३० भाद्र २०८३, मंगलवार

ऋषिपञ्चमी पर्व आज, अरुन्धतीसहित सप्तऋषिको पूजा गरिँदै


ड्रागन मिडिया सम्वाददाता

भाद्रपद शुक्ल पञ्चमीका अवसरमा आज ऋषिपञ्चमी पर्व मनाइँदैछ। नेपाली हिन्दु महिलाले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउने परम्परा छ।

धार्मिक परम्पराअनुसार महिलाले बिहान नित्यकर्म सकेर तीज व्रतको पारायण गरेपछि नदी, खोला, ताल, तलैया वा पोखरीमा स्नान गर्ने गर्छन्। दत्तिवनले दाँत माझ्ने तथा माटो, खरानी र गाईको गोबर प्रयोग गरी स्नान गर्ने चलन पनि रहेको छ। यस वर्ष चौथी तिथि टुटेकाले तीजको भोलिपल्ट नै ऋषिपञ्चमी परेको र व्रत पारायणपछि पञ्चमीसम्बन्धी कर्म गर्नुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषिपञ्चमी विशेषगरी महिलासँग सम्बन्धित पर्वका रूपमा वर्णित छ।

ऋषिपञ्चमीमा अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रसहित अरुन्धतीको पूजा गर्ने परम्परा छ। सप्तऋषिको पूजा गरिने भएकाले यस पर्वलाई ऋषिपञ्चमी भनिएको धार्मिक मान्यता छ।

यो पर्व महिलाको मासिक धर्मसँग जोडिएको धार्मिक विश्वास र प्रायश्चित्त परम्परासँग पनि सम्बन्धित छ। विभिन्न धार्मिक ग्रन्थमा रजस्वलाको समयमा परम्परागत रूपमा मानिएका नियम अनजानेमा उल्लङ्घन भएको भए सप्तऋषिको पूजा गरेर धार्मिक शुद्धि प्राप्त हुने विश्वास उल्लेख गरिएको छ। यस्ता मान्यतालाई धार्मिक र सांस्कृतिक परम्पराका रूपमा बुझिनुपर्ने हुन्छ।

ऋषिपञ्चमीसँग सम्बन्धित एउटा पौराणिक कथामा इन्द्रले विश्वरूपको हत्या गरेपछि लागेको ब्रह्महत्याको दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा विभाजन गरिएको उल्लेख छ। यही कथासँग विभिन्न प्राकृतिक तथा शारीरिक अवस्थालाई जोडेर व्याख्या गर्ने धार्मिक परम्परा विकसित भएको मानिन्छ।

व्रतविधिअनुसार पूजा सम्पन्न गरेपछि सामा, कागुनो, कन्दमूल, कर्कलालगायत रोपेर नउमारेका अन्न तथा खाद्य वस्तु सेवन गरी एक छाक हविष्य बस्ने चलन छ।

ऋषिपञ्चमीका अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर तथा अन्य धार्मिक स्थलमा श्रद्धालु महिलाको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाले नदी किनार वा घरमै अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्ने परम्परा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button