२९ भाद्र २०८३, सोमबार

एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

ड्रागन मिडिया सम्वाददाता

यूएईलाई ४४ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको उपाधि रक्षा गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा यूएईलाई हराउँदै नेपालले लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि जितेको हो।

उपाधिसहित स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थक तथा नेपाल क्रिकेट संघका पदाधिकारीले भव्य स्वागत गरेका छन्। खेलाडी र प्रशिक्षकलाई फूलमाला लगाएर स्वागत गरिएको थियो भने समर्थकले नारासहित उत्साह व्यक्त गरेका थिए।

यो उपाधिसँगै नेपाल लगातार दोस्रोपटक एकदिवसीय एसिया कपका लागि छनोट भएको छ। एसियाली क्रिकेट परिषद्को आयोजनामा हुने प्रिमियर कपको विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्र सहभागी एसिया कपमा खेल्ने अवसर प्राप्त गर्ने प्रावधान छ। सोही आधारमा नेपालले पुनः एसिया कपमा स्थान सुरक्षित गरेको हो।

यसअघि सन् २०२३ मा घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई सात विकेटले पराजित गर्दै पहिलोपटक एसिया कपमा स्थान बनाएको थियो। त्यसपछि नेपालले भारत र पाकिस्तानजस्ता विश्वस्तरीय टोलीसँग प्रतिस्पर्धा गर्दै एसिया कपमा ऐतिहासिक सहभागिता जनाएको थियो।

यसपटक उपाधि रक्षा गर्दै नेपालले लगातार दोस्रो संस्करणमा एसिया कप खेल्ने अवसर सुनिश्चित गरेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको नेपाली टोलीका लागि यो सफलता महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रिमियर कपको लगातार दोस्रो उपाधिले नेपाली क्रिकेट टोलीको मनोबल बढाउनुका साथै एसियाली क्रिकेटमा नेपालको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप बलियो बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button