ब्रोड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको निधन

ड्रागन मिडिया समाचार कक्ष
विश्व पर्वतारोहण क्षेत्रमा ‘निम्सदाइ’का नामले सुपरिचित ४३ वर्षीय निर्मल पुर्जाको पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको छ।
पुर्जाले सहसंस्थापकका रूपमा सञ्चालन गर्दै आएको आरोहण कम्पनी एलिट एक्सपेडले शनिबार उनको निधन पुष्टि गरेको हो। कम्पनीका अनुसार हिमपहिरोमा परेका अभियानका अन्य सदस्य पनि जीवित रहेनन्।
पाकिस्तानको गिल्गित–बल्तिस्तान क्षेत्रमा रहेको करिब ८,०५० मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्यान्ह हिमपहिरो गएको थियो। विश्वको १२औँ अग्लो हिमाल मानिने ब्रोड पिकको आरोहणमा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय टोली सहभागी थियो।
टोलीमा नेपालका छ, पाकिस्तान, ओमान, अमेरिका र चीनका एक–एक आरोही रहेका थिए। उद्धार टोलीले ड्रोन र हवाई निगरानीमार्फत शव रहेका स्थान पहिचान गरे पनि कठिन भूगोल र प्रतिकूल मौसमका कारण सबै शव तत्काल तल ल्याउन सकेको छैन।
म्याग्दीको दाना क्षेत्रमा करिब एक हजार ६ सय मिटर उचाइमा रहेको गाउँमा सन् १९८३ मा जन्मिएका पुर्जा गोर्खा सैनिक परिवारका सदस्य थिए। पारिवारिक परम्परा पछ्याउँदै उनी सन् २००३ मा बेलायती सेनाको गोर्खा ब्रिगेडमा भर्ना भएका थिए। त्यतिबेला उनी करिब २० वर्षका थिए।
सन् २००९ मा उनी बेलायतको विशिष्ट स्पेसल बोट सर्भिसमा छनोट भएका थिए। उक्त विशिष्ट सैन्य एकाइमा प्रवेश गर्ने पहिलो गोर्खा बनेका पुर्जाले बेलायती सेनामा करिब १६ वर्ष सेवा गरेका थिए।
सैन्य सेवामै रहँदा पर्वतारोहणप्रति आकर्षित भएका पुर्जाले सन् २०१२ मा ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरेर हिमाल यात्राको शुरुवात गरेका थिए। पर्वतारोहणमा पूर्णकालीन रूपमा समर्पित हुन उनले सन् २०१८ मा सैन्य सेवाबाट राजीनामा दिएका थिए।
उच्च हिमाली पर्वतारोहणमा पुर्याएको योगदानका लागि उनलाई सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ अर्थात् एमबीई सम्मान प्रदान गर्नुभएको थियो।
पुर्जाले सन् २०१९ मा ‘प्रोजेक्ट पोसिबल १४–७’ अभियानअन्तर्गत आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल छ महिना छ दिनमा सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
त्यसअघि सबै १४ हिमाल आरोहण गर्न वर्षौँ लाग्ने गरेको अवस्थामा उनले १८९ दिनमै अभियान पूरा गरेर मानव सहनशीलता, टोली व्यवस्थापन र उच्च हिमाली आरोहणको स्थापित मान्यतालाई पुनःपरिभाषित गरेका थिए।
उनको उक्त कीर्तिमान सन् २०२३ मा नर्वेकी आरोही क्रिस्टिन हारिलाले तीन महिना एक दिनमा सबै १४ हिमाल आरोहण गरेपछि तोडिएको थियो।
पुर्जाको अभियानमा आधारित वृत्तचित्र ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा सार्वजनिक भएपछि उनी विश्वभर थप चर्चित बनेका थिए। उक्त वृत्तचित्रले नेपाली आरोहीहरूको शीप, साहस र उच्च हिमाली अभियानमा रहेको निर्णायक भूमिकालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याएको थियो।
पुर्जा सन् २०२१ मा हिउँदमा पहिलोपटक केटु हिमाल आरोहण गर्ने नेपाली टोलीका सदस्यसमेत थिए। उक्त उपलब्धिलाई विश्व पर्वतारोहण इतिहासको एउटा महत्वपूर्ण अध्याय मानिन्छ।
सन् २०१९ को मे महिनामा सगरमाथाको चुचुरोनजिक आरोहीहरूको लामो लाइन देखिने गरी उनले खिचेको तस्बिर विश्वभर सार्वजनिक भएको थियो। उक्त तस्बिरले सगरमाथामा बढिरहेको भीड, व्यावसायीकरण र जोखिमपूर्ण ‘ट्राफिक जाम’बारे अन्तर्राष्ट्रिय बहस सिर्जना गरेको थियो।
कीर्तिमानी आरोहणपछि उनले उच्च हिमाली अभियान सञ्चालन गर्ने कम्पनी र आफ्नै पोषाक ब्रान्ड स्थापना गरेका थिए। उनका अभियानले नेपाली तथा शेर्पा आरोहीलाई सहायक जनशक्तिका रूपमा मात्र नभई विश्वस्तरीय नेतृत्वकर्ताका रूपमा स्थापित गर्न सहयोग गरेको मानिन्छ।
ख्यातिसँगै पुर्जाले आलोचना र विवादको पनि सामना गरेका थिए। सन् २०२४ मा न्युयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा दुई महिलाले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए। पुर्जाले आफ्ना कानुनी प्रतिनिधिमार्फत आरोप अस्वीकार गरेका थिए।
उनको निधनपछि नेपालसहित विश्वभरका पर्वतारोही, उद्धारकर्मी र शुभेच्छुकले शोक व्यक्त गरेका छन्। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले पुर्जासहित आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित र प्रेरणादायी रहने बताउनुभएको छ।
पुर्जाको निधनलाई विश्व उच्च हिमाली पर्वतारोहण क्षेत्रले साहसिक आरोहण, नेतृत्व र नेपाली पर्वतारोहीको अन्तर्राष्ट्रिय पहिचानमा गहिरो प्रभाव पारेका व्यक्तिको अपूरणीय क्षतिका रूपमा लिएको छ।





