२९ भाद्र २०८३, सोमबार

घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

ड्रागन मिडिया सम्वाददाता

हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भदौ ३० गते मङ्गलबारदेखि दुईदिने ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने भएको छ। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका स्थानीय तहमा पारेको असर, अनुकूलनका उपाय र साझा रणनीतिबारे छलफल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनमा सहभागिताका लागि देशभरका ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिएको थियो। आइतबारसम्म ४२० स्थानीय तहले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए। सम्मेलनमा ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिको पनि सहभागिता रहनेछ।

प्रदेशगत रूपमा कोशी प्रदेशबाट ७२, मधेस प्रदेशबाट ५८, बागमती प्रदेशबाट ४६, गण्डकी प्रदेशबाट ६४, लुम्बिनी प्रदेशबाट ६२, कर्णाली प्रदेशबाट ३८ र सुदूरपश्चिम प्रदेशबाट ६६ स्थानीय तहले सहभागिताका लागि नाम दर्ता गराएका छन्। सम्मेलन आयोजना गर्न मुस्ताङका अन्य चार स्थानीय तहले पनि सहयोग पुर्‍याइरहेका छन्।

गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार हिमाली जिल्लाबाट जलवायु परिवर्तनको प्रभावबारे स्थानीय तहको साझा आवाज निर्माण गर्नु सम्मेलनको प्रमुख उद्देश्य हो। स्थानीय अनुभव, अनुकूलनका अभ्यास र भविष्यका नीति प्राथमिकतालाई एउटै मञ्चमा समेट्ने तयारी गरिएको छ।

सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

मुस्ताङमा पहिलोपटक यस स्वरूपमा आयोजना हुन लागेको सम्मेलनलाई जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, पानीका श्रोतमा देखिएको परिवर्तन, कृषि प्रणालीमा परेको प्रभाव तथा पहाड र तराईसम्म फैलिएका वातावरणीय चुनौतीबारे स्थानीय तहको साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button