छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

ड्रागन मिडिया सम्वाददाता
तनहुँ, गुल्मी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई पैदलयात्री र एक मोटरसाइकल चालकसहित चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४, पञ्चमुनी चोकमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ च १४८४ नम्बरको स्कारपियोले ठक्कर दिँदा ३६ वर्षीया सबिना गुरुङको मृत्यु भएको छ। गाछेपानी निवासी गुरुङको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो। प्रहरीले स्कारपियो चालकलाई नियन्त्रणमा लिएको छ।
गुल्मीको इस्मा गाउँपालिका–६, आपलायमा जैथुमबाट कुखुरेतर्फ जाँदै गरेको लु.२ त ६१९४ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा १२ वर्षीय कुञ्जन खत्रीको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय मानबहादुर खत्रीका छोरा कुञ्जनको बिहीबार साँझ दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक पनि नियन्त्रणमा छन्।
रुपन्देहीको देवदह नगरपालिका–६, मिलन चोकमा बुटवलबाट नवलपरासीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ८२ वर्षीय बुद्धिप्रसाद पोखरेलको मृत्यु भएको छ। देवदह नगरपालिका–७, खैरेनी निवासी पोखरेलको देवदह मेडिकल कलेज, भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
रुपन्देहीकै बुटवल उपमहानगरपालिका–५, पुष्पलाल पार्कमा लु.१ क १६२९ नम्बरको सवारीसाधन र लु.११ प ४२३१ नम्बरको मोटरसाइकल बिहीबार साँझ ठोक्किँदा मोटरसाइकल चालक ३३ वर्षीय मिलन न्यौपानेको मृत्यु भएको छ। बुटवल–१४, कृष्णगञ्ज निवासी न्यौपानेको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सवारीसाधन चालकलाई नियन्त्रणमा लिइएको छ।
सबै दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





