१४ कार्तिक २०८३, शुक्रबार

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित

ड्रागन मिडिया सम्वाददाता

गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा २ बमोजिम निलम्बनको निर्णय गरिएको जनाएको हो।

मन्त्रालयका अनुसार एन-प्याब्सनले ऐनको दफा ५ बमोजिम जारी गरिएका निर्देशन पटक–पटक पालना गरेको छैन। संस्थाका पदाधिकारीले नेपाल सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पनि मन्त्रालयको ठहर छ।

यस विषयमा मन्त्रालयले २०८३ असोज २३ गते सम्बन्धित पक्षसँग छलफल गरेको थियो। छलफलमा राष्ट्रिय निर्देशन ऐन र मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरिएको भए पनि त्यसको पालना नभएको मन्त्रालयले जनाएको छ।

निर्देशनको निरन्तर अवज्ञा भएको भन्दै मन्त्रालयले संस्थालाई निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनको सूचना जारी भएपछि एन-प्याब्सनका नाममा कुनै समूह वा गुटले गतिविधि गरे गैरकानुनी हुने मन्त्रालयले चेतावनी दिएको छ। त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button