१४ कार्तिक २०८३, शुक्रबार

स्तरोन्नतिको तयारी अवधि तीन वर्ष थपियो, नेपालले सन् २०२९ नोभेम्बर २४ सम्म पाउने

ड्रागन मिडिया सम्वाददाता

संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुनुअघि तयारीका लागि थप तीन वर्ष दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। अब दुवै देशले सन् २०२९ नोभेम्बर २४ सम्म संक्रमणको तयारी गर्न पाउनेछन्। महासभाले ८१औँ अधिवेशनमा प्रस्ताव ८१/एल.८ पारित गरेको हो।

नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तय थियो। अर्थतन्त्रको उत्थानशीलता, उत्पादन क्षमता र संस्थागत तयारी सुदृढ गर्न थप समय आवश्यक रहेको भन्दै नेपालले सन् २०२६ मेमा तयारी अवधि बढाउन अनुरोध गरेको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले स्तरोन्नति तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको बताएका थिए।

यसैबीच, भोटेकोशी–त्रिशूली बाढी प्रभावित समुदायका लागि हानि तथा नोक्सानी कोषले नेपाललाई दुई करोड अमेरिकी डलर अनुदान दिने निर्णय गरेको छ। नेपाल सरकारको विवरणअनुसार कोषको सञ्चालक समितिले अक्टोबर २२ मा उक्त निर्णय गरेको हो। कोषको बार्बाडोस कार्यान्वयन व्यवस्थाअन्तर्गत उपलब्ध २ करोड १६ लाख अमेरिकी डलरमध्ये नेपालका लागि दुई करोड छुट्याइएको हो।

नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप–३१ मा उच्चस्तरीय सहभागिताको तयारी गरिरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button