१७ भाद्र २०८३, बुधबार

८० वर्षपछि सतहमा आयो टोकियो ट्रायलका अमेरिकी अभियोजकको डायरी, नान्जिङ नरसंहारका थप प्रमाण उजागर

ड्रागन मिडिया समाचार कक्ष

दोस्रो विश्वयुद्धपछि जापानी युद्ध अपराधको अनुसन्धानमा संलग्न अमेरिकी अभियोजक डेभिड नेल्सन सटनले लेखेका छ वटा अप्रकाशित डायरी ८० वर्षपछि सार्वजनिक भएपछि नान्जिङ नरसंहार र जापानी सेनाले चीनमा गरेका युद्ध अपराधसम्बन्धी अनुसन्धानको एउटा महत्वपूर्ण ऐतिहासिक अध्याय पुनः चर्चामा आएको छ।

सन् १९४६ अप्रिल ७ को डायरीमा सटनले नान्जिङको मौसमबारे छोटो टिप्पणी गरेपछि याङ्त्से नदी किनारको एउटा स्थानमा पुगेको विवरण लेखेका थिए। त्यहाँ जापानी सैनिकले करिब ६ हजार मानिसलाई मेसिनगनबाट गोली हानी हत्या गरेको घटनाको प्रमाण सङ्कलन गर्न उनी पुगेका थिए। सटनले घटनास्थलमै पुगेर उक्त सामूहिक हत्यासम्बन्धी विवरणको अनुसन्धान गरेका थिए।

सटन दोस्रो विश्वयुद्धपछि गठन गरिएको इन्टरनेसनल मिलिटरी ट्रिब्युनल फर द फार इस्ट अर्थात टोकियो ट्रायलको अन्तर्राष्ट्रिय अभियोजन टोलीका सहायक अभियोजक थिए। उनलाई विशेषगरी चीनमा जापानी सेनाले गरेका युद्ध अपराध, नान्जिङ नरसंहार तथा अन्य घटनासम्बन्धी प्रमाण सङ्कलन गर्ने जिम्मेवारी दिइएको थियो।

उनको डायरीअनुसार सन् १९४६ मार्चमा उनले सांघाई, नान्जिङ, तत्कालीन पेइपिङ अर्थात अहिलेको बेइजिङ तथा अन्य क्षेत्रमा पुगेर युद्ध अपराधको अनुसन्धान गर्न औपचारिक निर्देशन पाएका थिए। अप्रिल २ मा बिहान ११ बजेर २० मिनेटमा नान्जिङ पुगेको विवरण पनि उनले टिपेका थिए। त्यसपछि उनले घटनास्थल भ्रमण, प्रत्यक्षदर्शीसँग अन्तर्वार्ता तथा प्रमाण सङ्कलनको काम अघि बढाएका थिए।

अन्तर्राष्ट्रिय अभियोजन टोलीमा रहेर सटनले चिनियाँ अधिकारी, विदेशी मिसनरी, चिकित्सक, नरसंहारबाट बाँचेका व्यक्ति तथा अन्य प्रत्यक्षदर्शीसँग भेट गरेका थिए। उनले प्रत्यक्षदर्शीका बयान, मृत्यु तथा क्षतिसम्बन्धी तथ्याङ्क, सामूहिक समाधिस्थलका तस्बिर र अन्य अभिलेख सङ्कलन गरेका थिए। ती सामग्रीलाई पछि टोकियो ट्रायलमा कानुनी प्रमाणका रूपमा प्रस्तुत गरिएको थियो।

सटनसँग चिनियाँ अभियोजक सियाङ चचुन र उनका सहयोगी छिउ शाओहङले पनि अनुसन्धानमा काम गरेका थिए। सन् १९४६ जुनमा सटनले १० भन्दा बढी चिनियाँ तथा विदेशी साक्षीलाई टोकियो पुर्‍याएर अदालतमा बयान दिलाउन भूमिका खेलेका थिए। चार महत्वपूर्ण चिनियाँ साक्षीको यात्रा तथा बसोबास खर्चसमेत उनले तत्काल आफ्नै तर्फबाट अग्रिम भुक्तानी गरेको विवरण उनको निजी अभिलेखबाट खुलेको छ।

