कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच शिक्षा, सेवा र अनुसन्धानमा सहकार्य

ड्रागन मिडिया सम्वाददाता
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ। दुर्गम तथा जटिल भौगोलिक क्षेत्रमा स्थापित दुवै प्रतिष्ठानले आपसी सहकार्यबाट पिछडिएका क्षेत्रको स्वास्थ्य अवस्था सुधार गर्दै साझा सरोकारका विषयमा संयुक्त रूपमा काम गर्ने सहमति गरेका हुन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजय कुमार मिश्रका तर्फबाट रजिष्ट्रार प्रा. श्याम लम्साल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेयान्ग्बोले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौताले उपलब्ध जनशक्ति, पूर्वाधार र प्राविधिक क्षमतालाई आवश्यकताअनुसार साझा रूपमा उपयोग गर्दै स्वास्थ्य सेवा र शैक्षिक गतिविधिको प्रभावकारिता बढाउने लक्ष्य राखेको छ।
सम्झौताअनुसार दुवै प्रतिष्ठानले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव, त्यसका सम्भावित समाधान तथा हिमाली जडीबुटीको वैज्ञानिक अध्ययनमा संयुक्त अनुसन्धान गर्नेछन्। देशभित्र उपलब्ध जडीबुटी प्रयोग गरी स्वदेशमै आधुनिक औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिनेछ। जलवायु परिवर्तन र हिमाली जडीबुटीसँग सम्बन्धित स्वास्थ्य अनुसन्धान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बढ्दो महत्वको विषय भएकाले यस क्षेत्रमा संयुक्त अध्ययनलाई प्राथमिकता दिइएको छ।
दुवै संस्थाले दुर्गम क्षेत्रका स्वास्थ्य समस्यामा संयुक्त अनुसन्धान सञ्चालन गर्दै स्वास्थ्य सेवा, स्वास्थ्य संरचना सुधार र जनशक्ति व्यवस्थापनमा निरन्तर सहकार्य गर्ने सहमति गरेका छन्। आवश्यकता अनुसार प्राविधिक तथा प्रशासनिक जनशक्ति आदानप्रदान गरी सेवा प्रवाह, तालिम, शैक्षिक गतिविधि र अनुसन्धानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि सम्झौतामा समेटिएको छ।
सम्झौताले पिछडिएका क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। समान उद्देश्यका लागि उपलब्ध साधन श्रोतलाई एकीकृत गरी स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न यस सहकार्यले सहज वातावरण बनाउने विश्वास दुवै प्रतिष्ठानका पदाधिकारीले व्यक्त गरेका छन्।





