सफा सडक मात्र होइन, जिम्मेवार समाज पनि बनाऔँ

# भक्त बहादुर केसी
आज बिहान नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, सिद्धार्थ भ्यु पछाडिको सडकको एउटा घुम्तीमा पुगेँ। सडकको किनारामा काँसको बाक्लो झाडी बढेको थियो। घुम्तीमा अगाडिबाट आउने सवारीसाधन स्पष्ट नदेखिने अवस्था भएकाले दुर्घटनाको जोखिम हुन सक्ने लाग्यो। कसैले आएर सफा गरिदेला भनेर पर्खिनुभन्दा आफूले सक्ने काम आफैँ गरौँ भन्ने सोचेर झाडी काट्न थालेँ।
म काम गरिरहेको देखेपछि त्यही सडक भएर हिँड्ने केही मानिसले विभिन्न सल्लाह दिनुभयो। कसैले गमबुट लगाएर काटेको भए राम्रो हुन्थ्यो भन्नुभयो। कसैले बिहान शीत परेको समयमा काट्न सजिलो हुने सल्लाह दिनुभयो। अर्को कसैले जरैदेखि खनेर फाल्नुपर्ने बताउनुभयो।
सल्लाहहरू आआफ्नो ठाउँमा उपयोगी थिए। तर त्यही क्रममा एक जना महिलाले अलि पर रहेको आफ्नो घरअगाडिको झाडी पनि काटिदिन भन्नुभयो।

मैले उहाँलाई सोधेँ, “तपाईंको घर कति टाढा छ? म सफा गरिदिउँला। तर पहिले एउटा कुरा भन्नुहोस्, यो सडक कसले बनाएको हो?”
उहाँले भन्नुभयो, “उपमहानगरपालिकाले।”
मैले फेरि सोधेँ, “त्यसो भए मेयर यही सडक भएर हिँड्नुहुन्छ?”
उहाँले भन्नुभयो, “हिँड्नुहुन्न।”
यही छोटो संवादले मलाई धेरै सोच्न बाध्य बनायो।
सडक सरकारले बनाउँछ। नाली स्थानीय तहले बनाउँछ। सडकबत्ती, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संरचना राज्यकै जिम्मेवारीअन्तर्गत पर्छन्। नागरिकले कर तिर्छन् र त्यसको बदलामा व्यवस्थित सार्वजनिक सेवा पाउनु नागरिकको अधिकार पनि हो।

तर अधिकारसँगै हाम्रो आफ्नै दायित्व पनि हुन्छ।
हाम्रो घरअगाडिको सडकमा सानो झाडी उम्रियो भने त्यसलाई हटाउन हरेकपटक नगरपालिका कुर्नुपर्छ कि हामी आफैँ पाँच मिनेट समय दिन सक्छौँ? नालीमा प्लास्टिक अड्कियो भने कर्मचारी नआउन्जेल पानी जम्न दिइरहने कि निकाल्न सक्नेले निकाल्ने? सडकमा फोहोर देख्दा अर्को व्यक्तिलाई दोष दिने कि आफूले कम्तीमा फोहोर नफाल्ने?
यिनै साना प्रश्नले समाजको संस्कार निर्माण गर्छन्।
स्थानीय सरकारको जिम्मेवारी नागरिकले लिनुपर्छ भन्ने मेरो आशय होइन। सडक मर्मत, नियमित सरसफाइ, ढल व्यवस्थापन, सार्वजनिक सुरक्षा र पूर्वाधार संरक्षण स्थानीय सरकारकै संस्थागत जिम्मेवारी हुन्। नागरिकले पनि आवश्यक सेवा माग्नुपर्छ, कमजोरी देखे प्रश्न गर्नुपर्छ र जनप्रतिनिधिलाई जवाफदेही बनाउनुपर्छ।
तर सरकारलाई जिम्मेवार बनाउने नागरिक स्वयं जिम्मेवार हुनु पनि उत्तिकै आवश्यक छ।
हामीले पछिल्ला वर्षमा एउटा अनौठो बानी विकास गर्दै गएको अनुभव हुन्छ। काम गरिरहेको मानिस भेटे सल्लाह धेरै दिन्छौँ, तर हातेमालो गर्न अघि सर्ने संख्या कम हुन्छ। समस्या देखाउने मानिस धेरै हुन्छन्, समाधानको एउटा सानो हिस्सा बन्न तयार हुने मानिस कम हुन्छन्।
समाज अरू कसैले आएर बनाइदिने वस्तु होइन। समाज हामी सबै मिलेर बनाउने संरचना हो।
विद्यालय शिक्षकले मात्र राम्रो बनाउने होइन, अभिभावकको पनि भूमिका हुन्छ। शहर मेयरले मात्र सफा बनाउने होइन, प्रत्येक घर र पसलको पनि भूमिका हुन्छ। सडक ट्राफिक प्रहरीले मात्र सुरक्षित बनाउने होइन, चालक र पैदलयात्री दुवै जिम्मेवार हुनुपर्छ।
लोकतन्त्रको सुन्दरता पनि यही हो। लोकतन्त्रमा नागरिक केवल सेवाग्राही होइन, सहभागी पनि हो।
हामीले आफ्ना बालबालिकालाई पनि यही संस्कार सिकाउनुपर्छ। सार्वजनिक सम्पत्ति कसैको होइन भन्ने होइन, सार्वजनिक सम्पत्ति सबैको हो। त्यसैले सडक, पार्क, विद्यालय, चौतारी, नाली र सार्वजनिक स्थानको संरक्षण गर्नु आफ्नै घरको आँगन जोगाएजस्तै साझा जिम्मेवारी हो।
आज मैले काटेको काँसको झाडी ठूलो काम होइन। केही समयमा फेरि उम्रिन पनि सक्छ। तर त्यसले मलाई सम्झाएको कुरा महत्वपूर्ण छ।
परिवर्तनका लागि सधैँ ठूलो अभियान चाहिँदैन। कहिलेकाहीँ एउटा झाडी काट्नु, बाटोबाट एउटा ढुङ्गा हटाउनु, नालीको फोहोर निकाल्नु, सडकमा फालिएको प्लास्टिक उठाउनु वा अर्को व्यक्तिलाई सहयोग गर्नुबाट पनि जिम्मेवार नागरिक संस्कृतिको शुरुवात हुन सक्छ।
नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गरोस्। जनप्रतिनिधिले आफ्नो कर्तव्य पूरा गरून्। कर्मचारीले आफ्नो काम गरून्। हामी नागरिकले पनि आफ्नो भागको जिम्मेवारी नबिर्सौँ।
अरूले के गरेनन् भनेर प्रश्न गर्नु आवश्यक छ। तर कहिलेकाहीँ आफूलाई पनि सोधौँ, “मैले गर्न सक्ने के थियो?”
यही प्रश्नबाट आत्मनिर्भर, सहयोगी र जिम्मेवार समाज निर्माणको यात्रा शुरु हुन्छ।
हामी सल्लाह दिने समाजबाट सहयोग गर्ने समाज बनौँ। अधिकार माग्ने नागरिकसँगै दायित्व पूरा गर्ने नागरिक पनि बनौँ। आफ्नो घर मात्र होइन, आफ्नो टोल, सडक र शहरलाई पनि आफ्नै साझा घर ठानौँ।
त्यसपछि सफा हुने केवल एउटा सडक होइन, हाम्रो सामाजिक सोच र नागरिक संस्कार पनि हुनेछ।