सटनका डायरीले अदालतमा प्रस्तुत गरिएका औपचारिक प्रमाणभन्दा बाहिर अभियोजन टोलीले प्रमाण जुटाउन गरेको कठिन प्रयासको व्यक्तिगत चित्र पनि प्रस्तुत गर्छन्। टोकियो ट्रायल शुरु भएको दिन सन् १९४६ मे ३ को डायरीमा उनले अदालतको वातावरणलाई अत्यन्त तीव्र र प्रभावशाली रूपमा वर्णन गरेका थिए भने अभियुक्तहरू पराजित र प्रभावहीन देखिएको टिप्पणी गरेका थिए।

सन् १९४६ देखि १९४८ बीच लेखिएका सटनका छ वटा मूल डायरीसहित कुल १८ वटा दुर्लभ अभिलेख यस वर्ष अप्रिल २९ मा चीनको जिआङ्सु प्रान्तस्थित नान्जिङ नरसंहार पीडित स्मृति सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको थियो। ती सामग्रीमा सटनले तयार गरेका ‘रिपोर्ट्स फ्रम चाइना’ शीर्षकका अनुसन्धान प्रतिवेदनसमेत समावेश छन्।

ती प्रतिवेदनमा सामूहिक हत्या र सर्वसाधारणमाथिको हिंसामात्र नभई जैविक युद्ध, लागूऔषध कारोबार तथा चिनियाँ किसानलाई अफिम खेती गर्न बाध्य पारिएका घटनासम्बन्धी सामग्री पनि रहेको जनाइएको छ। यसले जापानी सेनाको चीनमाथिको आक्रमण केवल सैन्य कारवाहीमा सीमित नरहेको, नागरिक समाज र अर्थतन्त्रमा समेत व्यवस्थित प्रभाव पारिएको विषयलाई अभिलेखीकरण गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।

सटनका अभिलेख चीन फर्काउने व्यक्ति युवा चिनियाँ सङ्ग्रहकर्ता चौ देह्वाई हुन्। उनले सन् २०२५ नोभेम्बरमा अमेरिकास्थित सैन्य ऐतिहासिक सामग्री बिक्री गर्ने एउटा लिलामी माध्यममा ती कागजात फेला पारेका थिए। प्रारम्भिक तस्बिर र विवरण अध्ययन गरी ती सामग्री सटनकै भएको पुष्टि गरेपछि उनले खरिद गरेर चीन ल्याउने व्यवस्था गरेका थिए।

अनुसन्धानकर्ता याङ सियामिङका अनुसार ती अभिलेख अमेरिकाको युनिभर्सिटी अफ रिचमन्डमा रहेको सटन सङ्ग्रहलाई सन् २००९ मा बाह्य संस्थामार्फत डिजिटल रूपान्तरण गर्ने क्रममा हराएको एउटा फोल्डरसँग सम्बन्धित हुनसक्ने सम्भावना छ। त्यसपछि ती सामग्री निजी बजार हुँदै लिलामीसम्म पुगेको अनुमान गरिएको छ।

नान्जिङस्थित स्मृति सङ्ग्रहालयका अधिकारीहरूले सटनका डायरीलाई जापानी युद्ध अपराधसम्बन्धी अनुसन्धानको महत्वपूर्ण मौलिक श्रोतका रूपमा लिएका छन्। उनीहरूका अनुसार अदालतमा पेश गरिएका औपचारिक दस्तावेजले निष्कर्ष देखाउँछन् भने डायरीले ती निष्कर्षसम्म पुग्न अभियोजन पक्षले मैदानमा कसरी प्रमाण खोज्यो भन्ने पक्ष उजागर गर्छ।

