२९ भाद्र २०८३, सोमबार

कांग्रेसको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन महामन्त्री पौडेलको आह्वान

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्। आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्वपूर्ण अवसरका रूपमा लिँदै उनले सबै तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।

आइतबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद दिएको जानकारी दिए। महाधिवेशन प्रक्रियामा कुनै पनि क्रियाशील सदस्य छुट्न नदिने उद्देश्यले सदस्यता सम्बन्धी समयावधि पटकपटक थपिएको र वडा अधिवेशनको कार्यतालिकासमेत परिमार्जन गरिएको उनले बताए।

विशेष महाधिवेशनमा सहभागी नभएका धेरै सदस्य पनि केन्द्रदेखि वडा र टोल तहसम्मको नियमित अधिवेशन प्रक्रियामा सक्रिय रूपमा सहभागी भइरहेको उल्लेख गर्दै पौडेलले उनीहरूको भूमिकाको पार्टीले सम्मान गरेको बताए। कांग्रेसले १५औँ महाधिवेशनलाई ‘महाउत्सव’ का रूपमा लिएको उल्लेख गर्दै पार्टीभित्र रहेका असहमति र चासोलाई संवाद तथा सहमतिमार्फत सम्बोधन गर्न केन्द्रीय कार्यसमितिले निरन्तर प्रयास गरिरहेको उनको भनाइ थियो।

बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले पार्टीभित्र कुनै असहमति रहे आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान पनि महाधिवेशन नै भएको निष्कर्ष निकालेको छ। सबै सदस्यलाई सहभागी हुने वातावरण निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको महामन्त्री पौडेलले जानकारी दिए।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली पनि स्वीकृत गरेको छ। बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामाबारे सभापति थापाले जानकारी गराएका थिए।

बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला पन्त र योगेन्द्र चौधरी तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुङ्गाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आआफ्नो धारणा राखेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button