बागमती, गण्डकी र कर्णालीका प्रमुख सडक प्रभावित, कतै पूर्ण अवरुद्ध कतै एकतर्फी सञ्चालन

ड्रागन मिडिया सम्वाददाता
बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्ड बाढी, पहिरो र मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी आवागमन गराइएको छ।
बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा १० टनसम्मका मालबाहक सवारी साधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। सो खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था छ। रसुवाका मुख्य राजमार्गहरू भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत शिवपुरी–८ को घट्टेखोलामा जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। पासाङ ल्हामु सडकअन्तर्गत विदुर–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७ स्थित कृष्णभिरमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ। सोही गाउँपालिकाको ज्वालाखोला र शीतलबजार क्षेत्रमा पहिरो हटाइएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको तुइनखोलामा मर्मत कार्य जारी रहेकाले सवारी चापअनुसार एकतर्फी आवागमन गराइएको छ।
गण्डकी प्रदेशको मनाङस्थित चामे–बेँसीसहर सडकअन्तर्गत नासो–३ धारापानीमा सडक निर्माण भइरहेकाले हाल साना सवारी साधन मात्र सञ्चालनमा छन्। कर्णाली प्रदेशको हुम्लास्थित कर्णाली करिडोरको सर्केगाड–६ खरीखेतमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीले यात्राअघि सम्बन्धित सडकको अद्यावधिक अवस्था बुझेर मात्र यात्रा तय गर्न नागरिकलाई आग्रह गरेको छ।





