१७ भाद्र २०८३, बुधबार

पदभन्दा संस्थाको प्रतिष्ठा ठूलो

# तोपबहादुर थापा

नेपालगञ्ज उद्योग वाणिज्य संघको चार–पाँच दशक लामो यात्रालाई फर्केर हेर्दा यस संस्थाले अनेक उतारचढाव पार गरेको छ। समयसँगै नेतृत्व फेरिएका छन्, परिस्थिति बदलिएका छन्, उद्योगी–व्यवसायीका चुनौती र अपेक्षा पनि परिवर्तन भएका छन्। तर यस्ता परिवर्तनबीच संस्थाले जोगाइराख्नुपर्ने एउटा मूल मूल्य भनेको लोकतान्त्रिक संस्कार, संस्थागत मर्यादा र व्यवसायीबीचको आपसी विश्वास हो।

यसपटक एउटा सकारात्मक अभ्यास स्थापित भएको अनुभूति भएको छ—निर्वाचनको मिति समयमै निर्धारण हुनु र अन्तिम क्षणसम्म पनि सर्वसम्मत नेतृत्व निर्माणको सम्भावना खोजिनु। अझ महत्वपूर्ण कुरा, संवाद र सहमतिलाई केवल औपचारिक प्रयासमा सीमित नराखी त्यसलाई मूर्तरूप दिने प्रयत्न हुनु हो।

मेरो बुझाइमा यही संस्कारले संस्थाको गरिमा जोगाउँछ।

यस सन्दर्भमा नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्ण श्रेष्ठले निर्वाह गर्नुभएको भूमिकालाई विशेष रूपमा स्मरण गर्नुपर्छ। संघको गुम्दै गएको प्रतिष्ठा पुनःस्थापित गर्ने, विभिन्न पक्षबीच संवादको वातावरण बनाउने र सहमतिका सम्भावना खोज्ने उहाँको प्रयास प्रशंसनीय छ। व्यक्तिगत आग्रह वा समूहगत स्वार्थभन्दा संस्थाको हितलाई माथि राखेर गरिने यस्ता प्रयास संस्थाको इतिहासमा सधैँ सकारात्मक रूपमा स्मरण गरिनुपर्छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ कुनै एउटा व्यक्ति, समूह वा निर्वाचनमा प्रतिस्पर्धा गर्ने पक्षको संस्था होइन। कोहलपुर क्षेत्रको पृथक संस्थागत संरचनाबाहेक बाँके जिल्लाका उद्योगी तथा व्यवसायीको यो साझा छाता संस्था हो। यसको सम्मान जोगाउने जिम्मेवारी नेतृत्वमा बस्ने व्यक्तिको मात्र होइन, यसमा आबद्ध प्रत्येक व्यवसायीको हो।

संस्था आखिर हाम्रै सहभागिताबाट चल्ने हो।

हामीले तिर्ने सदस्यता, दर्ता तथा नवीकरण शुल्कबाट कर्मचारीको तलब, बिजुली, पानी, कार्यालय व्यवस्थापन, अतिथि सत्कारदेखि संस्थाका नियमित गतिविधिसम्म सञ्चालन हुन्छन्। त्यसैले संघ बलियो हुनु भनेको कुनै पदाधिकारी मात्र बलियो हुनु होइन; बाँकेको समग्र व्यावसायिक समुदायको संस्थागत आवाज बलियो हुनु हो।

यही कारण सदस्यता र नवीकरणलाई निर्वाचनसँग मात्रै जोडेर हेर्नु उचित हुँदैन।

दुःखका साथ भन्नुपर्छ, पछिल्ला केही वर्षदेखि संघलाई निरन्तर माया गर्ने सीमित व्यवसायीले मात्र नियमित रूपमा आफ्नो फर्म नवीकरण गराउँदै आएका छन्। तर निर्वाचन नजिकिँदै जाँदा अचानक संघप्रतिको चासो बढ्ने, सदस्यता र नवीकरणको विषय विवादमा तानिने, संस्थाको प्रतिष्ठामाथि प्रश्न उठाउने तथा बजारमा विभिन्न किसिमका भ्रम र अफवाह फैलिने प्रवृत्ति पनि देखिन्छ।

प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार हो। संस्थाको कार्यशैलीमाथि आलोचना हुनु पनि स्वाभाविक हो। तर अरूमाथि प्रश्न उठाउनुअघि हामी प्रत्येकले आफ्नै दायित्व पनि समीक्षा गर्नुपर्छ।

मैले आफ्नो फर्म नियमित रूपमा नवीकरण गरेको छु कि छैन? संस्थाको आर्थिक र संस्थागत निरन्तरतामा मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु कि छैन? निर्वाचन नभएको समयमा पनि संस्थासँग मेरो सम्बन्ध उत्तिकै सक्रिय थियो कि थिएन?

