पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा बढे, एक वर्षमा ४७१ मुद्दा सुनुवाइमा

ड्रागन मिडिया सम्वाददाता
पाँचथर जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दाको हिस्सा उल्लेख्य रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/०८३ मा अदालतमा दर्ता भएका ६०९ नयाँ मुद्दामध्ये ३८४ वटा सम्बन्ध विच्छेदसम्बन्धी रहेको तथ्याङ्कले देखाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ बाट सरेर आएका २४६ मुद्दामध्ये पनि ८७ वटा सम्बन्ध विच्छेदका थिए। यसरी गत आर्थिक वर्षमा कुल ४७१ सम्बन्ध विच्छेदका मुद्दा अदालतको सुनुवाइ प्रक्रियामा पुगेका थिए। तीमध्ये १६७ मुद्दा मेलमिलाप प्रक्रियाबाट टुङ्गिएको पाँचथर जिल्ला अदालतका तहसिलदार तथा सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिइन्।
अदालतको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा कुल मुद्दामध्ये करिब ५१ प्रतिशत सम्बन्ध विच्छेदका थिए। आर्थिक वर्ष २०८२/०८३ मा यस्तो हिस्सा बढेर करिब ५६ प्रतिशत पुगेको छ। यसले जिल्लामा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको संख्या र अनुपात दुवै बढेको देखाएको छ।
सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने दम्पतीको उमेर र पारिवारिक अवस्थासमेत विविध रहेको पाइएको छ। गत वर्ष ७३ वर्षीय पुरुष र ५९ वर्षीया महिलाबीच सम्बन्ध विच्छेद भएको थियो भने डेढ वर्षको बच्चा भएका दम्पतीसमेत वैवाहिक सम्बन्ध अन्त्य गर्न अदालत पुगेका थिए।
सूचना अधिकारी नेम्बाङका अनुसार अदालतमा आउने सम्बन्ध विच्छेदका सबै मुद्दा तत्काल उत्पन्न वैवाहिक विवादसँग मात्र सम्बन्धित हुँदैनन्। करिब एक तिहाइ मुद्दामा पति वा पत्नीमध्ये कसैले अर्को विवाह गरिसकेको अवस्थामा कानुनी तथा कागजी प्रक्रिया पूरा गर्न औपचारिक रूपमा सम्बन्ध विच्छेद गराउन अदालत आउने प्रवृत्ति पनि देखिएको उनको भनाइ छ।
सम्बन्ध विच्छेदका घटनामा एउटै कारण जिम्मेवार हुने अवस्था नरहेको कानुन व्यवसायीहरूको अनुभव छ। अधिवक्ता जयप्रकाश केरुङका अनुसार बालविवाह, वैदेशिक रोजगारीका कारण लामो समय पति पत्नी अलग बस्नु, सामाजिक सञ्जालमार्फत उत्पन्न हुने नयाँ सम्बन्ध वा अविश्वास, मदिरा सेवनको लत तथा पारिवारिक बेवास्ताजस्ता विषय धेरै मुद्दामा देखिने गरेका छन्।
बालविवाह गरेका केही दम्पती उमेर र अनुभव बढ्दै गएपछि वैवाहिक जीवनलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुग्ने गरेको केरुङ बताउँछन्। वैदेशिक रोजगारीका कारण लामो समय छुट्टिएर बस्दा भावनात्मक दूरी बढ्ने र कतिपय अवस्थामा अन्य व्यक्तिसँग सम्बन्ध विकसित हुँदा वैवाहिक सम्बन्धमा समस्या आउने गरेको उनको अनुभव छ। तर यस्ता कारणलाई सबै सम्बन्ध विच्छेदका घटनामा समान रूपमा लागू गर्न नमिल्ने र प्रत्येक मुद्दाको पारिवारिक तथा सामाजिक पृष्ठभूमि फरक हुने देखिन्छ।
मदिरा सेवनले आर्थिक समस्या, पारिवारिक हिंसा, अविश्वास र भावनात्मक दूरी बढाउन सक्ने भएकाले यसले पनि कतिपय परिवारमा सम्बन्ध बिगार्ने भूमिका खेलेको कानुन व्यवसायीहरू बताउँछन्। अर्कोतर्फ विगतको तुलनामा महिलामा अधिकारसम्बन्धी चेतना बढेको र हिंसा, अपमान वा अन्याय सहेर वैवाहिक सम्बन्ध कायम राख्नुपर्ने सामाजिक दबाब कमजोर हुँदै गएको पक्षलाई समेत सम्बन्ध विच्छेदको बढ्दो तथ्याङ्कसँग जोडेर हेर्नुपर्ने उनीहरूको भनाइ छ।
सम्बन्ध विच्छेदपछि सबैभन्दा संवेदनशील प्रश्न बालबालिकाको हेरचाह र मनोवैज्ञानिक अवस्थासँग जोडिने गरेको छ। केरुङका अनुसार सम्बन्ध विच्छेद भएका धेरै घटनामा सन्तानको जिम्मेवारी आमाले लिने गरेका छन्। तर अभिभावक अलग हुँदा बालबालिकाको भावनात्मक सुरक्षा, पारिवारिक वातावरण, शिक्षा तथा सामाजिक विकासमा प्रभाव पर्न सक्ने भएकाले सम्बन्ध विच्छेद प्रक्रियामा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको छ।
पाँचथर बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद ढुङ्गानाले सम्बन्ध विच्छेद बढेको तथ्याङ्कलाई केवल व्यक्तिगत वा मनोवैज्ञानिक समस्याका रूपमा बुझ्न नहुने बताए। उनका अनुसार रोजगारीको अभाव, वैदेशिक पलायन, पति पत्नीबीच लामो दूरी, बदलिँदो सामाजिक मूल्य र व्यक्तिगत जीवनप्रतिको बढ्दो प्राथमिकताले पनि पारिवारिक संरचनामा परिवर्तन ल्याइरहेको छ।
सम्बन्ध विच्छेद आफैँमा कानुनी अधिकार भएकाले प्रत्येक वैवाहिक सम्बन्ध जसरी पनि कायम राख्नुपर्छ भन्ने निष्कर्ष उपयुक्त हुँदैन। विशेषगरी हिंसा, दुर्व्यवहार, निरन्तर अपमान वा असुरक्षित सम्बन्धमा रहेका व्यक्तिका लागि सम्बन्ध विच्छेद कानुनी सुरक्षाको माध्यमसमेत हो। तर पाँचथरमा देखिएको बढ्दो तथ्याङ्कले परिवारभित्रको संवाद, विवाहपूर्व सचेतना, बालविवाह नियन्त्रण, वैदेशिक रोजगारीका सामाजिक प्रभाव, मदिरा दुरुपयोग तथा बालबालिकाको संरक्षणबारे गम्भीर सामाजिक छलफल आवश्यक भएको संकेत गरेको छ।





