२६ भाद्र २०८३, शुक्रबार

युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मनाइँदै

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो। छोटो जीवनकालमै उनले नेपाली भाषा, साहित्य र पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

मोतीराम भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएर उनको साहित्यिक योगदानलाई व्यापक रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले नेपालमा छापाखाना भित्र्याउनसमेत योगदान दिएका थिए र यही प्रक्रियालाई नेपालमा आधुनिक प्रकाशन तथा पत्रकारिताको विकाससँग जोडेर हेरिन्छ।

उनले कविता, गजल, जीवनी लेखन, सम्पादन र प्रकाशनका माध्यमबाट नेपाली साहित्यलाई नयाँ दिशा दिएका थिए। नेपाली गजल परम्पराको विकासमा पनि मोतीराम भट्टको योगदान विशेष मानिन्छ।

उनको जन्मजयन्तीका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्दैछन्।

नेपाली शिक्षा परिषद्ले दिउँसो २ बजे कवि सम्मेलन आयोजना गर्नुका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको परिषद्की अध्यक्ष रमा शर्माले जानकारी दिइन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button