पोखरामा भूउपयोग वर्गीकरण पूरा, जग्गाको कित्ताकाट खुल्यो

ड्रागन मिडिया सम्वाददाता
पोखरा महानगरपालिकाले ३३ वटै वडाको भूउपयोग वर्गीकरण पूरा गरेसँगै लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुलेको छ। महानगर क्षेत्रका झन्डै सात लाख कित्ता जग्गाको भूउपयोग वर्गीकरण गरी कार्यान्वयनका लागि सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयमा विवरण पठाइएको महानगरपालिकाले जनाएको छ।
महानगरप्रमुख धनराज आचार्यका अनुसार ‘भूउपयोग ऐन २०७६’ तथा ‘भूउपयोग नियमावली २०७९’ बमोजिम जग्गाको प्रकृति र प्रयोगका आधारमा भूउपयोग वर्गीकरण तयार गरिएको हो। महानगरपालिकाको भूउपयोग परिषद्को सिफारिस र नगर कार्यपालिकाको निर्णयपछि वर्गीकरणसम्बन्धी विवरण स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
महानगरपालिकाले स्वीकृत भूउपयोग वर्गीकरणका आधारमा प्रचलित कानुनबमोजिम जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी काम अघि बढाउन जिल्लास्थित भूमि प्रशासन र नापी कार्यालयलाई पत्राचार गरेको छ। ती कार्यालयबाट हुने जग्गासम्बन्धी सेवामा आवश्यक समन्वय गर्न पनि महानगरले आग्रह गरेको छ।
भूउपयोग वर्गीकरण पूरा भएपछि जग्गाको कित्ताकाट, खरिदबिक्री तथा अभिलेख व्यवस्थापनसम्बन्धी काम सहज हुने महानगरप्रमुख आचार्यले बताए। यसबाट जग्गासम्बन्धी सेवा लिन लामो समयदेखि समस्या भोग्दै आएका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने र भूमि व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने महानगरपालिकाको अपेक्षा छ।





