१७ भाद्र २०८३, बुधबार

अमेरिका–इजरायल र इरानबीचको युद्ध छ महिना पूरा, कूटनीति अवरुद्ध र आर्थिक दबाब तीव्र

ड्रागन मिडिया समाचार कक्ष

अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारवाही शुरु गरेको शुक्रबार छ महिना पूरा भएको छ। गत फेब्रुअरी २८ मा शुरु भएको युद्धबीच जुनमा अमेरिका र इरानले समझदारीपत्रमा हस्ताक्षर गरे पनि अन्तिम सम्झौताका लागि भएका प्रयास असफल भएका छन्। पछिल्लो सैन्य तनाव र वासिङ्टनको नयाँ आर्थिक प्रतिबन्धले तत्काल समाधानको सम्भावना झन कमजोर बनाएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता अली खामेनीसहित उच्च सैन्य तथा राजनीतिक अधिकारीहरू मारिएका थिए। त्यसपछि इरानको इस्लामिक रिभोलुसन गार्ड कोरले मध्यपूर्वस्थित अमेरिकी सैन्य अखडा र इजरायली लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दै जवाफी कारवाही शुरु गरेको थियो।

मार्च २ मा लेबनानको हिज्बुल्लाह पनि इजरायलविरुद्धको आक्रमणमा प्रवेश गरेपछि द्वन्द्व क्षेत्रीय रूपमा फैलियो। मार्च ३ मा इरानले होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्‍यो। मार्च ८ मा इरानको विशेषज्ञ सभाले अली खामेनीका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्‍यो।

मार्चमा अमेरिका र इजरायलले इरानका सैन्य, आणविक तथा ऊर्जा संरचनामा आक्रमण जारी राखे। इरानले पनि इजरायल र क्षेत्रका अमेरिकी सैन्य प्रतिष्ठानमाथि प्रहार गरिरह्यो। पाकिस्तानमार्फत अमेरिकी १५ बुँदे शान्ति प्रस्ताव इरानसमक्ष पुगे पनि तेहरानले त्यसलाई अस्वीकार गर्दै अप्रिल ६ मा आफ्नै १० बुँदे प्रस्ताव प्रस्तुत गर्‍यो।

अप्रिल ८ मा अमेरिका र इरानबीच दुई साताको युद्धविराममा सहमति भयो। अप्रिल ११ मा इस्लामाबादमा वरिष्ठ अमेरिकी र इरानी अधिकारीबीच वार्ता भए पनि निर्णायक सम्झौता हुन सकेन। यसबीच होर्मुज जलडमरूमध्य युद्धको प्रमुख रणनीतिक केन्द्र बनिरह्यो।

मे ३ मा अमेरिकाले व्यापारिक पानीजहाजलाई होर्मुज हुँदै सुरक्षा दिने उद्देश्यले ‘प्रोजेक्ट फ्रिडम’ शुरु गर्‍यो। वार्तामा प्रगति भएको भन्दै उक्त अभियान केही समयपछि स्थगित गरिएको थियो।

जुन १४ मा पाकिस्तानले अमेरिका र इरानबीच शान्ति सम्झौतामा सहमति भएको घोषणा गर्‍यो। जुन १८ मा वासिङ्टन र तेहरानले समझदारीपत्रमा हस्ताक्षर गर्दै अन्तिम सम्झौताका लागि ६० दिने वार्ता अवधि शुरु गरे।

तर समझदारी लामो समय टिक्न सकेन। जुन अन्त्यदेखि पुनः सैन्य प्रहार शुरु भए। जुलाई ८ मा अमेरिकाले इरानका ८० लक्ष्यमा आक्रमण गरेपछि इरानले बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य लक्ष्यमा जवाफी प्रहार गरेको दाबी गर्‍यो। त्यसै दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको घोषणा गरे।

जुलाई १८ मा इरानले समझदारीपत्रअन्तर्गतका आफ्ना दायित्व पालना गर्न बन्द गरेको घोषणा गर्‍यो। यद्यपि कतार र पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष वार्ताका प्रयास जारी रहे।

अगस्ट १७ मा अन्तिम शान्ति सम्झौताका लागि निर्धारित ६० दिने अवधि कुनै सम्झौताबिना समाप्त भयो। त्यसपछि अमेरिकाले सैन्य दबाबसँगै आर्थिक दबाबलाई तीव्र बनाएको छ। अगस्ट १९ मा ट्रम्पले इरानलाई आर्थिक सहायता पुर्‍याउने मुलुक र संस्थामाथि व्यापक कारवाही गर्ने घोषणा गरे भने अगस्ट २४ मा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले थप कठोर प्रतिबन्ध घोषणा गरे।

इरानका वरिष्ठ सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकी आर्थिक अभियानलाई सहयोग गर्ने कुनै पनि मुलुकको कदमलाई इरानले ‘युद्धको कार्य’ का रूपमा लिन सक्ने चेतावनी दिएका छन्।

छ महिना पूरा भएको शुक्रबार इरानी विदेशमन्त्री सेयद अब्बास अराघचीले अमेरिकाले दबाबबाट इरानलाई झुकाउन नसकिने वास्तविकता स्वीकार गरे कूटनीति पुनः सही दिशामा फर्कन सक्ने बताए।

छ महिनाको युद्धपछि पनि निर्णायक सैन्य परिणाम वा स्थायी राजनीतिक समाधान देखिएको छैन। होर्मुज जलडमरूमध्य, इरानमाथिको अमेरिकी आर्थिक दबाब र पुनः वार्ताको सम्भावना अब युद्धको आगामी दिशा निर्धारण गर्ने प्रमुख विषय बनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button