३० भाद्र २०८३, मंगलवार

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइयो

ड्रागन मिडिया सम्वाददाता

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार मैतीदेवीस्थित देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरी उनको साहित्यिक योगदान, व्यक्तित्व र विचारमाथि चर्चा गरेको हो।

कार्यक्रममा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र तथा प्रा. डा. महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गरेका थिए। प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले आगामी दिनमा पनि महाकवि देवकोटाको स्मृति दिवसलाई प्राथमिकताका साथ मनाइने प्रतिबद्धता व्यक्त गरेका थिए। देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो भने विसं २०१६ भदौ २९ गते उनको निधन भएको थियो।

दश वर्षको उमेरदेखि कविता लेख्न शुरु गरेका देवकोटाले महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कवितासहित नेपाली साहित्यका विभिन्न विधामा सयभन्दा बढी कृति दिएका थिए। ‘मुनामदन’ नेपाली भाषामा सर्वाधिक बिक्री भएका कृतिमध्ये प्रमुख मानिन्छ। उनका रचनामा मानवतावाद, प्रकृतिप्रेम, क्रान्तिकारिता तथा पूर्वीय र पाश्चात्य दर्शनको प्रभावशाली संयोजन पाइन्छ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन पनि देवकोटाको महत्वपूर्ण योगदान रहेको थियो। उनले विदेशी भाषामा नेपाली कृतिको अनुवाद गर्नुका साथै अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेका थिए। शिक्षा तथा स्वायत्त शासनमन्त्री रहेका बेला नेपाली भाषालाई देशभर अनिवार्य विषयका रूपमा लागू गराउन र वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

देवकोटाको सिर्जनात्मक क्षमता नेपाली साहित्यमा अद्वितीय मानिन्छ। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दश दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेको उल्लेख पाइन्छ। चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताबीच पनि निरन्तर उच्चस्तरीय साहित्य सिर्जना गर्नु उनको व्यक्तित्वको विशिष्ट पक्ष थियो।

‘पागल’ कवितालाई देवकोटाले स्वयं अङ्ग्रेजीमा अनुवाद गरेका थिए। पाश्चात्य ग्रीसेली साहित्यिक स्रोतबाट प्रेरित कथालाई नेपाली परिवेशमा रूपान्तरण गर्दै उनले ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’ र ‘प्रमिथस’ जस्ता कृति पनि सिर्जना गरेका थिए। नेपाली साहित्यमा आधुनिक महाकाव्य परम्परा, स्वच्छन्दतावादी चेतना र विश्व साहित्यसँगको संवाद स्थापित गर्ने देवकोटाको योगदान आज पनि नेपाली साहित्यिक इतिहासको उच्च शिखरका रूपमा स्थापित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button