सिमसार पर्यटनले फेरियो लुतेङ गाउँ, सामूहिक आम्दानी पाँच गुणाभन्दा बढी वृद्धि

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित न्यिङचीको यानी राष्ट्रिय सिमसार उद्यानसँग जोडिएको लुतेङ गाउँले पर्यावरण संरक्षणलाई पर्यटन र ग्रामीण अर्थतन्त्रसँग जोडेर उल्लेखनीय आर्थिक उपलब्धि हासिल गरेको छ। गाउँको सामूहिक आर्थिक आम्दानी दुई लाख २० हजार युआनबाट बढेर ११ लाख ९० हजार युआन पुगेको छ।
अगस्टको अन्त्यतिर शरद ऋतुको रङ देखिन थालेको यानी सिमसार क्षेत्रमा यार्लुङ जाङ्बो र न्याङ नदी एकआपसमा मिसिन्छन्। एउटा नदी धमिलो र अर्को स्वच्छ देखिने संगम क्षेत्र वरिपरि बालुवाका टापु, हरिया घाँसे मैदान र हिमालको प्रतिबिम्बले विशिष्ट उच्च भूभागीय पर्यावरण निर्माण गरेको छ।
समुद्री सतहदेखि करिब दुई हजार ९२० मिटर उचाइमा रहेको यानी राष्ट्रिय सिमसार उद्यानको कुल क्षेत्रफल आठ हजार ७३८ हेक्टर छ। सन् २००९ मा परीक्षणका रूपमा संरक्षण कार्य शुरु गरिएको यस क्षेत्रलाई सन् २०१६ मा औपचारिक रूपमा राष्ट्रिय सिमसार उद्यानको मान्यता दिइएको थियो।






सन् २०२१ को अनुगमन तथ्याङ्कअनुसार यहाँ ५७ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। तीमध्ये एउटा प्रजाति चीनको राष्ट्रिय प्रथम श्रेणीको संरक्षित सूचीमा र सात प्रजाति द्वितीय श्रेणीको संरक्षित सूचीमा छन्।
प्रत्येक वर्ष अक्टोबरको अन्त्यतिर कालो घाँटी भएका सारस उत्तर सिचाङबाट यहाँ आइपुग्छन् र जाडो यही क्षेत्रमा बिताउँछन्। त्यसपछि अर्को वर्ष मार्चदेखि अप्रिलसम्म उनीहरू पुनः उत्तरतर्फ फर्कन्छन्।
हालै छैटौँ चीन सिचाङ पर्यटन तथा संस्कृति अन्तर्राष्ट्रिय प्रदर्शनीसँग सम्बन्धित सञ्चारकर्मीको टोलीले यानी सिमसार क्षेत्र र आसपासका गाउँको भ्रमण गर्दै पर्यावरण संरक्षण तथा स्थानीय विकासबीचको सम्बन्ध अवलोकन गरेको थियो।
३५ वर्षीया स्थानीय बासिन्दा काल्साङ छोमो सिमसार संरक्षणकर्मीका रूपमा कार्यरत छिन्। उनको दैनिक काममा अवैध बालुवा उत्खनन र माछा मार्ने गतिविधि रोक्ने, फोहोर संकलन गर्ने तथा आप्रवासी चराचुरुङ्गीको संरक्षण गर्ने काम समावेश छन्।
उनका अनुसार विगतको तुलनामा अहिले सिमसार क्षेत्रमा माछा, चराचुरुङ्गी तथा वनस्पतिको संख्या उल्लेख्य रूपमा बढेको छ।
यानी राष्ट्रिय सिमसार उद्यानमा अहिले ७५ जना संरक्षणकर्मी कार्यरत छन्। उनीहरूले नियमित रूपमा नदी तथा सिमसार क्षेत्रको अनुगमन गर्दै उच्च भूभागको पर्यावरण संरक्षण गरिरहेका छन्।
