२९ भाद्र २०८३, सोमबार

कांग्रेसको १५औँ महाधिवेशनका क्रियाशील सदस्यको नामावली स्वीकृत

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन प्रक्रियामा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरेको हो।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औँ महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको नामावली तयार गरी सभापति गगनकुमार थापासमक्ष पेस गरेको थियो। नेपाली कांग्रेसको विधान, २०१७ को एघारौँ संशोधनसहित धारा ४ को उपधारा ९ बमोजिम आवश्यक प्रक्रिया पूरा भएपछि सभापति थापाले नामावली स्वीकृत गर्ने निर्णय गरेका हुन्।

क्रियाशील सदस्यहरूको नामावली स्वीकृत भएसँगै १५औँ महाधिवेशनका लागि मताधिकार प्रयोग गर्ने प्रतिनिधि छनोटको आधारसमेत तयार भएको छ। पार्टी विधानअनुसार सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएको समितिले लामो समयदेखि क्रियाशील सदस्यता वितरण, नवीकरण, अद्यावधिक तथा विवाद समाधानसम्बन्धी प्रक्रियागत काम गर्दै आएको थियो।

नामावली स्वीकृत भएपछि कांग्रेसका वडा तथा अन्य तल्लो तहका अधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका साङ्गठनिक प्रक्रियाले थप गति लिने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button