यी प्रश्नको उत्तर हामी आफैँले दिनुपर्छ।

नेपाली समाजमा एउटा सान्दर्भिक भनाइ छ—एउटा औँला अरूतिर ठड्याउँदा बाँकी औँला आफूतिर फर्किएका हुन्छन्। त्यसैले संस्थाको कमजोरी खोज्नु आवश्यक छ भने आफ्नै जिम्मेवारीबारे आत्मसमीक्षा गर्नु पनि उत्तिकै आवश्यक छ।

अब हामीले विगतका विवादबाट पाठ सिकेर भविष्यका लागि स्पष्ट व्यवस्था बनाउनुपर्छ।

मेरो विचारमा नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति कम्तीमा एक वर्षअघि नै निर्धारण गर्ने व्यवस्था हुनुपर्छ। त्यस्तै, मतदान अधिकार प्राप्त गर्न निर्वाचन हुनुभन्दा कम्तीमा छ महिनाअघि नै आफ्नो फर्म तथा सदस्यता नवीकरण गरिसकेको हुनुपर्ने व्यवस्था विधानमै स्पष्ट रूपमा राख्न सकिन्छ।

यसो गर्दा निर्वाचनको मुखमा अस्वाभाविक रूपमा सदस्यता बढाउने, नवीकरणलाई निर्वाचन रणनीतिसँग जोड्ने वा मतदाता सूचीलाई लिएर विवाद सिर्जना हुने सम्भावना धेरै हदसम्म कम गर्न सकिन्छ।

मतदाता सात सय होऊन् वा आठ सय—त्यो दोस्रो विषय हो। संख्या ठूलो हुनु मात्रै संस्थागत लोकतन्त्रको मापदण्ड होइन। नियमित रूपमा संस्थासँग जोडिएका, आफ्नो दायित्व पूरा गरेका र संस्थाको भविष्यप्रति जिम्मेवार सदस्यको सहभागिता बढी महत्वपूर्ण हुन्छ।

चुनावभन्दा संस्थाको मर्यादा ठूलो हो।

मनोनयनको समय आउँदै गर्दा म अर्को कुरा पनि स्पष्ट गर्न चाहन्छु। यदि कोही साथी इमानदारीपूर्वक अघि आएर मभन्दा राम्रो नेतृत्व दिन सक्छु, संस्थालाई अझ उचाइमा पुर्‍याउन सक्छु, सम्पूर्ण उद्योगी–व्यवसायीलाई समेट्न सक्छु र संस्थाको प्रतिष्ठा अझ बलियो बनाउन सक्छु भन्ने विश्वास दिलाउन सक्नुहुन्छ भने म व्यक्तिगत रूपमा पछि हट्न तयार छु।

मेरो उद्देश्य पद प्राप्त गर्नु मात्र होइन।

तर नेतृत्व भनेको केवल नाम वा घोषणाले बन्ने विषय पनि होइन। जससँग सहकार्य गर्ने हो, उसलाई मैले नजिकबाट बुझेको हुनुपर्छ वा उसले मलाई नजिकबाट बुझेको हुनुपर्छ। एकअर्काको कार्यशैली, प्रतिबद्धता, व्यवसायीप्रतिको दृष्टिकोण र संस्थाप्रतिको निष्ठाबारे न्यूनतम विश्वास आवश्यक हुन्छ। संस्थाको जिम्मेवारी प्रयोगशाला होइन, जहाँ अपरिचित उद्देश्य र अस्पष्ट प्रतिबद्धतामाथि भविष्य सुम्पिइयोस्।

सर्वसम्मति सम्भव भए त्यो सबैभन्दा राम्रो विकल्प हो। प्रतिस्पर्धा आवश्यक भए स्वस्थ प्रतिस्पर्धा पनि लोकतान्त्रिक प्रक्रियाकै हिस्सा हो।

तर निर्वाचनलाई वैमनस्य फैलाउने माध्यम बनाउनु हुँदैन।

जित र हार केही समयका विषय हुन्। आज जित्ने व्यक्ति भोलि पूर्वपदाधिकारी हुन्छ, आज पराजित हुने व्यक्ति भोलि संस्थाको महत्वपूर्ण सहयोगी बन्न सक्छ। निर्वाचन सकिएपछि हामी सबै फेरि एउटै बजार, एउटै व्यवसायिक समुदाय र एउटै संस्थाभित्र रहने हो।

त्यसैले निर्वाचनको समयमा बोलिएका शब्द, गरिएका व्यवहार र सिर्जना गरिएका दूरीले संस्थालाई दीर्घकालसम्म विभाजित नगरून् भन्नेमा हामी सबै सचेत हुनुपर्छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघ हामी सबैभन्दा ठूलो संस्था हो। व्यक्ति आउँछन्, जान्छन्। कार्यसमिति बदलिन्छ। नेतृत्व परिवर्तन हुन्छ। तर संस्थाको प्रतिष्ठा, इतिहास र विश्वसनीयता पुस्तौँसम्म रहने सम्पत्ति हुन्।

त्यसैले व्यक्तिगत आग्रह, समूहगत स्वार्थ र क्षणिक निर्वाचन गणितभन्दा माथि उठेर संस्थाको सम्मान, एकता र भविष्यलाई केन्द्रमा राखौँ।

पद कसले पायो भन्ने कुरा केही वर्षपछि बिर्सन सकिन्छ। तर हामीले संस्था कस्तो अवस्थामा अर्को पुस्तालाई हस्तान्तरण गर्‍यौँ भन्ने प्रश्न इतिहासले अवश्य सोध्नेछ।

जय उद्योगी।
जय व्यवसायी।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button