क्याम्ब्रिज विश्वविद्यालयका इतिहासविद् बराक कुश्नरले पनि सटनका डायरीलाई दुर्लभ सामग्री मानेका छन्। सो अवधिमा कार्यरत अभियोजकले प्रत्यक्ष रूपमा राखेको यस प्रकृतिको तुलनायोग्य व्यक्तिगत अभिलेख अत्यन्त सीमित भएकाले यसले टोकियो ट्रायलको अध्ययनमा नयाँ पक्ष थप्ने उनको मूल्याङ्कन छ।

सटनले प्रमाण सङ्कलन गर्न थालेको समयमा नान्जिङ नरसंहारबारे अन्य अन्तर्राष्ट्रिय प्रत्यक्षदर्शीले पनि सामग्री सुरक्षित गरिसकेका थिए। अमेरिकी मिसनरी जोन म्यागीले सन् १९३७ को नान्जिङ नरसंहारका क्रममा जापानी सेनाले सर्वसाधारण र निशस्त्र चिनियाँमाथि गरेको हिंसाका दृश्य १६ मिलिमिटर चलचित्र क्यामेरामा खिचेका थिए। ती दृश्य पछि युद्ध अपराध अनुसन्धानमा महत्वपूर्ण दृश्य प्रमाण बने।

टोकियो ट्रायलमा नान्जिङसँग सम्बन्धित घटनाको सुनुवाइका क्रममा चिनियाँ पीडित, विदेशी प्रत्यक्षदर्शी, चिकित्सक तथा मिसनरीका बयानसँगै लिखित अभिलेख र दृश्य सामग्रीसमेत प्रयोग गरिएको थियो। यसरी अलगअलग व्यक्ति र स्थानबाट जुटेका प्रमाणले एउटै ऐतिहासिक घटनाक्रमलाई विभिन्न कोणबाट पुष्टि गर्ने आधार तयार गरेका थिए।

टोकियो ट्रायलमा अमेरिका, चीन, सोभियत संघ, बेलायत, भारतलगायत ११ देश सहभागी थिए। करिब साढे दुई वर्ष चलेको सुनुवाइमा ८१८ अदालती सत्र सम्पन्न भए, ४१९ साक्षीले बयान दिए र ४ हजार ३ सयभन्दा बढी प्रमाण अदालतमा पेश गरिए। अदालती अभिलेख ४८ हजार पृष्ठभन्दा बढी थियो। अन्ततः २५ अभियुक्त दोषी ठहरिए र जापानका युद्धकालीन प्रधानमन्त्री हिदेकी तोजोसहित सात जनालाई मृत्युदण्ड दिइयो।

टोकियो ट्रायलको ८०औँ वर्षमा पुनः सार्वजनिक भएका सटनका डायरीले पुराना फैसला परिवर्तन गर्नेभन्दा पनि ती फैसला निर्माण गर्न प्रयोग गरिएको अनुसन्धान प्रक्रिया र व्यक्तिगत साक्ष्यको अर्को तह थपेका छन्। विशेषगरी नान्जिङ नरसंहारसम्बन्धी ऐतिहासिक अभिलेखमाथि अझै विवाद सिर्जना गर्ने प्रयास भइरहेका बेला मौलिक डायरी, प्रत्यक्षदर्शीका बयान, चलचित्र फुटेज र अदालती अभिलेखको संयोजनले ऐतिहासिक अध्ययनका लागि थप प्राथमिक श्रोत उपलब्ध गराएको छ।

सटनका अभिलेख हस्तान्तरण गर्ने क्रममा सङ्ग्रहकर्ता चौले ती डायरी अब नान्जिङमै सुरक्षित रहेर भावी पुस्ताका लागि इतिहास र न्यायको प्रमाण बन्ने अपेक्षा व्यक्त गरेका थिए। ८० वर्षपछि पुनः सतहमा आएका यी पृष्ठहरूले युद्धपछिको न्यायिक प्रक्रिया केवल अदालतभित्रको बहसमात्र नभई घटनास्थलसम्म पुगेर प्रमाण खोज्ने, पीडित र प्रत्यक्षदर्शीलाई बोलाउने तथा तथ्यलाई कानुनी अभिलेखमा रूपान्तरण गर्ने लामो प्रयासको परिणाम थियो भन्ने देखाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button