मदन पुरस्कारको इतिहासमा पाँचौँ महिला विजेता बनिन् वीणा जोशी

ड्रागन मिडिया सम्वाददाता
मदन पुरस्कारको सात दशक लामो इतिहासमा वीणा जोशी राजभण्डारी पाँचौँ महिला विजेता बनेकी छन्। मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार उनको कृति ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई प्रदान गर्ने निर्णय गरेसँगै मदन पुरस्कार पाउने महिला स्रष्टाको संख्या पाँच पुगेको हो।
गुठीको साधारण सभाले २०८२ सालमा प्रकाशित २९८ पुस्तकमध्ये प्रारम्भिक रूपमा छनोट गरिएका उत्कृष्ट १० कृतिबाट जोशीको पुस्तकलाई मदन पुरस्कारका लागि चयन गरेको हो। नेवार समुदायमा प्रचलित परम्परागत नाचको सङ्कलन, अभिलेखीकरण र संरक्षणमा पुस्तकले पुर्याएको योगदानलाई पुरस्कार छनोटको प्रमुख आधार बनाइएको छ।
मदन पुरस्कार पाउने पहिलो महिला साहित्यकार पारिजात हुन्। उनको उपन्यास ‘शिरीषको फूल’ले वि.सं. २०२२ को मदन पुरस्कार प्राप्त गरेको थियो। प्रेम, युद्ध, एक्लोपन, अस्तित्व र मानवीय मनोविज्ञानलाई फरक शैलीमा प्रस्तुत गरेको उक्त कृति नेपाली आधुनिक आख्यानको महत्वपूर्ण रचनाका रूपमा स्थापित छ।
त्यसपछि महिला लेखकले मदन पुरस्कार पाउन चार दशकभन्दा लामो समय कुर्नुपर्यो। झमक घिमिरेको आत्मजीवनीपरक कृति ‘जीवन काँडा कि फूल’ले वि.सं. २०६७ को मदन पुरस्कार प्राप्त गर्यो। व्यक्तिगत संघर्ष, आत्मसम्मान र जीवनप्रतिको अदम्य इच्छाशक्तिलाई समेटेको उक्त कृतिले नेपाली आत्मकथा साहित्यमा विशिष्ट स्थान बनाएको छ।
वि.सं. २०७० मा राधा पौडेलको ‘खलङ्गामा हमला : एउटी नर्सको डायरी’ मदन पुरस्कारबाट सम्मानित भयो। नेपालको सशस्त्र द्वन्द्वका क्रममा जुम्लाको खलङ्गामा भएको आक्रमणलाई स्वास्थ्यकर्मीको अनुभवबाट अभिलेख गरिएको कृतिले युद्धको मानवीय पक्षलाई सशक्त रूपमा प्रस्तुत गरेको छ।
त्यसको चार वर्षपछि नीलम कार्की ‘निहारिका’को उपन्यास ‘योगमाया’ले वि.सं. २०७४ को मदन पुरस्कार प्राप्त गर्यो। सामाजिक सुधारक योगमाया न्यौपानेको जीवन, विद्रोह र सामाजिक परिवर्तनको संघर्षलाई केन्द्रमा राखेको कृतिले इतिहासमा ओझेलमा परेको महिला आवाजलाई साहित्यमार्फत पुनः स्थापित गरेको थियो।
अब वीणा जोशी राजभण्डारीको नाम यही श्रृंखलामा पाँचौँ महिला विजेताका रूपमा जोडिएको छ। उनको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ आख्यानभन्दा पृथक सांस्कृतिक अध्ययन र अभिलेखीकरणमा आधारित कृति हो। पुस्तौँदेखि समुदायभित्र जीवित रहेका मुकुन्डो नाच, पात्र, अनुष्ठान, संगीत र सांस्कृतिक अभ्यासलाई पुस्तकले दस्तावेजीकरण गरेको छ।
यसपटकको निर्णयले मदन पुरस्कारमा महिला लेखकीय उपस्थितिको इतिहासलाई मात्रै विस्तार गरेको छैन, नेपाली समाजको मौलिक संस्कृति र अमूर्त सम्पदाको अनुसन्धान तथा अभिलेखीकरणसमेत प्रतिष्ठित साहित्यिक सम्मानको दायरामा महत्वपूर्ण विषय बन्न सक्ने सन्देश दिएको छ।
मदन पुरस्कारको इतिहासमा अब पारिजात, झमक घिमिरे, राधा पौडेल, नीलम कार्की ‘निहारिका’ र वीणा जोशी राजभण्डारी गरी पाँच महिला स्रष्टाले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्।





