आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी

ड्रागन मिडिया सम्वाददाता
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
राति देशका पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।





