३० भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढीमा १,३९५ शव फेला, ५,१३० जना अझै बेपत्ता

ड्रागन मिडिया सम्वाददाता

भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार खोज तथा उद्धार कार्य प्रभावित क्षेत्रमा निरन्तर जारी छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

हालसम्म फेला परेका शवमध्ये १०४ जनाको मात्र सनाखत भएको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणले संकलित डीएनए नमुनाका आधारमा पहिचान हुन बाँकी शवको सनाखत गर्ने कामलाई प्राथमिकता दिएको जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका नागरिकलाई विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएको छ। तीमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन्।

विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ। नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श सेवा प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिइन्।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्ने, आधारभूत आवश्यकता पूरा गर्ने र राहत व्यवस्थापनलाई निरन्तरता दिने काममा राज्यका विभिन्न निकाय सक्रिय छन्। सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी संस्थाले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन्।

भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई उच्च प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button