रुसको पर्यटन पुनरुत्थान: खुला प्रवेश, विशाल भूगोल र सुरक्षा व्यवस्थापनको नयाँ मोड

# प्राभ्दिष्ट (Правдист)
अन्तर्राष्ट्रिय सुरक्षा तथा रणनीतिक मामिला विश्लेषक
युक्रेन द्वन्द्व, पश्चिमी प्रतिबन्ध र अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा आएको परिवर्तनका कारण रुसलाई विश्व पर्यटनबाट अलग भएको देशका रूपमा चित्रण गर्ने प्रवृत्ति अझै देखिन्छ। तर सन् २०२६ सम्म आइपुग्दा वास्तविक अवस्था त्यसको तुलनामा धेरै जटिल र फरक छ। युरोपबाट आउने परम्परागत पर्यटक प्रवाह कमजोर भए पनि चीन, मध्यपूर्व, दक्षिण तथा दक्षिणपूर्व एसिया र पूर्व सोभियत क्षेत्रबाट आउने पर्यटक बढिरहेका छन्। रुसले पनि पर्यटनलाई केवल मनोरञ्जन उद्योगका रूपमा होइन, क्षेत्रीय अर्थतन्त्र, सांस्कृतिक कूटनीति र अन्तर्राष्ट्रिय जनसम्पर्कको साधनका रूपमा पुनःव्यवस्थित गर्न थालेको छ।
यसको सबैभन्दा स्पष्ट प्रमाण पर्यटक संख्यामा देखिन्छ। सन् २०२५ मा करिब ४८ लाख विदेशी पर्यटक रुस पुगे, जुन अघिल्लो वर्षभन्दा १५ प्रतिशत बढी थियो। सन् २०२६ को पहिलो छ महिनामा मात्रै करिब २५ लाख विदेशी पर्यटक पुगेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा २०.१ प्रतिशत बढी हो। यो वृद्धि केवल मस्को र सेन्ट पिटर्सबर्गमा सीमित छैन। बुर्यातिया, अमुर, जबाइकाल, पर्म, भ्लादिमिर र अन्य क्षेत्रतर्फ समेत विदेशी भ्रमण विस्तार भइरहेको छ। यसले रूसी पर्यटनको केन्द्र क्रमशः दुई ठूला शहरबाट विशाल भौगोलिक क्षेत्रतर्फ फैलिरहेको देखाउँछ।
रुसको मुख्य शक्ति यसको विविधता हो। मस्को विश्वस्तरीय महानगर, संग्रहालय, क्रेमलिन र आधुनिक शहरी जीवनको केन्द्र हो भने सेन्ट पिटर्सबर्ग साम्राज्यकालीन वास्तुकला, कला र सांस्कृतिक सम्पदाको शहर हो। कजानले इस्लामी र रूसी सभ्यताको सहअस्तित्व देखाउँछ। बैकाल ताल प्रकृति पर्यटनको असाधारण गन्तव्य हो। अल्ताई, कामचाट्का, साइबेरिया र सुदूरपूर्व साहसिक तथा पर्यावरणीय पर्यटनका क्षेत्र हुन्। ‘गोल्डेन रिङ’ का ऐतिहासिक शहरहरूले पुरानो रूसी सभ्यता बुझ्ने अवसर दिन्छन्। यही विविधताले रुसलाई केवल एउटा राजधानी हेरेर फर्किने गन्तव्य नभई बहुक्षेत्रीय पर्यटन देश बनाउँछ।
सरकारले प्रवेश प्रक्रिया सरल बनाउनु पर्यटन पुनरुत्थानको अर्को महत्वपूर्ण आधार हो। एकीकृत विद्युतीय प्रवेशाज्ञा अहिले दर्जनौँ देशका नागरिकका लागि उपलब्ध छ। यसका लागि निमन्त्रणापत्र वा होटल आरक्षणको प्रमाण आवश्यक पर्दैन। प्रवेशाज्ञा जारी भएपछि १२० दिनसम्म मान्य हुन्छ र रुसमा अधिकतम ३० दिन बस्न सकिन्छ। सन् २०२६ को सुरुसम्म विद्युतीय प्रवेशाज्ञाबाट प्रवेश गर्न मिल्ने सीमा नाका १०७ पुगेका छन्। चीनका सामान्य राहदानीधारी नागरिकलाई समेत निश्चित अवधिसम्म ३० दिनको प्रवेशाज्ञामुक्त व्यवस्था दिइएको छ। यसले रुसले भविष्यको पर्यटक बजारलाई एशिया र ग्लोबल साउथतर्फ पुनःउन्मुख गरिरहेको संकेत गर्छ।
