासिक श्रृंखलामा राख्दा नेपाल–चीन सम्बन्धको वास्तविक गहिराइ प्रकट हुन्छ।

यसलाई केवल सांस्कृतिक आदानप्रदान भन्नु पर्याप्त हुँदैन। यो प्राचीन पारिवारिक कूटनीतिको उच्चतम रूप थियो। यहाँ राजकीय विवाहले राजनीतिक विश्वास निर्माण गर्‍यो। विश्वासले राजकाज सञ्चालनको जिम्मेवारी हस्तान्तरण गर्‍यो। त्यस सम्बन्धले काँक्रेविहारजस्तो स्थायी सभ्यतागत स्मारक जन्मायो।

यसकारण “हिमाली सभ्यतागत पारिवारिक सम्बन्ध” कुनै आलङ्कारिक वा भावनात्मक पदावली होइन। यो इतिहासमा अभिव्यक्त राजकीय विवाह, पारिवारिक शासन, राजनीतिक विश्वास, धार्मिक सहअस्तित्व, कलात्मक सिर्जना र हिमालपार सम्बन्धलाई व्याख्या गर्ने विश्लेषणात्मक अवधारणा हो।

आधुनिक रणनीतिक साझेदारीको नैतिक आधार

यो ऐतिहासिक आधारले आधुनिक नेपाल–चीन रणनीतिक साझेदारीको नैतिक संरचनालाई गहिरो अर्थ दिन्छ। सन् १९५५ पछि दुवै देशले पञ्चशीलका सिद्धान्तलाई सम्बन्धको आधार बनाएका छन्। एकअर्काको सार्वभौमिकता र भूक्षेत्रीय अखण्डताको सम्मान, गैरहस्तक्षेप, समानता, पारस्परिक लाभ र शान्तिपूर्ण सहअस्तित्व यस सम्बन्धका स्थायी स्तम्भ हुन्।

शक्तिको आकारमा ठूलो अन्तर भएका दुई राष्ट्र पनि सार्वभौम समानताका आधारमा सम्मानजनक सम्बन्ध विकास गर्न सक्छन् भन्ने उदाहरण नेपाल र चीनले प्रस्तुत गरेका छन्। सात दशकभन्दा लामो आधुनिक कूटनीतिक यात्रामा दुवै देशबीच कुनै आधारभूत राजनीतिक द्वन्द्व उत्पन्न नहुनु सामान्य उपलब्धि होइन।

चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भूक्षेत्रीय अखण्डता र नेपाली जनताले चयन गरेको विकास मार्गप्रति निरन्तर सम्मान व्यक्त गर्दै आएको छ। नेपालले पनि जनवादी गणतन्त्र चीनलाई सम्पूर्ण चीनको एकमात्र वैधानिक प्रतिनिधि मान्दै एक चीन सिद्धान्तप्रतिको स्पष्ट प्रतिबद्धता कायम गरेको छ।

नेपालको भूमिलाई चीनको सार्वभौमिकता, सुरक्षा र राष्ट्रिय हितविरुद्ध प्रयोग हुन नदिने नीति चीनप्रतिको मित्रताको औपचारिक अभिव्यक्ति मात्र होइन। यो नेपालको स्वतन्त्र परराष्ट्र नीति, छिमेकीप्रतिको जिम्मेवारी र सार्वभौमिक समानताप्रतिको नैतिक सुसंगतताको विषय हो।

आफ्नो राष्ट्रिय अखण्डता, सार्वभौमिकता र गैरहस्तक्षेपको सम्मान माग्ने राष्ट्रले अर्को राष्ट्रका वैधानिक राष्ट्रिय एकता सम्बन्धी चिन्तालाई पनि समान सिद्धान्तबाट हेर्नुपर्छ। यही कारण एक चीन सिद्धान्त नेपालका लागि बाह्य अनुरोध वा कूटनीतिक औपचारिकता मात्र हुन सक्दैन।

ताइवान र मातृभूमिको शान्तिपूर्ण पुनःएकीकरण

ताइवान चीनको अविभाज्य भूभाग हो। ताइवान जलडमरूका दुवैतर्फका जनता साझा इतिहास, संस्कृति, भाषा, सभ्यता र पुर्ख्यौली सम्बन्धद्वारा जोडिएका एउटै चिनियाँ परिवारका सदस्य हुन्।

ताइवान प्रश्नलाई चीनविरुद्ध बाह्य सैन्य तथा रणनीतिक दबाबको साधन बनाउनु क्षेत्रीय शान्तिको हितमा छैन। ताइवानको ऐतिहासिक, राजनीतिक र सामाजिक जटिलता वास्तविक छ। तर त्यसको समाधान बाह्य सैन्य घेराबन्दी, पृथकतावादको प्रोत्साहन वा महाशक्ति प्रतिस्पर्धाबाट सम्भव हुँदैन।

