१७ भाद्र २०८३, बुधबार

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

ड्रागन मिडिया सम्वाददाता

हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज गुञ्जिन थाल्छ। भीडको बीचबाट डरलाग्दो मुकुण्डो लगाएको लाखे निस्कन्छ र उसको चालसँगै भुच्चा पनि नाच्दै अघि बढ्छ।

दर्शकका लागि यो मनोरञ्जनको दृश्य हो, तर यहाँका युवाका लागि भने पुर्खाले छाडेर गएको मौलिक संस्कृति जोगाउने अभियान बनेको छ। कुनै समय नेवार समुदायको परम्परा, पहिचान र मनोरञ्जनसँग अभिन्न रूपमा जोडिएको लाखेनाच नयाँ पुस्तामा पर्याप्त रूपमा हस्तान्तरण हुन नसक्दा लोप हुने चिन्ता बढेपछि पाल्पाका युवा यसको संरक्षणमा सक्रिय भएका हुन्।

पाल्पाली नाट्य कला सांस्कृतिक समूहमा आबद्ध युवाले लाखेनाच संरक्षणलाई अभियानका रूपमा अघि बढाएका छन्। उनीहरूले घण्टाकर्णदेखि कृष्ण जन्माष्टमी तथा भगवती जात्राको अवधिसम्म हरेक साँझ लाखेनाच प्रदर्शन गर्दै आएका छन्।

समूहका अध्यक्ष किरण चित्रकारका अनुसार अभियानको उद्देश्य केवल नाच प्रदर्शन गर्नु नभई नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नु हो।

“बाबुबाजेको परम्परा बिर्सिन थाल्यौँ, त्यही भएर आफ्नो संस्कृति संरक्षणमा लागेका हौँ,” चित्रकारले भने, “लाखेनाच विस्तारै लोप हुँदै जान थालेको छ।”

नेवारी संस्कृति अन्य समुदायमाझ लोकप्रिय भए पनि आफ्नै समुदायबाट पर्याप्त संरक्षण हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे।

चित्रकारका अनुसार करिब पाँच सय वर्षअघि तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेनको पालादेखि पाल्पा र आसपासका क्षेत्रमा लाखेनाचको प्रचलन शुरु भएको मानिन्छ। इतिहासका जानकारका अनुसार मणिमुकुन्द सेनले काष्ठकला तथा संस्कृतिकलामा निपुण नेवार समुदायलाई पाल्पा ल्याएपछि गुठी र जात्रा परम्परामार्फत लाखेनाच पनि यहाँ भित्रिएको हो।

लाखेनाचको मुख्य आकर्षण यसको मुकुण्डो, वेशभूषा र बाजाको ताल हो। इतिहासका जानकार पुष्करराज रेग्मीका अनुसार डरलाग्दो मुकुण्डो, लाखेको हाउभाउ तथा ढोल र झ्याम्टाको तालले बालबालिकादेखि पाका पुस्तासम्मलाई आकर्षित गर्ने गरेको छ।

लोपोन्मुख अवस्थामा पुगेको लाखेनाच संरक्षणका लागि पाल्पाली नाट्य कला सांस्कृतिक समूहले तानसेनका बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल र वसन्तपुरलगायत स्थानमा हरेक साँझ ६ बजेदेखि करिब तीन घण्टासम्म नाच प्रदर्शन गर्दै आएको छ।

काठमाडौँ उपत्यकामा प्रचलित सांस्कृतिक परम्पराका रूपमा बढी चिनिने लाखेनाच पाल्पासहित अन्य नेवार बस्तीमा पनि लामो समयदेखि चलिआएको छ। तानसेनबाहेक रामपुर, सराई, हार्थोक र आर्यभञ्ज्याङलगायत नेवार समुदायको बसोबास रहेका क्षेत्रमा पनि लाखेनाचको परम्परा रहेको छ।

यो नाचमा दुई पात्र हुन्छन्। एक जनाले डरलाग्दो मुकुण्डो लगाएर लाखेको भूमिका निर्वाह गर्छ भने अर्को भुच्चाको रूपमा प्रस्तुत हुन्छ। लाखेले पछाडिपट्टि चौँरी गाईको चमर तथा घाँघर र चोलोसहितको वेशभूषा लगाउने गर्छ। भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाबाट बनाइएको पुच्छर लगाउने परम्परा छ।

पाल्पामा नयाँ पुस्ताले लाखेनाच संरक्षणका लागि थालेको अभियानलाई छिमेकी जिल्लाका संस्कृति संरक्षणमा सक्रिय सरोकारवालाले पनि सकारात्मक रूपमा लिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button