मिथिलामा झुलनोत्सव सुरु, गीतसंगीतसहित विष्णु–लक्ष्मीको उपासना

ड्रागन मिडिया सम्वाददाता
साउन शुक्ल तृतीयासँगै महोत्तरीसहित मिथिला क्षेत्रमा परम्परागत झुलनोत्सव सुरु भएको छ। विष्णु–लक्ष्मी तथा उनीहरूका अवतार मानिने राम–सीता र राधा–कृष्णको उपासनासँग जोडिएको यो पर्व साउन पूर्णिमासम्म मनाइन्छ।
पर्व सुरु भएसँगै महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर तथा वैष्णव मठहरूमा झुलागीत, भजनकीर्तन र सांस्कृतिक कार्यक्रमको रौनक बढेको छ। श्रद्धालुले देवीदेवताका प्रतिमालाई कलात्मक झुलामा राखेर भक्तिगीत गाउँदै झुलाउने परम्परा छ।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार झुलनोत्सवमा बालरूपका भगवान् र भगवतीलाई झुलामा राखेर झुलाउने गरिन्छ। यसलाई भगवान् रामकी माता कौशल्या र भगवान् कृष्णकी माता यशोदाले बाल्यकालमा आफ्ना सन्तानलाई कोक्रामा झुलाएको प्रतीकात्मक स्मरणका रूपमा समेत लिइन्छ।
झुलनोत्सव घरघरमा भन्दा मठमन्दिरमा सामूहिक रूपमा मनाउने परम्परा छ। भक्तजनले राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई विशेष झुलामा राखेर डोरी समाउँदै झुलागीत गाउँछन् र नाचगानसहित भक्तिभाव व्यक्त गर्छन्।
मटिहानीमा शनिबार साँझ लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्याएपछि औपचारिक रूपमा उत्सव सुरु गरिएको थियो। पर्वका अवसरमा स्थानीयवासी नजिकका मठमन्दिरमा भेला भएर भजनकीर्तन, नृत्य तथा झुलागीतमार्फत सहभागिता जनाउँछन्।
झुलनोत्सवमा मिथिलाका परम्परागत झुला, मलार र कजरी गीत गाउने चलन छ। प्राचीन मिथिला क्षेत्रमा व्यापक रूपमा मनाइने यो पर्व महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ तथा जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष प्रसिद्ध छ। महोत्तरीका जलेश्वर र बर्दिबासका विभिन्न रामजानकी कुटीमा पनि झुला महोत्सव आयोजना गरिन्छ।
मिथिला परम्पराअनुसार झुलनोत्सव अवध र वृन्दावनमा प्रचलित धार्मिक परम्पराबाट प्रभावित भएको मानिन्छ। जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँ रामलाई प्रसन्न गराउने सांस्कृतिक भावनासँग समेत यो पर्वलाई जोडेर हेर्ने गरिएको छ।
स्थानीय धार्मिक परम्परामा सन्त सुरकिशोर दासले विक्रम संवत् १७८७ तिर जनकपुर क्षेत्रमा झुलनोत्सवको व्यवस्थित सुरुवात गराएको विश्वास गरिन्छ।
जनकपुरधामस्थित मणिपर्वतसँग पनि झुलनोत्सवको विशेष सम्बन्ध छ। साउन शुक्ल तृतीयाका दिन मणिपर्वतको पूजा गरेर उत्सव सुरु गर्ने मिथिला परम्परा रहेको छ।
महोत्तरीको मटिहानीमा झुलनोत्सवका लागि छुट्टै झुलाघर निर्माण गरिएको छ। यहाँ लक्ष्मीनारायण मठबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा ल्याएर झुलाइन्छ। पर्वका अवसरमा महोत्तरी तथा सीमावर्ती भारतीय क्षेत्रका विभिन्न मठमन्दिरबाट समेत प्रतिमा ल्याउने चलन छ।
साउन पूर्णिमाका दिन झुलाको डोरी चुडालेर पर्व समापन गर्ने परम्परा छ। मैथिल संस्कृतिमा साउन महिनाबाट मधुश्रावणी, झुलनोत्सव, नागपञ्चमी र रक्षाबन्धनलगायत पर्वको श्रृंखला सुरु हुने भएकाले झुलनोत्सवलाई धार्मिक उपासनासँगै मिथिलाको वार्षिक सांस्कृतिक चक्रको महत्वपूर्ण आरम्भका रूपमा पनि लिइन्छ।





