ढोरपाटनमा एक वर्षमा २१ नाउर र ११ झारलको शिकार

ड्रागन मिडिया सम्वाददाता
नेपालको एकमात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा गत आर्थिक वर्षमा विदेशी शिकारीले २१ नाउर र ११ झारलको शिकार गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निर्धारण गरेको कोटाअनुसार वर्षमा दुई चरणमा शिकार सञ्चालन गरिएको थियो। विदेशी शिकारीले प्रतिस्पर्धात्मक बोलपत्रमार्फत शिकार अनुमति लिएर सरकारलाई करोडौँ रुपैयाँ राजस्व बुझाएका छन्।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार पहिलो शिकार याम असोजदेखि मंसिरसम्म ११ नाउर र आठ झारलको शिकार अनुमति दिइएको थियो। विभिन्न कम्पनीमार्फत आएका विदेशी शिकारीले आठ नाउर र पाँच झारलको मात्र शिकार गर्न सके। राजस्व बुझाइसके पनि तीन नाउर र तीन झारलको शिकार हुन सकेन।
पहिलो शिकार याममा तीन करोड तीन लाख पाँच हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
दोस्रो शिकार याम फागुनदेखि वैशाखसम्म १४ नाउर र १० झारलको शिकार अनुमति दिइएको थियो। उक्त अवधिमा शिकारीले १३ नाउर र छ झारलको शिकार गरेका थिए। प्राविधिक तथा अन्य कारणले एक नाउर र चार झारलको शिकार हुन सकेन।
दोस्रो शिकार यामबाट एक करोड ४३ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको आरक्षले जनाएको छ।
ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगट्ठामा देखिएको समस्या, शिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन तथा निसाना चुक्नुलगायत कारणले अनुमति प्राप्त सबै नाउर र झारलको शिकार हुन नसकेको हो।
नेपालमा कानुनी रूपमा वन्यजन्तुको शिकार गर्न पाइने ढोरपाटनमा विदेशी शिकारी प्रतिस्पर्धात्मक प्रक्रियामार्फत महँगो शुल्क तिरेर आउने गर्छन्। अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशका व्यावसायिक शिकारीले यहाँ नाउर र झारलको शिकार गर्दै आएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आरक्षमा रहेका नाउर र झारलको संख्या तथा वन्यजन्तु व्यवस्थापनको अवस्थाका आधारमा प्रत्येक वर्ष शिकार कोटा निर्धारण गर्छ। त्यसपछि विद्युतीय बोलपत्र आह्वान गरी विदेशी शिकार कम्पनीबीच प्रतिस्पर्धाबाट अनुमति प्रदान गरिन्छ।
ढोरपाटन शिकार आरक्षलाई सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह गरी सातवटा शिकार ब्लकमा विभाजन गरिएको छ।
शिकारका क्रममा आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेना, स्थानीय सहयोगी तथा भरियासहितको टोली सम्बन्धित ब्लकमा खटिने गर्छ। शिकारीसहितको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने व्यवस्था छ।
विदेशी शिकारी प्रायः हेलिकप्टरमार्फत आरक्ष क्षेत्रमा पुग्ने गर्छन्। शिकार अनुमति शुल्कबाहेक हेलिकप्टर, सहयोगी, भरिया, बन्दोबस्त तथा अन्य खर्च पनि शिकारी स्वयंले व्यहोर्ने गर्छन्।
आरक्ष कार्यालयका अनुसार एक शिकारीले १५ दिनको शिकार अवधिमा व्यवस्थापन र अन्य सेवाका लागि करिब २० लाखदेखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। नाउर र झारलका लागि बोलपत्रमा कबोल गरिएको मूल्य, ब्लक आरक्षण, इजाजतपत्र, हेलिकप्टर तथा अन्य खर्च जोड्दा कुल लागत अझ बढी हुने गर्छ।
हालसम्म नाउर र झारलको व्यावसायिक शिकारका लागि नेपाली शिकारीले प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागिता नजनाएको आरक्ष कार्यालयले जनाएको छ।
२०३९ सालमा स्थापना भएको ढोरपाटन शिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लामा फैलिएको छ। आरक्षको कुल क्षेत्रफल एक हजार ३२५ वर्ग किलोमिटर छ।
ढोरपाटनमा नियन्त्रित शिकार प्रणाली वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनसँगै राजस्व संकलन र स्थानीय अर्थतन्त्रसँग जोडिएको छ। शिकार कोटा निर्धारण गर्दा वन्यजन्तुको संख्या र संरक्षण अवस्थालाई आधार मानिने भएकाले यसको प्रभावकारी अनुगमन र वैज्ञानिक गणना महत्वपूर्ण मानिन्छ।