यो परिवर्तन आकस्मिक होइन। ‘पर्यटन तथा आतिथ्य’ राष्ट्रिय परियोजनाअन्तर्गत रुसले सन् २०३० सम्म वार्षिक पर्यटन यात्राको संख्या १४ करोड पुर्याउने, पर्यटनको कुल गार्हस्थ्य उत्पादनमा योगदान पाँच प्रतिशतसम्म बढाउने र पर्यटन सेवाको निर्यात उल्लेख्य रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ। नयाँ होटल, समुद्री विश्रामस्थल, मोड्युलर आवास, ऐतिहासिक शहरको पुनरुत्थान, पर्यटकीय मार्ग, समुद्री तथा नदी पूर्वाधार, विमानस्थल, सडक र रेल सञ्जालमा राज्यले लगानी बढाइरहेको छ।
योजनाअनुसार ठूला होटल तथा पर्यटकीय आकर्षण केन्द्रमा सहुलियत ऋण, हजारौँ नयाँ होटल कोठा, नौ संघीय क्षेत्रमा नयाँ समुद्री विश्रामस्थल, नयाँ पर्यटकीय मार्ग तथा पर्यटन क्षेत्रका जनशक्ति प्रशिक्षण कार्यक्रम अघि बढिरहेका छन्। डिजिटल सेवाको विस्तारसमेत यसको महत्वपूर्ण भाग हो। यसको अर्थ रुसले केवल विदेशीलाई ‘आउनुस्’ भनिरहेको छैन; पर्यटक आएपछि बस्ने, यात्रा गर्ने, सूचना पाउने र विभिन्न क्षेत्रसम्म पुग्ने सम्पूर्ण संरचना सुधार्ने प्रयास गरिरहेको छ।
पर्यटन सुरक्षालाई पनि यही ठूलो संरचनाभित्र हेर्नुपर्छ। रुसको विशाल भूगोलमा सुरक्षा अवस्था एउटै छैन। मस्को, सेन्ट पिटर्सबर्ग, कजान, गोल्डेन रिङ, बैकाल तथा धेरै आन्तरिक पर्यटन क्षेत्रमा होटल, सार्वजनिक यातायात, निगरानी प्रणाली र प्रहरी संरचना सामान्य रूपमा सञ्चालनमा छन्। ठूला शहरमा भूमिगत रेल, रेलमार्ग र विमानस्थलको सुरक्षा नियन्त्रण उच्चस्तरको छ। सार्वजनिक क्षेत्रमा क्यामेरा, यात्रु जाँच र आपतकालीन व्यवस्थापनको व्यापक प्रयोग रूसी शहरी सुरक्षाको विशेषता बनेको छ।
तर सकारात्मक चित्र प्रस्तुत गर्नु भनेको जोखिम लुकाउनु होइन। युक्रेनसँग जोडिएका सीमा क्षेत्र, क्रिमिया र ब्ल्याक सीका केही क्षेत्रमा ड्रोन तथा क्षेप्यास्त्र जोखिमका कारण अवस्था फरक छ। सन् २०२६ मा दक्षिणी रूसका केही पर्यटकीय क्षेत्रमा हवाई चेतावनी, उडान अवरोध र सुरक्षा घटना भएका छन्। त्यसैले अन्तर्राष्ट्रिय पर्यटकका लागि ‘रुस सुरक्षित छ कि छैन?’ भन्ने प्रश्नको एउटै उत्तर हुँदैन। सही प्रश्न ‘रुसको कुन क्षेत्रमा, कुन समयमा र कुन मार्गबाट यात्रा गर्ने?’ भन्ने हो। मस्को वा बैकालको सुरक्षा अवस्थालाई सक्रिय द्वन्द्व नजिकको क्षेत्रसँग समान मान्नु व्यावहारिक हुँदैन।
अर्को समस्या सुरक्षा होइन, सुविधा हो। पश्चिमी देशबाट जारी गरिएका धेरै भिसा र मास्टरकार्ड रुसभित्र काम गर्दैनन्। केही देशबाट सीधा उडान सीमित भएकाले तेस्रो देश हुँदै यात्रा गर्नुपर्ने हुन सक्छ। यसले पर्यटकलाई यात्रा अघि नगद, भुक्तानी व्यवस्था र हवाई मार्ग राम्रोसँग योजना बनाउन बाध्य बनाउँछ। रुसको आन्तरिक नगदरहित भुक्तानी प्रणाली अत्यन्त विकसित भए पनि विदेशी कार्डको पहुँचमा प्रतिबन्धले अन्तर्राष्ट्रिय पर्यटकका लागि अझै एउटा कमजोरी सिर्जना गरेको छ।
