१७ भाद्र २०८३, बुधबार

मिथिलामा मधुश्रावणी पर्व समापन, दाम्पत्य प्रेम र सांस्कृतिक निरन्तरताको उत्सव

ड्रागन मिडिया सम्वाददाता

मिथिला क्षेत्रमा नवविवाहित महिलाले मनाउने परम्परागत मधुश्रावणी पर्व शनिबार विधिपूर्वक समापन गरिँदैछ। साउन कृष्ण पञ्चमी अर्थात मौनापञ्चमीका दिन शुरु भएको पर्व १३औँ दिन साउन शुक्ल तृतीयामा समापन गर्ने मैथिल परम्परा छ।

विवाह भएको पहिलो वर्ष नवविवाहिताले पति–पत्नीबीच प्रेम, विश्वास र पारिवारिक सद्भाव प्रगाढ होस् भन्ने कामनासहित माइतीघरमा यो पर्व मनाउने गर्छन्। पर्वका लागि आवश्यक खाद्य सामग्री, नयाँ पोशाक र आभूषणलगायत सामग्री पति पक्षबाट पठाउने परम्परा रहेको छ।

पर्व अवधिभर भगवान् शिव, देवी गौरी र विषहराको पूजा आराधना गरिन्छ। घरकी ज्येष्ठ महिलाबाट मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, समुद्र मन्थन र सतीलगायत पौराणिक तथा लोककथा सुन्ने परम्परा पनि मधुश्रावणीको महत्वपूर्ण पक्ष हो।

पर्वको अर्को आकर्षक परम्परा ‘फूललोढी’ हो। व्रतालुहरू सखीसहेलीसँग समूहमा गीत गाउँदै र हासपरिहास गर्दै फूल तथा बेलपत्र संकलन गर्न निस्कन्छन्। संकलित फूल रातभर राखेर भोलिपल्ट शिव, गौरी र विषहराको पूजामा प्रयोग गर्ने चलन छ।

पर्वको अन्तिम चरणमा परम्परागत रूपमा ‘टेमी’ लिने चलन पनि रहेको छ। कपासको बत्ती बालेर त्यसको लप्काले व्रतालुको देब्रे घुँडामा हल्का डाम्ने यस प्रथालाई दाम्पत्य प्रेमसँग जोडेर हेर्ने लोकविश्वास छ।

तर पछिल्ला वर्षमा नयाँ पुस्ताका धेरै महिलाले शारीरिक रूपमा डाम्ने प्रथाको सट्टा शीतल चन्दनको लेप लगाएर सांकेतिक रूपमा ‘टेमी’ सम्पन्न गर्न थालेका छन्। यसलाई सांस्कृतिक परम्परा कायम राख्दै स्वास्थ्य र समयअनुकूल परिष्कृत गरिएको अभ्यासका रूपमा स्थानीय शिक्षित महिलाले लिएका छन्।

मधुश्रावणी पर्वमा नवविवाहित महिलाको सजधज, सामूहिक प्रणयगीत, सखीसहेलीसँगको भेटघाट र कथा श्रवणले विशेष सांस्कृतिक वातावरण सिर्जना गर्छ। माइतीघरमा लामो समय बसेर बाल्यकालका साथी तथा आफन्तसँग पुनर्मिलन हुने भएकाले यो पर्व पारिवारिक र सामाजिक सम्बन्ध नवीकरण गर्ने अवसर पनि मानिन्छ।

मैथिल लोकसंस्कृतिका जानकारहरूका अनुसार मधुश्रावणीको मूल उद्देश्य दाम्पत्य जीवनमा प्रेम, विश्वास र आपसी समझदारी बलियो बनाउनु हो। वर्षायामलाई प्रकृति र प्रणयसँग जोडेर हेर्ने मैथिल सांस्कृतिक परम्पराले पनि यस पर्वलाई विशेष अर्थ दिएको छ।

पहिले मुख्यतः मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार समुदायका महिलामा सीमित रहेको मधुश्रावणी पछिल्ला वर्षमा अन्य समुदायमा पनि विस्तार हुँदै गएको छ। फरक भाषा र संस्कृतिका समुदायबीच बढ्दो सामाजिक सम्पर्कसँगै यो पर्व क्रमशः मिथिलाको साझा सांस्कृतिक उत्सवका रूपमा विकसित हुँदै गएको स्थानीय जानकारहरू बताउँछन्।

पर्व समापनपछि व्रतालुले १३ दिनसम्म पूजा गरिएका फूल र बेलपत्र संकलन गरी पवित्र नदी वा तलाउमा विसर्जन गर्ने गर्छन्।

परम्परा, पारिवारिक सम्बन्ध, महिला सहभागिता, लोकगीत, कथा र सामूहिक संस्कृतिलाई एउटै पर्वमा जोड्ने मधुश्रावणी आज पनि मिथिलाको विशिष्ट सांस्कृतिक पहिचानका रूपमा जीवन्त रहँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button