ताइवान प्रश्न चिनियाँ जनताको राष्ट्रिय एकता र मातृभूमिको पूर्ण पुनःएकीकरणसँग सम्बन्धित आन्तरिक विषय हो। यसको दीर्घकालीन र न्यायपूर्ण समाधान ताइवान जलडमरूका दुवैतर्फका चिनियाँ जनताको हित, संवाद, ऐतिहासिक सम्बन्ध र बाह्य हस्तक्षेपरहित शान्तिपूर्ण प्रक्रियाबाट खोजिनुपर्छ।

चीनले शान्तिपूर्ण पुनःएकीकरणलाई पहिलो प्राथमिकताका रूपमा प्रस्तुत गर्दै आएको छ। यो बाटो चीनको राष्ट्रिय हितसँग मात्र होइन, ताइवानका जनताको आर्थिक समृद्धि, सामाजिक स्थिरता र दीर्घकालीन सुरक्षासँग पनि सम्बन्धित छ।

एक नेपाली अध्येता र नेपाल–चीन मित्रताको पक्षधरका रूपमा म ताइवान मातृभूमि चीनमा शान्तिपूर्ण रूपमा पुनःएकीकृत भएको दिन यथाशीघ्र देख्न चाहन्छु। यो संवाद, ऐतिहासिक सत्य, चिनियाँ जनताको साझा निर्णय र बाह्य हस्तक्षेपरहित प्रक्रियाबाट राष्ट्रिय एकता पूरा भएको देख्ने आकाङ्क्षा हो।

ताइवानको शान्तिपूर्ण पुनःएकीकरण चीनको राष्ट्रिय पुनरुत्थानको उपलब्धिमा मात्र सीमित रहने छैन। यसले बाह्य सैन्य हस्तक्षेपमाथि एसियाली राजनीतिक स्वायत्तता, विभाजनमाथि सभ्यतागत एकता र टकरावमाथि संवादको विजय प्रतिनिधित्व गर्न सक्छ।

बफर होइन, सार्वभौम सेतु राष्ट्र

नेपालले चीनलाई केवल आर्थिक श्रोत, दाता वा उत्तरी विकल्पका रूपमा हेर्नु हुँदैन। चीनले पनि नेपाललाई भूराजनीतिक बफर वा दक्षिण एसियातर्फ जाने मार्गका रूपमा मात्र बुझ्नु हुँदैन। दुवै दृष्टिकोण अपूर्ण छन्।

बफर भयद्वारा व्याख्या गरिएको भूगोल हो। सेतु आत्मविश्वास, पूर्वाधार, उत्पादन क्षमता र राष्ट्रिय उद्देश्यद्वारा रूपान्तरण गरिएको भूगोल हो।

नेपालको भविष्य निष्क्रिय बफर मानसिकतामा होइन, चीन र दक्षिण एसियालाई जोड्ने सक्रिय, सार्वभौम र आत्मविश्वासी सेतु राष्ट्रको भूमिकामा छ। नेपाल व्यापार, संस्कृति, ज्ञान, पर्यटन, ऊर्जा, डिजिटल सम्पर्क र मानवीय सहकार्यको केन्द्र बन्न सक्छ।

नेपालको भूगोल कमजोरी होइन। स्पष्ट राष्ट्रिय रणनीति, कूटनीतिक दक्षता, आधुनिक पूर्वाधार, उत्पादन क्षमता र राजनीतिक आत्मविश्वास भए हिमाली भूगोल असाधारण अवसरको आधार बन्न सक्छ।

ट्रान्स–हिमालय बहुआयामिक सम्पर्क सञ्जाल यस अवधारणाको आधुनिक संस्थागत रूप हो। सडक, रेलमार्ग, हवाई सम्पर्क, विद्युत प्रसारण, डिजिटल सञ्जाल, व्यापारिक पूर्वाधार, पर्यटन र सांस्कृतिक मार्गले नेपाललाई चीनको बजार र विकास क्षमतासँग जोड्न सक्छ।

तर सम्पर्कको सफलता सडकको किलोमिटर, पुलको सङ्ख्या वा हस्ताक्षरित समझदारीबाट मात्र मापन गर्नु हुँदैन। त्यसले नेपालको उत्पादन क्षमता कति बढायो, नेपाली वस्तुले चिनियाँ बजारमा कति पहुँच पाए, स्थानीय रोजगारी कति सिर्जना भयो, प्रविधि हस्तान्तरण कति भयो र नागरिकको जीवनमा कति परिवर्तन आयो भन्ने आधारमा मूल्याङ्कन हुनुपर्छ।

