३० भाद्र २०८३, मंगलवार

बाढी प्रभावित दुर्गम क्षेत्रमा राहत पुर्‍याउन सशस्त्र प्रहरीलाई अमेरिकी कार्गो ड्रोन

ड्रागन मिडिया सम्वाददाता

नेपालका लागि अमेरिकी दूतावासका उपप्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले आज सशस्त्र प्रहरी बल, नेपाल र सेभेन समिट ट्रेक्ससँग अमेरिकी निर्मित फ्रीफ्लाई अल्टा एक्स जेन२ व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण कार्यक्रममा सहभागिता जनाएका छन्।

सशस्त्र प्रहरी बलले उक्त ड्रोन दुर्गम भूभागका कारण स्थलमार्गबाट सहज पहुँच नपुगेका बाढी प्रभावित समुदायमा अत्यावश्यक राहत सामग्री पुर्‍याउन प्रयोग गर्नेछ। विशेषगरी सडक सम्पर्क विच्छेद भएका वा परम्परागत ढुवानी कठिन भएका क्षेत्रमा राहत सामग्री छिटो पुर्‍याउन ड्रोन उपयोगी हुने अपेक्षा गरिएको छ।

यसअघि सेभेन समिट ट्रेक्सले अमेरिकी दूतावासको एसेन्ट समिट कार्यक्रमअन्तर्गत आमा दब्लाम क्षेत्रमा उक्त ड्रोनको परीक्षण गरेको थियो। परीक्षणका क्रममा ड्रोनले कठिन उच्च हिमाली परिस्थितिमा विभिन्न उच्च शिविरबीच अक्सिजन सिलिन्डर र आरोहण उपकरण सफलतापूर्वक ढुवानी गरेको थियो।

सगरमाथा क्षेत्रमा गरिएको उच्च उचाइको परीक्षणले नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थामा कार्गो ड्रोनको व्यावहारिक प्रयोग सम्भव रहेको देखाएको थियो। यही अनुभवका आधारमा अब यस प्रविधिलाई विपद् प्रतिकार्य तथा मानवीय राहत ढुवानीमा उपयोग गर्न लागिएको हो।

अल्टा एक्स जेन२ कार्गो ड्रोन हस्तान्तरण नेपालको बाढी प्रतिकार्यमा अमेरिकी सहयोगको एक हिस्सा हो। अमेरिकी पक्षले प्रभावित समुदाय तथा परिवारका लागि मानवीय राहत, रसद व्यवस्थापन, फरेन्सिक, कन्सुलर तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button