रसुवा बाढीमा ६४४ बेपत्ता सूचीमा, ५१७ विदेशी; नेपाली बेपत्ताको वास्तविक संख्या अझै अस्पष्ट

ड्रागन मिडिया सम्वाददाता
रसुवाको टिमुरे तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिको यकिन विवरण संकलनमै गम्भीर समस्या देखिएको छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बाढीपछि सम्पर्कविहीन तथा बेपत्ता सूचीमा रहेका नेपाली र विदेशी नागरिकको संख्या ६४४ पुगेको छ। तीमध्ये विदेशी नागरिक मात्रै ५१७ जना छन् भने नेपाली १२७ जना सूचीमा छन्।
नेपाल पर्यटन बोर्डको बिहीबार दिउँसो १२ बजेसम्मको विवरणमा ३३ देशका नागरिक बेपत्ता रहेको उल्लेख छ। विदेशीमध्ये सबैभन्दा धेरै भारतका १७८ जना छन्। त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन्। रुसका आठ, जर्मनीका आठ, सिंगापुरका नौ तथा अन्य विभिन्न देशका नागरिकसमेत बेपत्ता सूचीमा छन्।

तर यो विवरणलाई नै रसुवा बाढीमा हराएका सबै व्यक्तिको अन्तिम संख्या मान्न सकिने अवस्था छैन। विशेषगरी स्थानीय नेपाली नागरिक, मजदुर, चालक, व्यवसायी तथा घटनास्थल आसपास अस्थायी रूपमा बसिरहेका व्यक्तिको पूर्ण विवरण अझै संकलन हुन नसकेको आशंका छ। परिवार र स्थानीय तहबाट सम्पर्कविहीन व्यक्तिको विवरण आउने क्रम जारी रहेकाले नेपाली बेपत्ताको वास्तविक संख्या सरकारी सूचीभन्दा धेरै हुन सक्ने देखिन्छ।
रसुवा भन्सार कार्यालयमा कार्यरत कर्मचारीसमेत ठूलो संख्यामा सम्पर्कविहीन छन्। भन्सार कार्यालयले सार्वजनिक गरेका दुई छुट्टाछुट्टै विवरणमा भीमबहादुर लामा, विष्णुप्रसाद भुसाल, दिनेश कुमार घिमिरे, अनिता पुरी, हरिबहादुर खड्का, राजेन्द्र कुमार सोनकार, विमल त्रिपाठी, सुनिल गुरुङ, रामबहादुर नेपाली, गोविन्दबहादुर अधिकारी, नरेशदत्त जोशी, प्रेम सेढाईं, नवकुल शर्मा, राजु वली र विकास तामाङ गरी कम्तीमा १५ कर्मचारी हालसम्म सम्पर्कमा आउन नसकेको उल्लेख छ।

यस घटनाले नेपालको विपद पूर्वतयारी, सूचना प्रणाली र अन्तरनिकाय समन्वयमाथि पनि गम्भीर प्रश्न उठाएको छ। ठूलो प्राकृतिक विपदपछि समेत कति व्यक्ति प्रभावित भए, कति बेपत्ता छन् र घटनास्थलमा कति मानिस थिए भन्ने आधारभूत तथ्यांक तत्काल उपलब्ध हुन नसक्नु आफैंमा संस्थागत कमजोरीको संकेत हो।
विशेषगरी मौसम पूर्वानुमान, जलप्रवाह अनुगमन, पूर्वसूचना प्रवाह, स्थानीय प्रशासन तथा उद्धार संयन्त्रबीच सूचना कसरी आदानप्रदान भयो भन्ने विषयको निष्पक्ष समीक्षा आवश्यक देखिएको छ। विपद व्यवस्थापनमा केही मिनेट वा केही घण्टाको सूचना अन्तरले समेत ठूलो मानवीय क्षति रोक्न सक्ने भएकाले निकायहरूबीच जिम्मेवारी र समन्वयको स्पष्ट संरचना अत्यावश्यक हुन्छ।
अहिलेको प्राथमिकता भनेको अनुमानका आधारमा संख्या बढाउने वा घटाउनेभन्दा बेपत्ता प्रत्येक व्यक्तिको पहिचान, राष्ट्रियता र अन्तिम सम्पर्कस्थल पुष्टि गर्दै एकीकृत सरकारी सूची तयार गर्नु हो। स्थानीय तह, अध्यागमन, पर्यटन व्यवसायी, होटल, यातायात व्यवसायी, भन्सार, सुरक्षा निकाय र परिवारबाट प्राप्त विवरणलाई एउटै प्रणालीमा जोड्न नसकेसम्म वास्तविक मानवीय क्षतिको चित्र स्पष्ट हुने छैन।
रसुवाको विपदले राहत र उद्धारसँगै नेपालको विपद व्यवस्थापन प्रणालीको संरचना, पूर्वसूचना संयन्त्र र सरकारी निकायबीचको समन्वयमाथि गम्भीर पुनरावलोकनको आवश्यकता पनि देखाएको छ। यस्तो बेला तथ्यांकको अन्योल केवल प्रशासनिक कमजोरी होइन, खोजी तथा उद्धार कार्यमै प्रत्यक्ष असर पार्ने विषय हो।





