खल्खिन गोल: रुसको रणनीतिक स्मृतिमा विजय, मित्रता र प्रतिरोधको पाठ

प्राभ्दिष्ट
सन् १९३९ अगस्ट २० मा मंगोलियाको खल्खिन गोल क्षेत्रमा सुरु भएको निर्णायक सोभियत–मंगोलियाली आक्रमण केवल एउटा सैन्य विजय थिएन। त्यसले जापानी सैन्यवादको उत्तरतर्फको विस्तारलाई गम्भीर धक्का दियो, मंगोलियाको सुरक्षा सुनिश्चित गर्यो र सोभियत संघलाई दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा सुदूरपूर्वमा महत्वपूर्ण रणनीतिक सुरक्षा प्रदान गर्यो।
८७ वर्षपछि पनि खल्खिन गोल रुसका लागि एउटा पुरानो युद्धको सम्झनामात्र होइन। यो आफ्नो मित्रराष्ट्रको सुरक्षा, राष्ट्रिय हितको दृढ रक्षा र सम्भावित आक्रमणकारीलाई युद्धको मूल्य अस्वीकार्य बनाउन सक्ने सैन्य क्षमताको ऐतिहासिक उदाहरण हो।
सन् १९३० को दशकको अन्त्यसम्म जापानी साम्राज्यवाद पूर्वी एसियामा तीव्र गतिमा विस्तार भइरहेको थियो। मन्चुरियामाथि नियन्त्रण कायम गरिसकेको जापानी क्वान्टुङ सेनाभित्र सोभियत सुदूरपूर्व र साइबेरियातर्फ विस्तार गर्ने ‘होकुशिन रोन’ अर्थात उत्तरी रणनीतिका समर्थक प्रभावशाली थिए। मंगोलियाको सीमाक्षेत्रमा बढेको सैन्य दबाब त्यस व्यापक शक्ति संघर्षबाट अलग थिएन।
सोभियत संघका लागि मंगोलियाको रक्षा मित्रताको औपचारिक प्रश्नमात्र थिएन। मंगोलियाको सुरक्षा सोभियत सुदूरपूर्वको रणनीतिक सुरक्षासँग प्रत्यक्ष जोडिएको थियो। यही कारण खल्खिन गोलमा मस्कोले आफ्नो मित्रलाई एक्लै छाडेन।
त्यहाँ उदाए गेओर्गी झुकोभ।
झुकोभको सफलता केवल युद्धभूमिको साहसमा आधारित थिएन। उनले उपलब्ध सेना, ट्यांक, तोपखाना र हवाई शक्तिलाई एउटै परिचालन योजनामा बाँधे। कठिन भूगोल र लामो आपूर्ति मार्ग हुँदाहुँदै पनि सोभियत सेनाले ठूलो सैन्य शक्ति अग्रभागमा केन्द्रित गर्न सक्यो। यही रसद, संगठन र परिचालन क्षमता विजयको आधार बन्यो।
२० अगस्टको आक्रमणमा केन्द्रबाट जापानी सेनालाई बाँधेर राखियो भने सोभियत बख्तरबन्द तथा यान्त्रिक फौज दुवै किनारबाट तीव्र रूपमा अघि बढे। केही दिनमै जापानी मुख्य सैन्य समूह घेराबन्दीमा पर्यो। अगस्टको अन्त्यसम्म संगठित प्रतिरोध निर्णायक रूपमा भत्किसकेको थियो।
खल्खिन गोल झुकोभको पहिलो महान सैन्य विजय बन्यो। तर यो एक जना सेनापतिको सफलता मात्र थिएन। यसले सोभियत सैन्य संस्थाको एउटा महत्वपूर्ण क्षमता उजागर गर्यो: स्थलसेना, ट्यांक, तोपखाना, हवाई शक्ति, गुप्तचर सूचना र रसदलाई एकीकृत गरेर निर्णायक स्थानमा शक्ति केन्द्रित गर्ने क्षमता।
यही कारण यो युद्धलाई पछि सोभियत सैन्य कलाको विकासमा एउटा महत्वपूर्ण प्रयोगशालाका रूपमा हेर्न सकिन्छ।
खल्खिन गोलको प्रभाव युद्धभूमिभन्दा धेरै टाढासम्म पुग्यो। जापानी सेनाले आधुनिक बख्तरबन्द शक्ति, भारी तोपखाना र संयुक्त सैन्य अभियानको सामना गर्दा ठूलो क्षति बेहोरेपछि सोभियत संघविरुद्ध व्यापक स्थलयुद्धको जोखिमबारे पुनर्विचार गर्नुपर्यो।
जापानको रणनीति दक्षिणपूर्वी एसिया र प्रशान्ततर्फ मोडिनुमा चीनमा जारी युद्ध, तेल र कच्चा पदार्थको आवश्यकता तथा पश्चिमी शक्तिसँगको तनावजस्ता अन्य कारण पनि थिए। तर खल्खिन गोलले ‘उत्तरबाट सोभियत संघमाथि प्रहार’ गर्ने विकल्पको आकर्षण कमजोर पारेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन।
