बझाङमा जङ्गली च्याउ टिप्न गएका ३३ वर्षीय युवक छ दिनदेखि बेपत्ता

ड्रागन मिडिया सम्वाददाता
बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का छ दिनदेखि बेपत्ता भएका छन्। भदौ २३ गते बिहान लहरे सामुदायिक वनअन्तर्गत डाँडाकोट क्षेत्रमा जङ्गली च्याउ टिप्न जाने भन्दै घरबाट निस्किएका खड्का त्यसयता सम्पर्कविहीन छन्।
परिवारका अनुसार खड्काले साँझसम्म घर फर्किने बताएका थिए। तर उनी नफर्किएपछि परिवार, आफन्त र स्थानीयवासीले खोजी शुरु गरेका छन्। डाँडाकोट क्षेत्र बझाङ र बाजुराको सीमाक्षेत्रमा पर्ने भएकाले सम्भावित स्थानमा पुगेर खोजी गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ।
बेपत्ता भएको छ दिन बितिसक्दा पनि खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेपछि परिवार थप चिन्तित बनेको छ। उनका काका फिट्टु खड्काका अनुसार उक्त क्षेत्रमा मोबाइल सञ्जालसमेत नहुँदा खोजीकार्य र खोजीमा खटिएका व्यक्तिबीच सम्पर्क गर्न समस्या भइरहेको छ।
परिवारले खोजीकार्यलाई तीव्र बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ। आवश्यक जनशक्ति परिचालन गर्नुका साथै सम्भव भएसम्म आधुनिक प्रविधि प्रयोग गरेर खोजी गर्न पनि परिवारले अनुरोध गरेको छ।
खड्काको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल खबर गरिदिन परिवारले स्थानीयवासी तथा सबै सरोकारवालासँग अपिल गरेको छ।





