पतञ्जली जग्गा प्रकरण : तारेखमा कानुन व्यवसायी राख्न माधव नेपाललाई अदालतको अनुमति

ड्रागन मिडिया सम्वाददाता
पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो सट्टा कानुन व्यवसायी उपस्थित गराउन विशेष अदालतले अनुमति दिएको छ।
अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले शुक्रबार नेपालको निवेदनअनुसार आदेश दिएको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार नेपालले विशेष कामले बाहिर जानुपर्ने भन्दै आफ्नो सट्टा कानुन व्यवसायी राख्न अनुमति मागेका थिए।
मुद्दाको अन्तिम सुनुवाइका लागि अदालतले आगामी कात्तिक १९ गतेको मिति तोकेको छ। नेपालले उक्त दिनका लागि कानुन व्यवसायी राख्न पाऊँ भन्दै बुधबार निवेदन दिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको साँगास्थित पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टामा अनियमितता भएको आरोपमा २०८२ जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपालसहित ९३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ।
आयोगको अभियोगपत्रअनुसार तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गते पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिएको थियो। नेपालले तत्कालीन प्रधानमन्त्रीका रूपमा पदको दुरुपयोग गरी सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप आयोगले लगाएको छ। यी आरोपको अन्तिम निरूपण अदालतबाट हुन बाँकी छ।
अभियोगपत्रमा ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा सट्टापट्टा गरिएको दाबी गरिएको छ।