नेपाली पर्यटकका लागि पनि यही तयारी महत्वपूर्ण हुन्छ। नेपाल हाल रूसी एकीकृत विद्युतीय प्रवेशाज्ञा पाउने देशहरूको सूचीमा छैन। त्यसैले सामान्य नेपाली राहदानीधारीले यात्रा अघि नियमित प्रवेशाज्ञाको प्रक्रिया पूरा गर्नुपर्छ। यात्रा बीमा, वैधानिक बसोबास दर्ता, भुक्तानी माध्यम र भ्रमण क्षेत्रको पछिल्लो सुरक्षा सूचना बुझेर यात्रा गर्नु आवश्यक हुन्छ।
रुसको पर्यटन नीतिमा अर्को महत्वपूर्ण परिवर्तन बजारको पुनर्संरचना हो। कुनै समय युरोपेली पर्यटक विदेशी आगमनको महत्वपूर्ण हिस्सा थिए। अहिले चीन, साउदी अरब, टर्की, संयुक्त अरब इमिरेट्स, भारत, इरान र अन्य गैरपश्चिमी बजारको महत्व बढेको छ। यो पर्यटन उद्योगको मात्र परिवर्तन होइन; रुसको समग्र विदेश आर्थिक र सांस्कृतिक अभिमुखीकरणसँग जोडिएको संकेत हो। पर्यटन यहाँ ‘जनस्तरीय कूटनीति’ को माध्यम बन्दैछ।
रुसले आफ्नो इतिहास र सांस्कृतिक सम्पदालाई पनि नयाँ पर्यटन अर्थतन्त्रसँग जोड्न खोजिरहेको छ। दोस्रो विश्वयुद्धको इतिहास, रूसी साहित्य, अर्थोडक्स सभ्यता, सोभियत वैज्ञानिक उपलब्धि, तातार तथा बौद्ध संस्कृति, आर्कटिक भूगोल र साइबेरियाली प्रकृतिलाई अलग अलग पर्यटकीय विषयका रूपमा विकास गर्ने सम्भावना विशाल छ। यसले पर्यटकलाई एउटै राजनीतिक आख्यानभन्दा धेरै तहको रूस देखाउने अवसर दिन्छ।
सन् २०२५ मा पर्यटन र आतिथ्य क्षेत्रको रूसी अर्थतन्त्रमा योगदान तीन प्रतिशतभन्दा माथि पुगेको सरकारी तथ्याङ्कले देखाउँछ। २०२६ को पहिलो छ महिनामा विदेशी पर्यटक प्रवाह पुनः २० प्रतिशतभन्दा बढीले बढ्नुले प्रतिबन्ध र भू–राजनीतिक तनावबीच पनि पर्यटन उद्योग पुनर्संरचित भइरहेको पुष्टि गर्छ। यसको सबैभन्दा ठूलो सफलता पुरानो बजार पूर्ण रूपमा फर्कनु होइन; नयाँ बजार सिर्जना गर्दै पर्यटनको भौगोलिक तथा आर्थिक आधार फराकिलो बनाउनु हो।
रुसको पर्यटन भविष्यको निष्कर्ष त्यसैले दुई विपरीत यथार्थबीच छ। एकातिर युद्धजन्य सुरक्षा जोखिम, पश्चिमी भुक्तानी प्रणालीबाट अलगाव र केही अन्तर्राष्ट्रिय उडान सीमितता छन्। अर्कोतिर विद्युतीय प्रवेशाज्ञा विस्तार, विशाल पूर्वाधार लगानी, नयाँ होटल र मार्ग, एशियाली पर्यटकको वृद्धि र अद्वितीय ऐतिहासिक तथा प्राकृतिक सम्पदा छन्।
यस अवस्थामा रुसलाई ‘पर्यटनका लागि बन्द देश’ भनेर बुझ्नु तथ्यगत रूपमा कमजोर हुन्छ। अझ सही निष्कर्ष के हो भने रुस अहिले पुरानो युरोपकेन्द्रित पर्यटन संरचनाबाट बहुध्रुवीय पर्यटन बजारतर्फ रूपान्तरण भइरहेको छ। यदि उसले सुरक्षा जोखिम भएका क्षेत्रलाई स्पष्ट रूपमा छुट्याउँदै विदेशी पर्यटकको भुक्तानी, भाषा, हवाई सम्पर्क र सूचना पहुँच अझ सहज बनाउन सक्यो भने आगामी दशकमा रूस विश्व पर्यटनको पुनःमहत्वपूर्ण केन्द्र बन्ने आधार बलियो छ।
पर्यटनका लागि रुसको सबैभन्दा ठूलो सम्पत्ति क्रेमलिन वा सेन्ट पिटर्सबर्ग मात्र होइन। त्यो आर्कटिकदेखि काकेशस र बाल्टिकदेखि प्रशान्त महासागरसम्म फैलिएको भूगोल, हजारौँ वर्षको इतिहास र अनेक सभ्यताको सहअस्तित्व हो। अहिलेको रूसी नीति यही विशाल सम्पत्तिलाई आधुनिक पर्यटन अर्थतन्त्रमा रूपान्तरण गर्ने दिशामा अघि बढिरहेको छ।





