झापामा साढे चार लाखले पाए राष्ट्रिय परिचयपत्र, एक लाखभन्दा बढी कार्ड वितरणको पर्खाइमा

ड्रागन मिडिया सम्वाददाता
झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
जिल्ला प्रशासन कार्यालय भद्रपुर तथा इलाका प्रशासन कार्यालय गौरीगञ्ज र दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण भइरहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीका अनुसार जिल्लामा आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएको छ। तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाका कार्ड केन्द्रबाट प्राप्त भएका छन्। प्राप्त कार्डमध्ये एक लाख एक हजार ८४४ वटा वितरणका लागि तयार छन्।
मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका वा कामविशेषले जिल्लाबाहिर रहेका व्यक्तिका कार्ड वितरण हुन नसकेको रायमाझीले बताए। “राष्ट्रिय परिचयपत्रको कार्ड लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने व्यवस्था छ,” उनले भने।
चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा जिल्ला प्रशासन कार्यालयले २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरेको छ। सो अवधिमा तीन हजार ७७८ जनालाई नागरिकता प्रमाणपत्र र चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ। त्यस्तै, तीन हजार १३९ जनालाई राहदानी वितरण र पाँच हजार ७३६ जनाका लागि राहदानी सिफारिस गरिएको कार्यालयको प्रगति विवरणमा उल्लेख छ।
प्रतिवेदनअनुसार वंशजका आधारमा तीन हजार ५३५, वैवाहिक अङ्गीकृततर्फ १८०, अङ्गीकृततर्फ ४६, गैरआवासीयतर्फ १६ र जन्मसिद्ध आधारमा एक जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ।
सर्वसाधारणलाई छिटो, सरल र सहज सेवा दिन जिल्ला प्रशासन कार्यालयले प्रत्यक्ष उपस्थितिबिनाको सेवा र बाँकी आवेदन शून्यमा झार्ने अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
राहदानी र राष्ट्रिय परिचयपत्रका लागि लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि तथा बिदाका दिनमा समेत सेवा दिएर पुराना आवेदन टुङ्ग्याइएको पोखरेलले जानकारी दिए। अहिले आवेदन दिएको दिनमै विवरण दर्ता र जैविक विवरण सङ्कलन गर्न सकिने व्यवस्था छ।
सेवाग्राहीको सुविधाका लागि कार्यालयमा भौतिक संरचना सुधार गर्नुका साथै सहायता कक्षलाई व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।





