२६ भाद्र २०८३, शुक्रबार

पौवादुङमामा ५० लाखको गाईभैंसी पकेट विकास कार्यक्रम

ड्रागन मिडिया सम्वाददाता

पशुपालनमार्फत किसानलाई आत्मनिर्भर बनाउँदै आयआर्जन र पोषण सुरक्षामा जोड्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले चालु आर्थिक वर्षमा गाईभैंसी नयाँ पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ।

विगतका वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले यस वर्ष ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो। गाउँपालिकाको २५ लाख रुपैयाँ र किसानको २५ लाख रुपैयाँ गरी कुल ५० लाख रुपैयाँ बराबरको बजेटमा कार्यक्रम सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

कार्यक्रमअन्तर्गत किसानको मागका आधारमा उन्नत जातका गाई तथा भैंसी वितरण गरिनेछ। गत आर्थिक वर्षमा यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएको थियो। यस वर्ष पनि इच्छुक समूह तथा कृषि फार्मबाट प्रस्ताव माग गर्न सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामा सहयोग पुर्‍याउने लक्ष्यसहित कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनका अनुसार विगतका वर्षदेखि नै उन्नत जातका गाईभैंसी वितरण गर्दै आएको गाउँपालिकाले यस वर्ष पनि कार्यक्रम विस्तार गर्ने तयारी गरेको छ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रममार्फत पनि पशुपालन तथा कृषि क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्।

गाउँपालिकाका अनुसार गाईभैंसी नयाँ पकेट विकास कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७ को पहिलो संशोधन २०८१ मा तोकिएको स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिनेछ।

कार्यक्रममा कृषि तथा पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि र पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन्। गाउँपालिकाले कार्यक्रमबाट व्यावसायिक पशुपालन विस्तार, दूध उत्पादन वृद्धि र किसानको नियमित आम्दानीमा टेवा पुग्ने अपेक्षा गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button