१३ कार्तिक २०८३, बिहीबार

मोनाको राजपरिवारका सदस्यको मृत्यु प्रकरणमा युक्रेनी नागरिकमाथि अभियोग

ड्रागन मिडिया समाचार कक्ष

मोनाको राजपरिवारसँग सम्बन्धित २९ वर्षीय एन्ट्वान दे मासीको मृत्यु प्रकरणमा ४२ वर्षीय युक्रेनी नागरिकलाई पक्राउ गरी न्यायिक हिरासतमा राखिएको छ। मोनाकोको सरकारी वकिलको कार्यालयलाई उद्धृत गर्दै फ्रान्सेली पत्रिका ‘ले फिगारो’ले जनाएअनुसार ती व्यक्तिमाथि खतरामा परेको व्यक्तिलाई सहायता नगरेको र लापरवाहीका कारण मृत्यु भएको अभियोग लगाइएको छ।

मोनाकोमै ३० वर्षदेखि बस्दै आएका ती व्यक्तिले आफूमाथिका आरोप अस्वीकार गरेका छन्। तर, न्यायाधीशका प्रश्नको जवाफ दिन अस्वीकार गरेको सरकारी वकिलको कार्यालयलाई उद्धृत गर्दै ‘ले फिगारो’ले जनाएको छ। उनलाई कुन खास कार्यका आधारमा अभियुक्त बनाइएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन।

दे मासी अक्टोबर २५ मा लार्भोत्तो क्षेत्रनजिकैको एक सार्वजनिक चोकमा मृत भेटिएका थिए। ‘एएफपी’ले उद्धृत गरेको शवपरीक्षणको प्रारम्भिक विवरणअनुसार उनी करिब १३ मिटर उचाइबाट खसेको हुन सक्ने देखिएको छ।

‘ले फिगारो’को स्रोतका अनुसार दे मासी आइतबार राति एउटा रात्रिक्लबबाट बाहिरिँदै गरेको देखिएका थिए। घटनाबारे अनुसन्धान जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button