सिमसारको केन्द्र क्षेत्रमा रहेको न्यिङचीको बायी जिल्लास्थित लुतेङ गाउँमा केवल ७५ घरधुरी छन्। यार्लुङ जाङ्बो नदीको किनारमा रहेको यो गाउँ विगतमा कच्ची सडक र कमजोर पूर्वाधारका कारण पिछडिएको गाउँका रूपमा चिनिन्थ्यो।
ग्वाङ्दोङबाट प्राप्त सिचाङ सहायता कोष र ग्रामीण पुनरुत्थान कोषको संयुक्त लगानीमा सञ्चालन गरिएको नमुना गाउँ परियोजना सन् २०२४ अक्टोबरमा सम्पन्न भएपछि गाउँको स्वरूप परिवर्तन भएको छ।
अहिले गाउँमा फराकिला सडक, व्यवस्थित तिब्बती शैलीका नयाँ आवास तथा सार्वजनिक संरचना निर्माण भएका छन्। गाउँ समितिनजिक स्थापना गरिएको प्रदर्शनी केन्द्रले स्थानीय क्षेत्रको ऐतिहासिक परिवर्तनलाई समेत प्रस्तुत गरिरहेको छ।
तर सबैभन्दा महत्वपूर्ण परिवर्तन स्थानीयको आम्दानीमा देखिएको छ।
यानी सिमसारको पर्यावरणीय सौन्दर्यले पर्यटक आकर्षित गर्न थालेपछि गाउँले सिमसार अवलोकनस्थल पर्यटन कम्पनीलाई सञ्चालनका लागि उपलब्ध गराएको छ। होमस्टे तथा आवास व्यवसाय पनि व्यावसायिक टोलीमार्फत सञ्चालन गरिएको छ, जसबाट गाउँको सामूहिक अर्थतन्त्रले नियमित आम्दानी प्राप्त गरिरहेको छ।
स्थानीय बासिन्दाले होमस्टेमा फलफूल, दूध तथा दुग्धजन्य सामग्री आपूर्ति गर्ने, हरियाली तथा वातावरणीय परियोजनामा काम गर्ने र पर्यटनसँग सम्बन्धित अन्य गतिविधिबाट आम्दानी गर्ने अवसर पाएका छन्।
सन् २०२४ मा गाउँको प्रतिव्यक्ति खर्चयोग्य आम्दानी ३० हजार युआन नाघेको थियो। गाउँको सामूहिक आर्थिक आम्दानी पनि पहिलेको दुई लाख २० हजार युआनबाट बढेर ११ लाख ९० हजार युआन पुगेको छ।
गाउँमा खटिएको कार्यदलका प्रमुख छिरिङ टाशीका अनुसार यानी सिमसारले पर्यटक आकर्षित गरेपछि स्थानीय कृषि उत्पादनको बजारसमेत विस्तार भएको छ।
“हाम्रो गाउँले यानी सिमसारका कारण धेरै पर्यटक आकर्षित गरेको छ। पर्यटक आएपछि स्थानीय कृषि उत्पादन बिक्री हुन्छ र त्यसबाट बासिन्दाको आम्दानी बढेको छ,” उनले बताए।
भ्रमणमा सहभागी विभिन्न चिनियाँ सञ्चारमाध्यमका पत्रकारले पनि सिमसार संरक्षण, ग्रामीण पर्यटन र स्थानीय जीवनस्तर सुधारबीचको सम्बन्धलाई उल्लेखनीय उदाहरणका रूपमा लिएका छन्।
यानी सिमसार र लुतेङ गाउँको अनुभवले पर्यावरण संरक्षण र आर्थिक विकासलाई एकअर्काको विरोधी नभई परिपूरक बनाउने सम्भावना देखाएको छ।
प्राकृतिक सम्पदा संरक्षण गर्ने स्थानीय बासिन्दा अहिले त्यही पर्यावरणबाट सिर्जित पर्यटन, कृषि बजार र रोजगारीका प्रत्यक्ष लाभग्राही बनेका छन्। उच्च भूभागको सिमसार संरक्षणसँगै स्थानीय आम्दानी वृद्धि भइरहेको यो अभ्यासलाई पर्यावरणीय संरक्षणमार्फत ग्रामीण पुनरुत्थानको नमुनाका रूपमा प्रस्तुत गरिएको छ।





