एमालेसँग दीर्घकालीन एकताको प्रक्रिया अघि बढाएका छौँ : भानुभक्त जोशी

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशीले नेकपा एमालेसँग दीर्घकालीन एकताको प्रक्रिया अघि बढाउने विषयमा छलफल भइरहेको बताएका छन्। तत्कालका लागि भने वामपन्थी दलहरूबीच सहकार्य र चुनावी तालमेल गरेर अघि बढ्नेबारे पार्टीभित्र विचारविमर्श भइरहेको उनको भनाइ छ।
रातोपाटीसँगको कुराकानीमा जोशीले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीलाई अपेक्षित सफलता नदिएको स्वीकार गरे। अबको चुनावबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने भन्दै उनले राष्ट्रिय जागरण अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गरेर उनीहरूका सुझावका आधारमा नीति र कार्यक्रम तय गरिने बताए।
“अभियानका क्रममा घरदैलोमा पुगेर प्रत्येक व्यक्तिलाई भेट्ने र यथार्थ बुझ्ने हाम्रो योजना छ,” उनले भने, “त्यसकै आधारमा आगामी निर्वाचनका लागि नीति बनाउँछौँ।”
जोशीका अनुसार पार्टीले राष्ट्रिय जागरण अभियानलाई संगठन सुदृढीकरण र निर्वाचनको तयारीसँग जोडेको छ। पार्टी तथा जनवर्गीय संगठनका समायोजनका काम जिल्ला, पालिका, वडा र टोलसम्म पूरा गर्ने, सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता विस्तार गर्ने योजना रहेको उनले बताए।
निर्वाचनमा अपेक्षित परिणाम नआउनुका कारण र पार्टीका कमजोरीबारे कार्यकर्ताबाट सुझाव लिने पनि उनले बताए। नेतृत्व, नीति र संगठनका काममा कहाँ कमी भयो भन्ने विषयमा पार्टीभित्र समीक्षा भइरहेको उनको भनाइ छ।
आगामी स्थानीय तहको निर्वाचनअघि पार्टीको एकता महाधिवेशन हुन नसके स्थानीय चुनावपछि आयोजना हुन सक्ने जोशीले बताए। स्थानीय चुनाव छिट्टै भए महाधिवेशन केही ढिला हुन सक्ने भए पनि पार्टीको पुनर्गठन र भावी नेतृत्वबारे कार्यकर्ता, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग सुझाव सङ्कलन गरिने उनले बताए।
नेतृत्वका विषयमा पार्टीभित्र ठूलो विवाद नरहेको उल्लेख गर्दै जोशीले महाधिवेशनबाट पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेको बताए। पुराना नेताहरू अभिभावकीय भूमिकामा रहनुपर्ने सुझाव पनि आएको उनले जानकारी दिए। तर, महाधिवेशनमा कार्यकर्ताको भावना कस्तो हुन्छ भन्ने विषय छलफलपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।
पार्टीका विभिन्न तहका समितिमा ३५ वर्षमुनिका युवालाई उचित स्थान दिनुपर्नेमा पनि जोड दिइएको उनले बताए। इन्जिनियर, चिकित्सक, अर्थशास्त्री र वातावरणविद्लगायत विज्ञलाई समेटेर पार्टी कमिटीलाई थप व्यवस्थित बनाउने विषयमा सुझाव लिइने उनले उल्लेख गरे।
गत निर्वाचनमा वामपन्थी दलहरू मिलेर चुनाव लड्दा पनि अपेक्षित मत र सिट प्राप्त नभएको विषयमा नेतृत्व गम्भीर रहेको जोशीले बताए। केन्द्रीय संयोजन समितिका बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले समीक्षा र नेतृत्व हस्तान्तरणका विषय उठाएको उनले जानकारी दिए।
“नेतृत्वमा निरन्तर रहिरहने पक्षमा आफूहरू नरहेको नेताहरूले बताउनुभएको छ,” जोशीले भने, “महाधिवेशनलाई व्यवस्थित गर्ने, नेतृत्व हस्तान्तरण गर्ने र पार्टीलाई अझ राम्रो बनाउने विषयमा छलफल भइरहेको छ।”
सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कुनै सिट जित्न नसकेको अवस्थालाई सुधार्न तयारी भइरहेको उनले बताए। अहिले नै पुनर्स्थापित हुने अवस्था सहज नरहे पनि निर्वाचनको परिणामबाट पाठ सिकेर आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनमा सम्मानजनक उपस्थिति हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ।