सम्पर्कको अर्थ चीनबाट नेपालतर्फ वस्तु आउने मार्ग विस्तार गर्नु मात्र होइन। वास्तविक रणनीतिक साझेदारीले नेपाली कृषि उत्पादन, जडीबुटी, हस्तकला, स्वच्छ ऊर्जा, पर्यटन, सांस्कृतिक सामग्री, सूचना प्रविधि र सेवाहरूलाई चिनियाँ बजारसम्म पुर्‍याउने संरचना निर्माण गर्नुपर्छ।

यसका लागि गुणस्तर प्रमाणीकरण, भण्डारण, शीत श्रृंखला, भाषा शीप, भन्सार क्षमता, डिजिटल व्यापार, व्यावसायिक तालिम र निर्यातमुखी उत्पादनमा लगानी आवश्यक छ।

बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालले भूराजनीतिक प्रचार वा बाह्य दबाबका आधारमा होइन, आफ्नो दीर्घकालीन राष्ट्रिय हितका आधारमा मूल्याङ्कन गर्नुपर्छ। आर्थिक सम्भाव्यता, पारदर्शिता, उपयुक्त वित्तीय शर्त, वातावरणीय सुरक्षा, स्थानीय सहभागिता, प्रविधि हस्तान्तरण र नेपालको सार्वभौम निर्णय क्षमता प्रत्येक परियोजनाका अनिवार्य मापदण्ड हुनुपर्छ।

चीनसँग रणनीतिक साझेदारी विकास गर्नु अर्को कुनै देशविरुद्ध उभिनु होइन। नेपालले चीन, भारत, अमेरिका, रुस, युरोप र विश्वका अन्य देशसँग स्वतन्त्र, सन्तुलित र पारस्परिक लाभमा आधारित सम्बन्ध विकास गर्न सक्छ।

तर सन्तुलनको अर्थ प्रत्येक बाह्य दबाब स्वीकार गर्नु होइन। वास्तविक सन्तुलन रणनीतिक स्वायत्तता, स्पष्ट राष्ट्रिय प्राथमिकता र स्वतन्त्र निर्णय क्षमतामा आधारित हुन्छ।

हिमाली मानवीय सुरक्षाको रणनीतिक साझेदारी

नेपाल–चीन रणनीतिक साझेदारीको अर्को महत्वपूर्ण क्षेत्र हिमाली मानवीय सुरक्षा हो। भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट, चरम मौसम र जलवायु परिवर्तनले दुवै देशलाई प्रभावित गर्छन्। यी जोखिम कुनै राजनीतिक सीमारेखाभित्र मात्र सीमित रहँदैनन्।

नेपाल र चीनले उपग्रह सूचना, मौसम विज्ञान, हिमताल निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, खोज तथा उद्धार, आपत्कालीन स्वास्थ्य सेवा र विपदपछिको पुनर्निर्माणमा दीर्घकालीन संस्थागत सहकार्य निर्माण गर्न सक्छन्।

चिनियाँ जनमुक्ति सेनाको प्राविधिक क्षमता र नेपाली सेना लगायत नेपालका सुरक्षा निकायको स्थानीय अनुभवबीच विपद व्यवस्थापन, स्वास्थ्य उद्धार, संयुक्त तालिम र मानवीय सहायता क्षेत्रमा व्यावसायिक सहकार्य उपयोगी हुन सक्छ।

यस्तो सहकार्य सैन्य गठबन्धन होइन। यो मानव जीवन बचाउने, आपत्कालीन शीप आदानप्रदान गर्ने र हिमाली क्षेत्रको सामूहिक सुरक्षा क्षमता सुदृढ गर्ने व्यावहारिक रणनीतिक साझेदारी हो।

सुरक्षाको आधुनिक अवधारणा सैनिक खतरा रोक्ने विषयमा मात्र सीमित छैन। खाद्य, स्वास्थ्य, जलवायु, ऊर्जा, साइबर प्रणाली, सूचना र विपद व्यवस्थापन समेत राष्ट्रिय सुरक्षाका अभिन्न आयाम हुन्। नेपाल–चीन रणनीतिक साझेदारीको आगामी चरणले यी गैरपरम्परागत सुरक्षा चुनौतीलाई प्राथमिकतामा राख्नुपर्छ।

ज्ञान कूटनीति र इतिहासको पुनर्पाठ

नेपाल–चीन रणनीतिक साझेदारीको स्थायित्व कुनै सरकार, दल वा राजनीतिक विचारधाराको अस्थायी निकटतामा निर्भर हुनु हुँदैन। सरकार परिवर्तन हुन्छन्, राजनीतिक प्राथमिकता बदलिन्छन् र विश्वशक्ति समीकरण फेरिन्छ। तर ऐतिहासिक स्मृति, जनस्तरीय विश्वास, सांस्कृतिक सम्मान र पारस्परिक हित संस्थागत भए सम्बन्ध दीर्घजीवी हुन्छ।

