१७ भाद्र २०८३, बुधबार

केरुङ विपदको कारण पहिचान, नेपालतर्फ लाङटाङ लिरुङ क्षेत्रमा हिम–चट्टान अवरोहबाट विशाल गेग्रान बहाव

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङमा अगस्ट २६ मा आएको विनाशकारी गेग्रान बहावको प्रारम्भिक वैज्ञानिक कारण पहिचान भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

सिचाङ स्वायत्त क्षेत्र सरकारको सूचना कार्यालयले अगस्ट ३० मा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत वैज्ञानिक अध्ययनअनुसार विपदको उद्गम नेपालतर्फ लाङटाङ लिरुङ हिमाल क्षेत्रमा भएको हिमनदी तथा चट्टानको ठूलो अवरोहसँग जोडिएको छ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत छेङ्दु पर्वतीय जोखिम तथा वातावरण अनुसन्धान संस्थानको हिममण्डल आपतकालीन विपद न्यूनीकरण टोलीले उपग्रह दूरसंवेदी तथ्याङ्क, घटनास्थलबाट प्राप्त सामग्री र स्थलगत सर्वेक्षणको संयुक्त विश्लेषणपछि यस्तो निष्कर्ष निकालेको हो।

वैज्ञानिक टोलीका अनुसार बेइजिङ समयअनुसार अगस्ट २६ बिहान करिब १० बजेर ५२ मिनेटमा नेपालभित्र लाङटाङ लिरुङ क्षेत्रमा समुद्री सतहदेखि करिब पाँच हजार २०० मिटर उचाइमा रहेको हिमनदीको एउटा भाग भत्किएको थियो। त्यससँगै ठूलो परिमाणमा हिम र चट्टान तीव्र गतिमा तल खसेको थियो।

हिम–चट्टानको उक्त अवरोह करिब चार हजार मिटर उचाइसम्म तीव्र गतिमा झरेपछि आसपासका भिरालो भूभाग र गेग्रानलाई समेत समेट्दै विशाल गेग्रान बहावमा परिणत भएको वैज्ञानिक अध्ययनले देखाएको छ।

त्यसपछि बहाव उच्च गतिमा करिब २२ किलोमिटर यात्रा गर्दै समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइमा रहेको चीनतर्फको केरुङ नाकासम्म पुगेको थियो।

उक्त गेग्रान बहावले केरुङ क्षेत्रमा करिब ०.७ वर्गकिलोमिटर भूभागमा व्यापक विनाश गरेको र २७ वटा भवन तथा तिनसँग सम्बन्धित संरचना र पूर्वाधार पूर्ण रूपमा नष्ट भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।

वैज्ञानिक अध्ययनअनुसार हिम–चट्टान अवरोह शुरु भएको केही मिनेटमै त्यसले अत्यन्त शक्तिशाली गेग्रान बहावको रूप लिएको थियो। उच्च स्थानबाट तीव्र गतिमा झरेको हिम, चट्टान, माटो र पानीको मिश्रणले बाटोमा रहेका थप ढुंगा तथा गेग्रान बटुल्दै यसको आकार र विनाशकारी शक्ति तीव्र रूपमा बढाएको थियो।

केरुङसम्म पुग्ने क्रममा बहावले सडक, सञ्चार र विद्युत पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ।

चिनियाँ वैज्ञानिक तथा विपद व्यवस्थापन निकायले घटनाको थप अध्ययन जारी राखेका छन्। विशेषगरी हिमनदीको बाँकी भाग, अस्थिर भिरालो भूभाग र नदी थुनिएर बनेका संरचनाको निरन्तर निगरानी गर्दै सम्भावित दोस्रो विपदको जोखिम मूल्याङ्कन भइरहेको छ।

यस घटनाले नेपाल र चीनबीचको हिमालयी सीमाक्षेत्रमा हिमनदी, हिम–चट्टान अवरोह र त्यसबाट उत्पन्न सीमापार गेग्रान बहाव तथा बाढीको जोखिमबारे संयुक्त वैज्ञानिक निगरानी र पूर्वसूचना प्रणालीको आवश्यकता अझ स्पष्ट बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button