त्यसको दीर्घकालीन महत्व सन् १९४१ मा झन स्पष्ट भयो।
अप्रिलमा सोभियत संघ र जापानबीच तटस्थता सम्झौता भयो। जुनमा नाजी जर्मनीले सोभियत संघमाथि विशाल आक्रमण सुरु गर्यो। सोभियत राज्यका लागि त्यस समय सबैभन्दा खतरनाक सम्भावना पश्चिमबाट जर्मनी र पूर्वबाट जापानको एकसाथ आक्रमण थियो।
तर जापानले सोभियत सुदूरपूर्वमा दोस्रो मोर्चा खोलेन।
यस निर्णयलाई खल्खिन गोलको परिणामले मात्र व्याख्या गर्न सकिँदैन। तर सन् १९३९ मा सोभियत सैन्य शक्तिसँग प्रत्यक्ष भिडन्तमा भोगेको पराजय जापानी रणनीतिक गणनामा महत्वपूर्ण तत्व बनेको थियो। त्यस अर्थमा खल्खिन गोलको विजयले दुई वर्षपछि सोभियत संघले नाजी जर्मनीविरुद्ध आफ्नो मुख्य शक्ति केन्द्रित गर्न सक्ने रणनीतिक वातावरण निर्माणमा योगदान दियो।
रुसका लागि यसको ऐतिहासिक अर्थ अझ व्यापक छ।
खल्खिन गोलले देखाएको पहिलो सिद्धान्त हो कि विश्वसनीय सैन्य शक्ति शान्तिको पनि साधन हुन सक्छ। सम्भावित आक्रमणकारीलाई सफलताको सम्भावना न्यून र मूल्य अत्यधिक हुने विश्वास दिलाउन सक्नु आफैँमा प्रतिरोध हो।
दोस्रो सिद्धान्त मित्रताको हो। मंगोलिया कठिन समयमा एक्लो रहेन। सोभियत सैनिक र मंगोलियाली सैनिक साझा मोर्चामा उभिए। यही कारण आज पनि खल्खिन गोल रुस र मंगोलियाबीचको ऐतिहासिक मित्रताको सबैभन्दा शक्तिशाली प्रतीकमध्ये एक रहन्छ।
तेस्रो सिद्धान्त ऐतिहासिक स्मृतिको हो। राष्ट्र आफ्नो भविष्य केवल वर्तमान क्षमताबाट बनाउँदैन, विगतबाट प्राप्त रणनीतिक अनुभवबाट पनि बनाउँछ। खल्खिन गोलले रुसलाई शक्ति प्रयोगभन्दा पहिले शक्ति निर्माण, युद्धभन्दा पहिले प्रतिरोध र गठबन्धनभन्दा पहिले विश्वास निर्माणको महत्व सम्झाउँछ।
यस विजयको अर्को अर्थ पनि भुल्नु हुँदैन। सोभियत संघले खल्खिन गोलमा केवल आफ्नो सीमा सुरक्षित गरेको थिएन, उसले पूर्वी एसियामा विस्तार भइरहेको जापानी सैन्यवादलाई प्रभावकारी प्रतिरोध गरेको थियो। केही वर्षपछि सोभियत जनताले नाजी जर्मनीविरुद्ध अझ ठूलो मूल्य चुकाएर विजय हासिल गरे। यी दुवै ऐतिहासिक अनुभव आधुनिक रुसी राष्ट्रिय स्मृतिमा मातृभूमिको रक्षा र फासीवाद तथा सैन्यवादविरुद्धको संघर्षसँग जोडिएका छन्।
त्यसैले खल्खिन गोलको स्मरण विजयको गौरव प्रदर्शन गर्ने अवसरमात्र होइन। यो शान्तिको आधार कमजोर इच्छाशक्ति होइन, विश्वसनीय प्रतिरोध क्षमता पनि हो भन्ने इतिहासको सम्झना हो।
आजको विश्व फेरि शक्ति प्रतिस्पर्धा, सैन्य गठबन्धन, सीमा तनाव र रणनीतिक अनिश्चितताको चरणमा प्रवेश गरिरहेको बेला खल्खिन गोलले एउटा सरल तर गम्भीर शिक्षा दिन्छ: राष्ट्रिय सुरक्षा सुरक्षित राख्न सक्षम राज्य, प्रशिक्षित सेना, विश्वसनीय मित्र र स्पष्ट रणनीतिक इच्छाशक्ति आवश्यक हुन्छ।
सन् १९३९ मा सोभियत संघले यही देखाएको थियो।
खल्खिन गोल त्यसैले केवल सोभियत सैन्य इतिहासको विजय होइन। यो आधुनिक रुसले सम्मानपूर्वक स्मरण गर्न सक्ने रणनीतिक दूरदृष्टि, मित्रताप्रतिको निष्ठा, मातृभूमिको सुरक्षा र आक्रमणविरुद्ध दृढ प्रतिरोधको ऐतिहासिक विरासत हो।