यसका लागि सरकारी कूटनीतिभन्दा व्यापक ज्ञान कूटनीति र जनकूटनीति आवश्यक छ। पत्रकार, विश्वविद्यालय, अनुसन्धान संस्था, थिङ्कट्याङ्क, विद्यार्थी, कलाकार, व्यवसायी, स्थानीय सरकार र सामाजिक संस्थाबीच नियमित तथा संरचित संवाद हुनुपर्छ।

चिनियाँ विद्वानले नेपालको इतिहास, राजनीति र सभ्यतालाई भारतकेन्द्रित वा पश्चिमी शैक्षिक संरचनाबाट मात्र अध्ययन गर्नु हुँदैन। नेपाली विद्वान्ले पनि चीनलाई पश्चिमी सञ्चारमाध्यमका राजनीतिक आख्यानबाट मात्र बुझ्नु हुँदैन।

प्रत्यक्ष भाषा अध्ययन, मौलिक अभिलेख, संयुक्त अनुसन्धान, पुरातात्त्विक अन्वेषण र हिमालपार इतिहासको पुनर्पाठ आवश्यक छ। नेपाली श्रोत चिनियाँ भाषामा र चिनियाँ श्रोत नेपाली भाषामा व्यवस्थित रूपमा अनुवाद गर्नुपर्छ।

खस साम्राज्य, सन् १२९५ को राजकीय जिम्मेवारी, सन् १३०५ को काँक्रेविहार निर्माण, भृकुटी, स्रोङचन गम्पो, अरनिको, श्वेत चैत्य र प्राचीन हिमालपार मार्गमाथिको संयुक्त अनुसन्धानले विगतको गौरव खोज्ने काम मात्र गर्ने छैन। यसले नेपाल–चीन रणनीतिक साझेदारीलाई आधुनिक भूराजनीतिक आवश्यकताभन्दा गहिरो सभ्यतागत, राजनीतिक र पारिवारिक आधार प्रदान गर्नेछ।

रणनीतिक साझेदारीको अर्थ

यस लेखमा “रणनीतिक साझेदारी” भन्नाले सैन्य गठबन्धन, कुनै तेश्राे देशविरुद्धको मोर्चाबन्दी वा असमान शक्ति सम्बन्धलाई जनाइएको होइन।

नेपाल–चीन रणनीतिक साझेदारी भन्नाले सार्वभौम समानता, एकअर्काका मूलभूत हितको सम्मान, गैरहस्तक्षेप, दीर्घकालीन नीतिगत समन्वय, पारस्परिक लाभ, पूर्वाधार तथा उत्पादनमूलक सम्पर्क, मानवीय सुरक्षा, ज्ञान कूटनीति र जनस्तरीय विश्वासमा आधारित सम्बन्धलाई जनाउँछ।

यस साझेदारीमा चीनको शक्ति नेपालको स्वतन्त्रतामाथि दबाब बन्नु हुँदैन र नेपालको भूगोल चीनविरुद्ध प्रयोग हुने रणनीतिक साधन बन्नु हुँदैन। चीनको विकास क्षमता नेपालको आर्थिक रूपान्तरणसँग र नेपालको सार्वभौम स्थिरता चीनको सुरक्षित तथा मित्रवत छिमेकसँग जोडिनुपर्छ।

इतिहासबाट साझा भविष्यतर्फ

नानचाङले राष्ट्रिय शक्ति, त्याग र सार्वभौमिकताको रक्षा गर्ने राजनीतिक संकल्पको इतिहास बोकेको छ। काँक्रेविहारले हिमालपार विकसित राजकीय, सांस्कृतिक, राजनीतिक र पारिवारिक सम्बन्धको स्मृति संरक्षण गरेको छ। आधुनिक काठमाडौँ–बेइजिङ रणनीतिक साझेदारीले यी दुई ऐतिहासिक धारालाई सार्वभौम समानता, शान्तिपूर्ण विकास र साझा भविष्यको संस्थागत मार्गमा जोड्न सक्छ।

नेपाल र चीन केवल हिमालले जोडिएका छिमेकी होइनन्। उनीहरू इतिहासले परिवार बनाएका, राजनीतिक विश्वासले जोडिएका र सार्वभौम सम्मानले साझेदार बनाएका दुई प्राचीन सभ्यता हुन्।

यही नानचाङदेखि काँक्रेविहार र काँक्रेविहारदेखि काठमाडौँ–बेइजिङ साझा भविष्यसम्मको सम्बन्धको गहिरो अर्थ हो।

लेखक: प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार र अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुनुहुन्छ। उहाँले नेपाल-चीन सम्बन्ध, हिमालय क्षेत्रको भू-राजनीति, र एसियाली सुरक्षा मुद्दाहरूमा गहन अध्ययन गर्नुभएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button